बैकल्पिक सडक उपेक्षामा, पहिरोमा जोखिम मोलेर वारपार

  • २५ श्रावण २०८०, बिहीबार
  • 303 पटक पढिएको

कमल खत्री
बेनी, २५ साउन: बेनी–जोमसोम सडकखण्ड अन्तरगत रघुगंगा गाउँपालिका–२ बैसरीमा गुडीरहेको बोलेरो जीपमाथि पहिरो खस्दा चालक गम्भिर घाईते हुनुभयो । बुधबार साँझ करिब ६स् १० बजेको समयमा ग १ ज ६८२० नम्वरको बोलेरो जीपमाथि खसेको ढुङ्गा लाग्दा जीप चालक ४० बर्षिय लुकजन शेरपुजा घाइते हुनुभयो । बेनी अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरामा रेफर गरिएकोमा उहाँको अहिले सल्यक्रिया पश्चात आइसियुमा उपचार भैरहेको छ ।
एकसातादेखि मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडकको बैसरी खण्डमा पहिरोले सिधा सवारी आवागमन प्रभावित बनेको छ । चार दिनपछि सडकमा थुप्रिएको पहिरो डोजरको सहायताले पन्छाएर आँशिक रुपमा सडक सूचारु भएको केहि घण्टामै दुर्घटना भएपछि बैसरीको पहिरोले यात्रु र सवारी चालकहरुमा भय र त्रास सिर्जना गरेको छ । यस अघि पनि यस पहिरोबाट खसेको ढुंगा लागेर सवारी चालक र यात्रुहरु पटक पटक घाइते भैसकेका छन् ।

बैसरीमा खसेको पहिरोले मुस्ताङ र उत्तरी म्याग्दीलाई राष्ट्रिय राजमर्गसंग जोड्ने बेनी–जोमसोम सडकको यात्रा कष्टकर र सास्तीपूर्ण बनाएको छ । राहुपारे र बैँसरीको बिचमा रहेको अँधेरीखोला आसपासमा निरन्तर पहिरो खस्न थालेपछि यस सडकखण्डमा सिधा सवारी अबरुद्ध हुन थालेको छ । कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत यो सडक कालोपत्रे सहित निर्माणधिन छ ।
बैसरीमा गएको पहिरोको कारण अबरुद्ध बनेको र जोखिमपूर्ण सडकको बैकल्पिक मार्ग तिलकेनी–बगैचा–रानीपौवा–चौर– रिसिनचौतारी–माछखर्क हुँदै बेगखोला सडक भएपनि यो सडक उपेक्षामा परेको छ ।

मोटरसाईकल , जिप लगायतका साना सवारी साधनहरु आवत जावत गर्ने यो सडकलाई बैकल्पिक मार्गको रुपमा विकास गनुपर्ने स्थानीयबासीको माग छ । साँघुरो र जिर्ण अवस्थामा रहेको बैकल्पिक सडकलाई स्तरोन्नती गरी सञ्चालन गरेमा बैसरीको पहिरोको जोखिमयुक्त यात्रा गर्नुपर्ने बाध्यता हट्ने रिसिनचौतारीका स्थानीय प्रेम केसीले बताउनुभयो । ‘‘मुख्य बाटो पहिरोको जोखिममा छ, बैकल्पिक बाटो साँघुरो र हिलाम्मे छ, कम्तीमा मर्मत सम्भार गर्न सकेमा बैकल्पिक बाटोलाई नियमित सञ्चालनमा ल्याउन सकिन्छ, यसो गर्दा पहिरो रोकथाम नहुँदा सम्म जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटाउन सकिन्छ’’–उहाँले भन्नुभयो । बैकल्पिक बाटोलाई मर्मत गरेर नियमित सञ्चालनमा ल्याउन सम्बन्धित निकायले उदासिनता देखाएको स्थानीयबासीको गुनासो छ ।

बेनी–जोमसोम सडकखण्डको गलेश्वरदेखि मुस्ताङको घाँसा सम्मको सडक बाढी, पहिरोको कारण जोखिमयुक्त मानिन्छ । यस खण्डमा हरेक बर्ष पहिरो र बाढीले यातायात अवरुद्ध हुँदै आएको छ । निर्माणधिन अवस्थामा रहेको सडकको बैकल्पिक सडकको ट्याक भएपनि स्तरोन्नती गरि सुचारु गर्नतर्फ सरोकारवालाको ध्यान नजाँदा यात्रुहरुले सास्ती खेप्दै आएका छन् ।

तत्काललाई पहिरोलाई छलेर नयाँ ट्याक बनाउन र यस अघि नै तयार भएको रानीपौवा–बेगखोला सडकलाई स्तरोन्नती गरी दिर्घकालिन बैकल्पिक सडक बनाउन आयोजना र सम्बन्धित निकायमा माग गरिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो । अहिले बैसरीमा पहिरोले सिधा सवारी अवरुद्ध हुँदा बेनी–जोमसोम सडकमा गुड्ने मोटरसाईकल , बोलेरो, जीप लगायतका साना सवारी साधनले यसै बैकल्पिक सडकलाई प्रयोग गरेका छन् ।