कृषि र भेटेरिनरीको सार्वजनिक सुनुवाई, कृषिको विकासमा सिँचाइको प्रवन्ध मिलाउने : मन्त्री जुग्जाली

  • २५ असार २०८०, सोमबार
  • 267 पटक पढिएको

 

म्याग्दी, २५ असार । म्याग्दीको सदरमुकाम बेनीमा आज (सोमबार) चालू आर्थिक वर्ष २०७९/०८० मा सञ्चालित वार्षिक कार्यक्रमहरुको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको संयुक्त आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।

जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न कार्यक्रममा कृषि ज्ञान केन्द्र म्याग्दीका बाली संरक्षण अधिकृत सञ्जीव बाँस्तोलाले चालु आवमा कृषि ज्ञान केन्द्रमार्फत सञ्चालित कार्यक्रमहरुको बारमो आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । चालु वर्षमा कृषि ज्ञान केन्द्र म्याग्दीले संघ र प्रदेशबाट प्राप्त कुल बजेट पाँच करोड ४६ लाखमध्ये तीन करोड ५० लाख १० हजार रुपैयाँ खर्च गरेको जनाएको छ ।

 

खर्च भएको बजेट कुल बजेटको ६४ दशमलव शुन्य तीन प्रतिशत रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी समेत रहनुभएका बाली संरक्षण अधिकृत बाँस्तोलाले बताउनुभयो । उहाँका अनुसार चालु वर्षमा कृषि ज्ञान केन्द्रलाई संघ र प्रदेशबाट गरी चालुतर्फ कुल पाँच करोड ३२ लाख १६ हजार र पुँजीगततर्फ १४ लाख ६० हजार रुपैयाँ प्राप्त भएको थियो । प्राप्त बजेटमध्ये अधिकांश कार्यक्रमहरु किसानलक्षित अनुदानका रहेका छन्भने तीमध्ये साना व्यावसायिक कृषि फर्म, साना सिँचाइ, विपन्न वस्तीमा मुख्यमन्त्री कार्यक्रम, जलवायुमैत्री नमुना कृषि गाउँ लगायतका कार्यक्रम रहेका छन् ।

यसैगरी कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख रामकृष्ण सुवेदी र नायव पशु सेवा प्राविधिक गणेशप्रसाद रिजालले प्रस्तुतीकरण गर्नुभएको थियो । चालु आवमा प्रदेश सरकारबाट भेटेरिनरी अस्पताललाई पुँजीगत र चालुतर्फ गरी कुल चार करोड ३६ लाख ७१ हजार रुपैयाँ बजेट प्राप्त भएकोमा तीन करोड ५६ लाख ९० हजार रुपैयाँ अर्थात् ८१ दशमलव ७२ प्रतिशत बजेट खर्च भएको छ । त्यस्तै संघीय सशर्त अनुदानबाट २१ लाख ४५ हजार बजेटमध्ये खर्च २१ लाख १९ हजार र रणनीतिक कृषि आधुनिककरण कार्यक्रमको ७५ हजार रुपैयाँ बजेट प्राप्त भएकोमा ६७ हजार खर्च भएको नायव पशु सेवा प्राविधिक रिजालले जानकारी दिनुभयो ।

पशु सेवा प्राविधिक रिजालका अनुसार प्राप्त बजेटमध्ये किसानलाई माछाका भुरा खरिद गरेर उपलब्ध गराइएको, नयाँ मत्स्य पोखरीहरु निर्माण गरिएको, फार्म यान्त्रिकरण कार्यक्रम, उत्पादनमा आधारित प्रोत्साहन, चरन खर्क सुधार, कृत्रिम गर्भाधान, समुदायस्तरमा चौरी विकास कार्यक्रम, भेडा प्रवद्र्धनलगायत कार्यक्रम सञ्चालन गरिएको छ । म्याग्दीमा बाख्रापालन, घुम्ती भेडा तथा बाख्रापालन, कुखुरापालन, भैंसीपालन, बंगुरपालन र चौरीपालन हुँदै आएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले किसानहरु व्यवहारिक ज्ञानको खानी भएकाले आफ्नो ज्ञान, सिप र अनुभवलाई कृषि क्षेत्रको विकासमा लगाउन सुझाव दिनुभयो । उहाँले म्याग्दी फलफुल उत्पादन र पशुपालनको क्षेत्रमा मुख्य सम्भावना बोकेको जिल्ला भएको बताउँदै कृषि क्षेत्रको विकास र सिँचाइका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो ।

सोही कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले किसानहरुले मौसम अनुकुल हुने गरी कृषि तथा बालीनालीको खेती गर्न सुझाव दिँदै सबैभन्दा धनी किसान भएकाले राज्यबाट प्राप्त अनुदानको सही रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पछिल्लो समय बढ्दै गैरहेको आधुनिकतासँगैको विकासलाई आत्मसाथ गरेर आफ्नो पेशा तथा व्यवसायलाई अगाडि बढाउनुपर्ने भन्दै कृषिको दीगो विकास हुने गरी किसानहरु लाग्नुपर्ने बताउनुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी किसानहरु तिलक गुरुङ, धनबहादुर श्रीष, सुरेश ढुङ्गाना, नरबहादुर थापामगर, मुक्तिबहादुर खड्का, अणबहादुर खड्का, लोकबहादुर पूर्जा पुन, दिनेश गर्बुजा, शिव खड्का, निरबहादुर थापा, कमल पौडेल र दिपकबहादुर मल्लले आ–आफ्नो धारणा र सुझावसहित जिज्ञासा राख्नुभएको थियो । किसानहरुले राखेको जिज्ञासाको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देल र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख रामकृष्ण सुवेदीले सम्बोधन गर्नुभएको थियो ।

प्रमुख सिग्देलको अध्यक्षता, निमित्त प्रमुख सुवेदीको स्वागत, कृषि ज्ञान केन्द्रका सहायकस्तर पाँचौं भोलानाथ आचार्यले सञ्चालन गर्नुभएको सार्वजनिक सुनुवाई कार्यक्रमको नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका सचिव सन्तोष गौतम, सहसचिव साधन राम्जाली र पत्रकार प्रताप बानियाँले सहजीकरण गर्नुभएको थियो ।