राहुघाट–तातोपानी सडकखण्डमा रातमा यातायात आवागमन बन्द गरिने

  • २३ श्रावण २०८०, मंगलवार
  • 357 पटक पढिएको

बेनी, २३ साउन । बेनी–जोमसोम सडकको राहुघाट–तातोपानी खण्डमा रातमा सवारी आवागमन बन्द गरिएको छ । यस खण्डको बैसरी लगायतका क्षेत्रमा पहिरो गई बारम्बार यातायात अवरूद्ध हुन थालेपछि रातको समयमा सवारी आवागमन बन्द गरिएको हो । सोमबार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा बसेको सर्वपक्षिय समन्वय बैठकले ठाउँठाउँमा पहिरोको कारण दैनिक जसो सडक आवागमनमा अवरूद्ध हुने गरेको र जनधनको समेत क्षति हुने जोखिम रहेकोले बर्षायाम भरी रातको समयमा यातायात आवागमन नगर्न अनुरोध गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।


रघुगंगा गाउँपालिका–२ बैसरीको अधेरीखोलामा निरन्तर पहिरो खस्न नरोकिएको र पहिरो खसेर सडक अबरुद्ध हँुदा धेरै सर्वसाधारण र यात्रुहरु अलपत्र पर्ने समस्या आउन थालेपछि रातको समयमा सवारी आवागमनलाई रोक्ने निर्णय गरिएको उहाँले बताउनुभयो । रातको समयमा अत्यावश्यक यात्रा गर्नुपरेमा सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिलाई खवर गरेर मात्रै आवातजावत गर्न समेत आग्रह गरिएको छ ।

त्यसैगरि बैसरी पहिरो रोकथामका लागि पहिरो खस्न सुरु भएकै ठाउँमा एक्साभेटर मेसिन प्रयोग गेरेर संरक्षण र रोकथामका संरचना निर्माण गर्न कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला सडक योजना) लाई अनुरोध गर्ने र सो कार्यका लागि जिल्ला समन्वय समिति, जिल्ला स्थित सुरक्षा निकाय, रघुगंगा गाउँपालिका, डिभिजन वन कार्यालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने निर्णय समेत भएको जिसस प्रमुख राजकुमार थापाले बताउनुभयो ।

बैसरीको अँधेरीखोलामा निरन्तर पहिरो खस्न थालेपछि गत शनिवारदेखि बेनी–जोमसोम सडकखण्डमा सिधा सवारी अवरुद्ध बनेको छ । सडकमाथिको डाँडो र पाखोबाट निरन्तर पहिरो खस्न थालेपछि सडक अबरुद्ध भएकाले सडकमा सयौँ सवारी साधनहरु लाम लागेका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले भूमिगत पानी र पहिरोले भिरमाथिको पाखोबाट सडकमा पहिरो खसिरहने भएकाले सडक सूचारु गराउन समस्या भएको जानकारी दिनुभयो ।

बेनी–जोमसोम सडकमा सिधा सवारी अवरुद्ध बनेसंगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका र सिंगो मुस्ताङबासीलाई सास्ती भएको छ भने मुस्ताङको भ्रमणमा आएका पर्यटक र मुक्तिनाथको दर्शनका लागि आएका तिर्थयात्रीहरु समेत बिच बाटैमा अलपत्र परेका छन् । गत बर्षदेखि अँधेरीखोलाको भीरबाट पहिरो खस्न थालेको थियो । यस क्षेत्रमा यस अघि पहिरो खस्दा गुडीरहेका सवारी साधनमा क्षति पु¥याउनुका साथै र यात्रुलाई समेत चोटपटक लागेको थियो ।