स्थानीय तहबाट करिब साढे नौ करोड राजश्व संकलन

  • २८ असार २०८०, बिहीबार
  • धिरन खत्री
  • 381 पटक पढिएको

 

म्याग्दी, २८ असार । म्याग्दीका स्थानीय तहहरुले लक्ष्यभन्दा बढी राजश्व संकलन गरेका छन् । आन्तरिक आम्दानीको स्रोतको पहिचान र करको दायरा फराकिलो बनाएसंगै राजश्व संकलनमा बृद्धि हुन थालेको हो ।

म्याग्दीका ६ स्थानीय तहले चालू आर्थिक बर्ष २०७९/०८० मा करिब साढे नौ करोड रुपैयाँ राजश्व संकलन गरेका छन् । एक नगरपालिका र पाँच गाउँपालिकाले ९ करोड ४४ लाख ५५ हजार ६६८ रुपैयाँ राजश्व संकलन गरेका हुन् । जिल्लामा सबै भन्दा बढी राजश्व संकलन बेनी नगरपालिकाले गरेको छ ।

बेनी नगरपालिकाले ४ करोड ८९ लाख ६४ हजार ५४२ रुपैयाँ राजश्व संलन गरेको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिनुभयो । नगरपालिकाले ४ करोड २३ लाख ७० हजार रुपैयाँ अनुमानित राजश्व संकलनको लक्ष्य लिएको भएपनि लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो ।

पछिल्लो समयमा स्थानीय तहमा राजश्वको दायरा बढ्दै गएको छ। आम्दानीको स्रोतहरु पहिचान गर्दै राजश्व संकलनलाई बृद्धि गर्न स्थानीय तहहरु जुटेका छन् । स्थानीय तहहरुले मालपोत कर, घरजग्गा, ब्यवसाय, बहाल वितौरी शुल्क, पार्किङ शुल्क, जडीबुटी÷जीवजन्तु, नदीजन्य बस्तुको विक्रि, पर्यटकीय स्थलहरुलाई ठेक्कामा लगाउने लगायतका क्षेत्रबाट राजश्व संकलन गर्दै आएका छन्।

त्यस्तै अन्नपूर्ण गाउँपालिकाले १ करोड ५१ लाख ११ हजार १९८ रुपैयाँ, रघुगंगा गाउँपालिकाले १ करोड २८ लाख, मंगला गाउँपालिकाले ८४ लाख १५ हजार, धवलागिरीले ४७ लाख १५ हजार ९२८ रुपैयाँ राजश्व संकलन गरेका छन् ।

त्यस्तै मालिका गाउँपालिकाले असार २० गतेसम्म ४४ लाख ४९ हजार राजश्व संकलन गरेको जनाएको छ । कालीगण्डकी नदीको नदीजन्यवस्तु उत्खनन् गर्न सर्वोच्च अदालतले रोक लगाउदाँ बेनी नगरपालिकासहित रघुगंगा र अन्नपूर्णले कालीगण्डकी नदीको नदीजन्य वस्तु विक्रि गर्न पाएका छैनन् ।

कालीगण्डकीको नदी जन्य पदार्थको उत्खनन् र निकासी गर्न नपाउँदा दुई बर्षदेखि आम्दानी गुमेको रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l