अन्नपूर्ण गाउँपालिकालाई विपद् खोज उद्धार सामाग्री हस्तान्तरण

  • २९ असार २०८०, शुक्रबार
  • 445 पटक पढिएको

म्याग्दी, २९ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकालाई विपद् खोज उद्धार सामाग्री हस्तान्तरण गरिएको छ । गोर्खा वेल्फेयर ट्रष्ट नेपालले उत्थानशील, खानेपानी सरसफाई तथा विपद् तयारी कार्यक्रम अन्तरगत अन्नपूर्ण गाउँपालिकालार्य रु ७ लाख मुल्य बराबरको सामाग्री हस्तान्तरण गरेको हो ।
शुक्रवार गाउँपालिकामा आयोजित एक कार्यक्रममा गोर्खा वेल्फेयरका विपद् व्यवस्थापन अधिकृत सुमेरु त्रिपाठीले गाउँपालिका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवा कुमारी तिलिजा पुन र प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी लगायतलाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

गाउँपालिकाभित्र विभिन्न बस्तीहरु बाढी, पहिरो र नदी कटानको जोखिममा रहेकाले आपतकालिन समयमा उद्धार र खोजको कार्यमा प्राप्त सामाग्रीले सहयोग पुग्ने भन्दै गाउँपालिका अध्यक्ष पुनले सहयोगी संस्थालाई धन्यबाद ज्ञापन गर्नुभएको छ ।

गोर्खा वेल्फेयरले गाउँपालिकालाई बाढी, पहिरो,आगलागी लगायतका विपद्को समयमा खोज तथा उद्धारमा प्रयोग गर्न सकिने विभिन्न ७३ किसिमका सामाग्री सहयोग गरेको जनाएको छ । गाउँपालिकाले वेल्फेयरले उपलब्ध गराएको सामाग्री बाहेक रु ४ लाख बराबरको विपद् व्यवस्थापनका समाग्री समेत खरिद गरेको छ ।

वेल्फेयरबाट प्राप्त सामाग्री र गाउँपालिकाले खरिद गरेको सामाग्रीलाई गाउँपालिकाको विपद् व्यवस्थापनको पूर्व तयारीका लागि आपतकालिन संकट व्यवस्थापन केन्द्रमा राखिने र विपद्को समयमा परिचालन गरिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।