बेनी नगरपालिकामा खुल्यो जग्गाको कित्ताकाट

  • ३ श्रावण २०८०, बुधबार
  • 243 पटक पढिएको

 

म्याग्दी, ३ साउन । म्याग्दीको बेनी नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । नगरले जग्गाको वर्गीकरण सकाएसंगै जग्गाको कित्ताकाट चालु आर्थिक बर्षको साउन एक गतेदेखि खुलेको हो ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत युवराज थापाले सूचना जारी गर्दै बेनी नगरपालिका क्षेत्रको जग्गाको वर्गीकरण सकिएकोले कित्ताकाट फुकुवा गरिएको जानकारी दिनुभएको छ । भू–उपयोग ऐन, २०७६ को दफा ४ तथा भूउपयोग नियमावली २०७९ को नियम ५, अनुसूची १ भएको ब्यवस्था अुनसार नगरपालिका क्षेत्रको जग्गालाई दश वटा क्षेत्रमा वर्गीकरण गरिएको थियो ।

नगर कार्यपालिकाको २०८० असार ८ गतेको निर्णय अनुसार स्विकृत गरेको भू–उपयोग वर्गीकरण सम्बन्धित प्रतिवेदनलाई असार १० गतेको तेह्रौं नगरसभाबाट अनुमोदन गरेको थियो ।

भू–उपयोग नीति अनुसार आवासीय, कृषि, औद्योगिक, व्यावसायिक, खानी तथा खनिज क्षेत्र, वन, नदी, खोला, ताल सिमसार, सार्वजनिक उपभोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र अन्य क्षेत्रमा जग्गालाई बर्गीकरण गरेको थियो ।

कित्ता काट सुरुभएसंगै वित्तिय संस्था र ब्यक्तिलाई जग्गा किनबेचमा सहज हुने छ भने नगरको राजश्व असुलीमा बृद्धि हुने नगरप्रमुख सुरत केसीले बताउनुभयो । जग्गाको वर्गीकरण नहुदाँ गत आर्थिक बर्षमा जग्गाको किनबेच रोकिएको थियो ।