कालीपुल बसपार्कमा टर्मिनल भवन सञ्चालनमा

  • ३ श्रावण २०८०, बुधबार
  • धिरन खत्री
  • 265 पटक पढिएको

 

म्याग्दी, ३ साउन । सदरमुकाम बेनी बजार स्थित कालीपुल बसपार्कमा निर्माण भएको टर्मिनल भवन सञ्चालनमा आएको छ । बसपार्क सञ्चालन भएको १६ वर्षपछि निर्माण भएका टर्मिनल भवनको बुधवार बेनी नगरपालिकाका मेयर सुरत केसीले उद्घाटन गर्नुभएको हो । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले निर्माण गरेको टर्मिनल भवन नगरपालिकालाई हस्तान्तरण गरेपछि औपचारिक रुपमा भवनको उद्घाटन गरिएको हो ।

टर्मिनल भवन बनाउन विसं २०७८ पुसमा शुभ कन्ट्रक्सन र आयोजनाबीच रु दुई करोड ८५ लाख ४५ हजारमा ठेक्का सम्झौता भएको थियो । नवनिर्मित टर्मिनल भवनबाट म्याग्दीबाट विभिन्न ठाउँमा छुट्ने यातायातको टिकट काउण्टहरु सञ्चालन गरिएको छ ।

विसं २०६४ मा पर्वत र म्याग्दी जोड्ने कालीगण्डकी नदीमाथि पक्की मोटरेबल पुल निर्माण भएपछि कालीपुलमा बसपार्क सञ्चालन भएको थियो । बसपार्कमा निर्माण भएको एक तले भवनमा टिकट काउन्टर, शौचालय र यात्रु प्रतीक्षालय छन् । भवन परिसरमा बसपार्कको आरसिसी ढलान गरिएको छ । अपाङ्गमैत्री भवनमा सुरक्षा निगरानीका लागि सिसीटिभी क्यामेरा जडान गरिएको छ ।


भवनको उद्घाटन गर्दै मेयर केसीले एकैठाउँबाट यात्रुहरुले टिकट काट्न पाउँदा झनझट नहुने र सुविधा पाउने बताउनुभयो । उहाँले कालीपुल बसपार्क क्षेत्र म्याग्दी र मुस्ताङको प्रवेशद्धार समेत रहेकाले यस क्षेत्र स्वच्छ र सफा हुँदा यस क्षेत्रमा आउने पर्यटकहरुमा सकरात्मक सन्देश दिने बताउनुभयो ।

नवनिर्मित भवनमा टिकट काउन्टरका लागि कोठा विभाजन र यात्रुलाई विश्राम गर्ने फर्निचर व्यवस्थापन गरिएको कालीपुल बसपार्क व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले जानकारी दिनुभयो ।


उहाँका अनुसार, बसपार्कलाई सफा र व्यवस्थित गराउनका लागि ७ जना कर्मचारीहर नियुक्त गरिएको र व्यवसायिहरुबाट न्यूनतम सरसफलाई र पार्किङ शुल्क लिने गरि अघि बढीएको बताउनुभयो । ‘‘टर्मिनल भवनको आम्दानी नगरपालिकामा जान्छ, बसपार्क व्यवस्थापनको लागि सहयोगबाट जुटाउने रकमको खर्च सम्बन्धमा विद्यान र आर्थिक कार्यविधि बनाएर नगरपालिकामा पेश गरेका छौँ, नगरपालिकाले लिने निर्णयको आधारमा अघि बढ्छौँ’’–उहाँले भन्नुभयो । बसपार्कबाट हुने आम्दानीलाई स्थानीय बालमन्दीर माध्यमिक विद्यालय, नगरपालिका र बसपार्क व्यवस्थापनमा परिचालन गर्ने मोडल तयार गरिएको छ ।


बसपार्क चिटिक्क परेसंगै धुलो, हिलो र अव्यवस्थित पार्किङको समस्या समाधान हुने भएको छ । विसं २०७४ मा नगरपालिकाले रु २१ करोड लागत अनुमानमा बसपार्कको गुरुयोजना तयार पारेको थियो । गुरुयोजनाअनुसार बसपार्कमा नगरपालिका, प्रदेश र सङ्घीय सरकारको सहकार्यमा बसपार्क ढलान गर्ने, नाली निर्माण गर्नेलगायतका पूर्वाधार निर्माण भइरहेको छ ।

उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले निजि क्षेत्रले संचालन गरेको यातायात ब्यवसायलाई प्रतिस्पर्धाभन्दा पनि सेवासुविधा सुधारमा ध्यान दिन आग्रह गर्नुभयो । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले बसपार्क क्षेत्रलाई ब्यवस्थित रुपमा संचालन गर्नका लागि सरसफाईमा विशेष ध्यान दिन समिति र यातायात ब्यवसायीलाई आग्रह गर्नुभएको थियो ।


यातायात ब्यवसायीको तर्फबाट बोल्नुभएको लालबहादुर थापाले टर्मिनल भवन बाहेक अन्य क्षेत्रबाट टिकट काउण्टर संचालन गर्न नदिन ब्यवस्थापन समितिले ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रमको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कटुवालले महोत्सवबाट भएको आम्दानी मध्ये ३५ हजार रुपैयाँ बसपार्क ब्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको थियो । नगर उपमेयर ज्योती लामिछाने र प्रहरी नायव उपरिक्षक मदन कुँवर उपस्थित रहेको कार्यक्रमको संचालन वडासदस्य यामबहादुर बानियाँले गर्नुभएको थियो ।

      

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l