म्याग्दीका छ हजार बढी घरधुरीमा खानेपानीको पहुँच विस्तार

  • २५ श्रावण २०८०, बिहीबार
  • कमल खत्री
  • 270 पटक पढिएको

बेनी, २५ साउन : म्याग्दीका छ हजार बढी घरधुरीमा खानेपानीको पहुँच विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयले जिल्लामा सञ्चालन गरेका खानेपानी आयोजनाहरुबाट छ हजार २२५ घरधुरीमा खानेपानीको पहुँच पुगेको हो ।
जिल्लामा कार्यालय स्थापना भएको छ बर्षको अवधिमा सञ्चालित खानेपानी आयोजनाहरुबाट ६ हजार २२५ घरधुरीका ३० हजार ९ सय ४५ जनसख्या लाभान्वित बनेको खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार, आर्थिक बर्ष २०७९÷०८० मा मात्रै ३२ वटा योजना सञ्चालन गरेको मध्ये पाँच वटा निर्माण सम्पन्न भएका छन् । रानीपौवा, धारापानी, ढोलठान , डम्मरा र भगवतीमा सम्पन्न भएका खानेपानी आयोजनाहरुबाट १ हजार ८८ घरधुरीका ६ हजार १६७ जनसख्ंया लाभान्वित बनेको कार्यालयका इन्जिनियर राजेश उलकले जानकारी दिनुभयो ।
उहाँका अनुसार, एक बर्षमा ११४ दशमलब ६० किलोमिटर पाइपलाईन जडान गरिएको छ । १६ वटा पानी ट्यांकी निर्माण भएका छन भने १ हजार ५२ घरधुरीमा खानेपानीको धारा निर्माण भएको छ । विपिटी, सिसी, डिसी र क्रसिङ लगायतका ५४ वटा पूर्वाधार बनेका छन् । गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको एक घर एक धारा खानेपानी अभियानले म्याग्दीमा तिब्रता पाएको छ । गण्डकी प्रदेशको उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय अन्तरगत म्याग्दी जिल्लामा स्थापना भएको यस कार्यालयले जिल्लामा खानेपानीको पहुँच विस्तारको लागि विभिन्न आयोजनाहरु सञ्चालन गर्दै आएको छ ।
गत बर्ष प्रदेश सरकार मार्फत २४ वटा खानेपानी आयोजना सञ्चालन गरेको यस कार्यालयले संघतर्फ जलवायु अनुकुलित बृहत खानेपानी आयोजना अन्तरगत ८ वटा खानेपानी आयोजना सञ्चालन गरेको थियो । सरकारी तथ्याङ्क अनुसार, हालसम्म ८८ दशमलब ५ प्रतिशत घरधुरीमा आधारभुत खानेपानीको पहुँच पुगेको म्याग्दीमा अझैपनि १२ प्रतिशत जनसख्ंया खानेपानीको जोहो गर्न ३० मिनेटको समय खर्चनुपर्ने बाध्यतामा छन् ।
‘‘आम नागरिकलाई शुद्ध खानेपानीको पहुँच पु¥याउन एक घर एक धारा खानेपानीको अभियान सञ्चालन भएको छ, खानेपानीको मुहानको भरपर्दो स्रोत नहुने र क्रमागत योजनामा बजेट थोरै विनियोजन हुने समस्याले योजनाहरुलाई समयमा नै पूर्णता दिलाउन समस्या छ’’–कार्यालय प्रमुख पौडेलले भन्नुभयो । गत आर्थिक बर्षमा सम्पन्न भएको रघुगंगा गाउँपालिका–३ को रानीपौवा खानेपानी आयोजनाबाट १२४ घरधुरीमा खानेपानीको पहुँच विस्तार भएको छ । आर्थिक बर्ष २०७३÷७४ बाट सुरु भएको यस आयोजनालाई क्रमागत योजनाको रुपमा अघि बढाएको कार्यालयले कुल तीन वटा ट्यांकी, ७ सय मिटर मुख्य र १७ दशमलब ९ किलोटिमर वितरण पाईपलाईन निर्माण गरेर पूर्णता दिएको हो । खानेपानी आयोजना निर्माण भएपछि खानेपानीको लागि एउटै धारोमा पालो लगाउनुपर्ने बाध्यता र झण्झट हटेको स्थानीय उमा कार्कीले बताउनुभयो ।
रघुगंगा गाउँपालिका– २ भगवतीमा आर्थिक बर्ष २०७५÷०७६ देखि सूरु भएको चिमखोला मुहान, दग्नाम पिप्ले भगवती खानेपानी आयोजनाको समेत निर्माण सम्पन्न गरिएको छ । ४ वटा ट्यांकी निर्माण भएको यस आयोजनाबाट ४३२ घरधुरीमा खानेपानीको धारा जडान गरिएको छ । धवलागिरि गाउँपालिका–७ धारापानीमा पनि क्रमागत योजनाको रुपमा सञ्चालित खानेपानी आयोजना सम्पन्न भएर ३५३ घरधुरीमा खानेपानीको पहुँच विस्तार भएको छ । ८ हजार ५ सय मिटर मुख्य र २० किलोमिटर शाखा पाईपलाईन निर्माण भएको यस आयोजनामा २ वटा ट्यांकी र २ वटा विपिटी निर्माण भएको छ ।
खानेपानीको चरम अभाब रहेको बेनी नगरपालिका–५ ढोलठानमा ढोलनाथ पुलाडाँडा खानेपानी आयोजना सम्पन्न भएर ८६ घरधुरीमा खानेपानीको सुविधा पुगेको छ । यस आयोजनामा २ वटा ट्यांकी, १ हजार ४ सय मिटर मुख्य र ५ हजार ५६० मिटर वितरण पाईपलाइन निर्माण गरिएको छ । ९१ घरधुरीमा खानेपानी वितरण हुँदै आएको बेनीनगरपालिका– ६ को डम्मरा खानेपानी आयोजनाको ट्यांकी मर्मत गरिएको छ ।  

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l