भगवतीमा सार्वजनिक सुनुवाई : बेनी–गलेश्वर–भगवती सडकको भाडादर समायोजन गर्न आग्रह

  • २० श्रावण २०८०, शनिबार
  • धिरन खत्री
  • 299 पटक पढिएको

 

बेनी, १२ साउन । रघुगंगा गाउँपालिकाको वडानम्वर २ को वडा कार्यालय परिसरमा भएको सार्वजनिक सुनुवाईमा उपस्थित भगवतीबासीले बेनी– गलेश्वर– भगवती सडकको यातायात भाडादर समायोजन गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ। सार्वजनिक सुनुवाई कार्यक्रममा सडक स्तरोन्नती भएपनि भाडादर मंहगो भएको विषयमा भगवतीका युवा गणेश खत्रीले रघुगंगा गाउँपालिका र वडाले तत्काल यातायात ब्यावसायीसंग समन्वय गरेर भाडादर घटाउन सुझाव दिनुभएको थियो ।


गत बर्षमा वडाभित्र भएका प्रगतीको बार्षिक समिक्षा एवम् सार्वजनिक सुनुवाईमा उहाँले योजना कार्यान्वयनमा नीतिगत भष्टचार बढेको, दैनिक उपभोग्य सामानहरुको अनुगमन नभएको र पसलपिच्छे खाद्यान्नको मूल्य फरक रहेको, कर्मचारी र इन्जिनियरले योजना कार्यान्वय चरणमा घुस माग्ने गरेको, योजना पूर्णता हुने किसिमले बजेट विनियोजन नभएको, छोटो समयमा शिक्षकलाई सरुवा हुन दिएको, जनप्रतिनिधि, शिक्षक, कर्मचारीले सरकारी विद्यालयमा बालबच्चा पढाउने नीति किन नलिएको, सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार नभएको, गर्भपतनको औषधी परिवारको सल्लाह विना वितरण गरेको, बृहत चिमखोला खानेपानी आयोजनामा कार्यान्वयनमा किन ढिलाई लगायतको गुनासो जनप्रतिनिधिमाझँ राख्नुभएको थियो ।


त्यस्तै कार्यक्रममा उपस्थित रवि खत्री, चन्द्रबहादुर केसी, मने दर्जी, तप्तकुमारी केसी, इन्द्र कटुवाल, कुमार भण्डारी, बालकृष्ण कटुवाल, बिमल कटुवाल, अशोक भण्डारी, प्रदिप खत्री लगायतले गुनाँसो र सुझाव सार्वजनिक सुनुवाईमा राख्नुभएको थियो । कार्यक्रममा उहाँहरुले सिचाईको अभावले समयमा धान रोपाई हुन नसकेको, कालीगण्डकीबाट ल्याउने लिफ्ट सिचाई योजनालाई छिटो कार्यान्वयन नगर्दा खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको, वडाले योजना बनाउदाँ समन्वय नगरेको, कृषितर्फ न्यून बजेट विनियोजन गरेको, अनुगमन नहुदाँ अनुदानको दुरपयोग बढेको, योजना कार्यान्वयन गर्दा समितिले अनियममितता गरेको, योजनाको हिसावकिताव राजनीतिक पुहँमा नदेखाएको, सडकलाई पूर्णता नदिएको, सवारीसाधन आवातजावात गर्न नमिल्ने गरी सडक मिचेपनि वेवास्ता गरेको, मुख्यमन्त्री कृषि परियोजनामा पहुँच आधारमा सामाग्री वितरण गरेको, समन्वय नगरी पाटीगत रुपमा विकासका योजना कार्यान्वयन गरेको गुनासो राख्नुभएको थियो । त्यस्तै, एक घर एक धारालाई पूर्णता नदिएको, बृहत खानेपानी आयोजना कार्यान्वयनमा ढिलाई हुदाँ खानेपानीको अभाव बढ्दै गएको, घटना दर्ताको राजश्व मंहगो भएको, धानखेत पहिरोले कटान गर्दा संरक्षणमा बेवास्ता गरेको, आमासमूह भवन निर्माणमा बेवास्ता गरेको लगायतको गुनासो राख्नुभएको थियो ।


कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारीले जनताको उठाएका गुनासाँ मागहरुको सम्वोधन हुने किसिमले आगामी दिनमा काम गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । उहाँले सडक, कृषि, शिक्षा, खानेपानी र सिचाई लगायतलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्ने बताउनुभएको थियो ।

त्यस्तै रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले कालीगण्डकी देखि भगवतीको फाटँलाई लिफ्ट मार्फत सिचाई गर्ने ब्यवस्था मिलाउन लिफ्ट सिचाई योजनाको डिपिआर तयार गरेर प्रदेश र संघको सम्वन्धीत मन्त्रालयमा बुझाएको बताउनुभयो । पछिल्लो समयमा गणित, अंग्रेजी र विज्ञान शिक्षकको अभावले समयमै शिक्षक उपलब्ध गराउन नसकिएको बताउदै विद्यालयमा विषय अनुसारको शिक्षक अभाव हुन नदिएको बताउनुभयो । “बृहत चिमखोला खानेपानी आयोजना अन्तरगत चिमखोलाबासीको माग अनुसार थप डिपिआर गर्दा कार्यान्वयनमा ढिलाई भएको छ, संघीय खानेपानी कार्यालयसंग समन्वय गरेर यस आर्थिक बर्षमा ठेक्का गर्ने किसिमले गाउँपालिकाले जनश्रमदान अन्तरगतको १५ प्रतिशत बजेट उपलब्ध गराएको हुदाँ कार्यान्वयनमा ध्यानाकर्षण गराईराखेको छौ”,– भण्डारीले भन्नुभयो । “योजना कार्यान्वयमा घुसँ माग्ने कर्मचारी र ईन्जिनियरको नाम गोप्य सूचनामार्फत उपलब्ध गराउनुस कारबाही गर्ने छौ ।”


नेकपा एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसी उपस्थित भएको कार्यक्रममा वडा अध्यक्ष अमृत भण्डारीले जनताको आवश्यकता अनुसार विकास निर्माणका लागि गाउँपालिका, प्रदेश र संघसंग समन्वय गरेर अघि बढ्ने बताउनुभयो । उहाँले वडाका योजना छनोट गर्दा समन्वय गरेको बताउदै आगामी दिनमा सबैसंग समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको थियो । उहाँले गतबर्ष संघ, प्रदेश र गाउँपालिकाबाट वडानम्वर २ मा विकास निर्माणका योजनातर्फ तीन करोड ६९ लाख रुपैयाँ बजेट भित्रिएको बताउनुभयो । “ यातायातको भाडा दर समायोजन गर्न, खाद्य पसलहरुको अनुगमन, विकास निर्माण योजनाको अनुगमन, खानेपानीलाई पूर्णता दिन, पहिरो नियन्त्रण, बस्ती संरक्षण, धारा नपुगेको घरमामा पुर्‍याउन वडाले पहल गर्ने छ”, वडाअध्यक्ष भण्डारीले भन्नुभयो । “सडकलाई पूर्णता दिने किसिमले आगामी बर्षमा बजेट विनियोजन गर्ने, मापदण्ड अनुसारको सडक निर्माण ध्यान दिने, विकास निर्माणको योजनामा प्रभावकारी कार्यान्वयन गर्न वडाले अनुगमन गर्ने छ ।”


त्यस्तै निर्वतमान वडाअध्यक्ष रिमबहादुर कटुवालले पाचँबर्षको अवधिमा २५ वटा सडकको ट्रयाक खुलेको बताउदै सडक स्तरोन्नती र अलपत्र सडकलाई पूर्णता दिने किसिमले बजेट विनियोजनमा पहल गर्ने बताउनुभयो । उहाँले वडाकार्यालय बनाउदाँ भत्काएको आमासमुह भवन जग्गा ब्यवस्थापन गरे समन्वय गरेर बनाउने प्रतिवद्धता जनाउनुभएको थियो । “ विकास निर्माणका योजना कार्यान्वयन गर्दा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र इन्जिनियरसंग समन्वय गरेर उपभोक्ता समितिले काम गर्नुपर्छ”, केसीले भन्नुभयो । “दुरी निर्धारण गरेर पसलको मूल्य निर्धारण गर्न खोजेपनि नसकिएको बताउदै पसल अनुगमनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न वडाले समन्वय गर्नुपर्छ ।”


वडाअध्यक्ष भण्डारीको अध्यक्षता, वडा सदस्य कृष्णबहादुर केसीको स्वागत र पत्रकार अमित विश्वकर्माको सहजीकरण भएको कार्यक्रममा वडाभित्रका विद्यालयका प्रअ, भेटेरीनरी, आर्युवेद, स्वास्थ्यका प्रमुख र खानेपानी समितिले बार्षिक प्रगति प्रस्तुत गर्नुभएको थियो ।
विद्यालयका प्रगति सार्वजनिक गर्ने क्रममा विद्यालयका प्रअहरुले पछिल्लो समय आधारभूत तहमा विद्यालयको संख्या घढ्दै गएको प्रति ध्यानाकर्षण गराउदै यसमा जनप्रतिनिधि लगायत सबै गम्भिर भएर लाग्न आग्रह गर्नुभएको थियो ।

          

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l