गलेश्वरधामा भक्तजनको घुइँचो

  • १ श्रावण २०८०, सोमबार
  • 289 पटक पढिएको

 

बेनी, १ साउन । म्याग्दीको बेनी नगरपालीका –९ मा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा भक्तजनको भिड लागेको छ । साउन महिनाको पहिलो सोमबार गलेश्वर शिवालयमा पुजापाठका लागि भक्तजनको घुइँचो लागेको हो । साउन महिनाको सोमबार भगवान शिवको पुजा आराधाना गरेमा मनोकाँक्षा पुरा हुने जनविश्वास रहेको छ ।

विहानैदेखि भक्तजनको आगमन बढेको र व्यवस्थित तवरले पुजा र दर्शन गर्ने प्रवन्ध मिलाईएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । सोमबारका दिन भक्तजनको घुइँचो लाग्ने भएकाले कोषका अध्यक्ष रेग्मीको संयोजकत्वमा १०२ सदस्यीय मुल तयारी व्यवस्थापन समिति र विभिन्न २३ वटा उपसमितिले पुजापाठ र मन्दिरको दर्शन गर्न भक्तजनहरुलाई सहज व्यवस्थापन मिलाएका छन् ।

शालीग्राम पाईने एक मात्रै कालिगण्डकी नदीको किनारमा ९ रोपनी विशाल चक्रशिलामा रहेको गलेश्वरधाममा पुजापाठ गर्नका लागि म्याग्दीसंगै, बागलुङ, पर्वत, कास्की, लगायतका क्षेत्रबाट भक्तजनहरु आएका छन । गलेश्वर शिवालयको दर्शन तथा पुजापाठ र १०८ शिवलिङ्गमा कालिगण्डकी नदीको जल अर्पण गरेमा पारिवारीक सुख, शान्ति, ऐश्वर्य प्राप्ती हुने धार्मीक विश्वास रहेको छ ।

गलेश्वरमा आज २५ हजार बढी भक्तजनले पुजापाठ गर्ने कोषको अनुमान छ । भक्तजनको सहजताको लागि विभिन्न संघ संस्था,क्लब र विद्यालयहरुले स्वयमसेवकको रुपमा सहयोग गरेका छन् । कालीगण्डकी नदीको किनारमा चट्टानमाथी अवस्थित गलेश्वरको पुजाआजा र दर्शन गरेमा मनोकाक्षा पुरा हुने विश्वासले साउन महिनामा यहाँ भक्तजनाहरुको भिड लाग्ने गर्छ ।

बिशेष गरेर बिवाहीत महिलाहरु पारिवारीक सुख र अबिवाहीतहरु राम्रो वर पाइयोस भन्ने कामना सहित साउनको सोमबार शिवालयमा पुगेर पुजा गरि ब्रत बस्ने चलन रहेको छ । गलेश्वर मन्दिरमा साउन महिनाको सोमबार, बाला चर्तुदर्शी र शिवरात्रीमा बिशेष धार्मीक मेला लाग्ने गर्छ ।

मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको गलेश्वर विश्वकै अलौकिक तिर्थस्थलको रुपमा परिचित छ । गलेश्वरमा भक्तजनबाट संकलन हुने भेटिलाई शिवालय क्षेत्र विकास कोषले पारदर्शी रुपमा सार्वजनिक गर्दै आएको छ । भेटीबाट संकलन हुने रकम गलेश्वरमा पूर्वाधार निर्माण र सामाजिक कार्यहरुमा खर्चिदै आइएको छ । गलेश्वरमा आउने हजारौँ भक्तजनहरुको कारण मन्दिरमा चढाउने नरिवल संगै फुलप्रसादको व्यापार समेत ह्वात्तै बढ्ने गरेको छ ।