सामुदायिक भवन निर्माण

  • ३१ असार २०८०, आईतवार
  • 248 पटक पढिएको

 

म्याग्दी, ३१ असार। म्याग्दीको रघुगंगा गाउँपालिका– २ स्थित देउपूर्णमा सामुदायिक भवन निर्माण भएको छ । समाजमा हुने भेला र बैठकलाई ब्यवस्थित रुपमा संचालन गर्नका लागि गाउँपालिका र गण्डकी प्रदेश सरकारबाट प्राप्त बजेटमार्फत सामुदायिक भवन निर्माण गरिएको हो ।


जनश्रमदानसहित २४ लाख बजेटबाट भवन निर्माण गरिएको भवन निर्माण समितिका सचिव भेषबहादुर भण्डारीले बताउनुभयो । उहाँले रघुगंगा गाउँपालिबाट चालू आर्थिक बर्ष १० लाख, गत आर्थिक बर्षमा पालिकाबाट साढे ५ लाख र प्रदेश अन्तरगतको पूर्वाधार विकास कार्यालयबाट ६ लाख ८४ हजार रुपैयाँ बजेट प्राप्त भएको जानकारी दिनुभयो ।

“दुईतले भवनमा सभाहल र उपल्लो तलमा स्टोर तथा बैठक कक्ष निर्माण गरिएको छ।” उहाँले भन्नुभयो । “विभिन्न भेला तथा सास्कृतिक कार्यक्रम र भोज गर्न मिल्ने एकसय जना क्षमताको सभाहल र ५० जना सम्म बसेर समाजका विभिन्न विषयमा बैठक गर्न मिल्ने बैठक कक्ष निर्माण गरिएको छ ।”

सामुदायिक भवन निर्माणले चाडपर्वमा विभिन्न रमाईलो कार्यक्रम, क्षमता विकास लगायतका विभिन्न तालिम, शिविर, बालकक्षा संचालन, आमासूमह, क्लव, बासमूह लगायत विभिन्न समितिको बैठक लगायतको लागि यस भवनले सहयोग पुग्ने निर्माण समितिका अध्यक्ष क्षेत्रबहादुर भण्डारीले बताउनुभयो ।

विभिन्न सामाजिक विषयमा ब्यक्तिको घरमा बसेर छलफल तथा भेटघाट कार्यक्रम गर्नुपर्ने समस्यालाई निराकरण गर्न भवन निर्माणले सहयोग पुगेको स्थानीय अगुवा नरबहादुर भण्डारीले बताउनुभयो । भवन नजिक सडक सुविधा, खेलकुदको मैदान पनि रहेको छ ।