बाढीले क्षति पु¥याएपछि ठूलोखोला जलविद्युत आयोजनाको निर्माण कार्य प्रभावित
- २४ असार २०८०, आईतवार
- 317 पटक पढिएको
कमल खत्री
बेनी २४ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा निर्माणधिन २१ दशमलब ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाको निर्माण कार्य प्रभावित बनेको छ । संयुक्त ऊर्जा प्रा.लि.ले निर्माण गर्न लागेको यस आयोजनाको बाँधतर्फ बाढीले क्षति पु¥याएपछि निर्माण कार्य प्रभावित बनेको हो । असार २१ गते राती आएको अविरल बर्षापछिको बाढीले आयोजनाको बाँधतर्फ निर्माणधिन पूर्वाधारमा क्षति पु¥याएको आयोजनाका प्रमुख रविन्द्र हमालले जानकारी दिनुभयो ।
‘‘हेडवक्सतर्फ बाँध, बालुवा थिग्राउने पोखरी लगायतका पूर्वाधार धमाधम बनिरहेको समयमा बाढीले निर्माण कार्य नै प्रभावित बनाएको छ, केही हाइड्रो मेकानिकल सामाग्री पनि बाढीले बगायो, निर्माणधिन पूर्वाधारमा पसेको ढुंगा माटोको गेगर नहटाएसम्म निर्माण कार्य प्रभावित हुने भएको छ’’–आयोजना प्रमुख हमालले भन्नुभयो ।
आयोजनाको निर्माण स्थलतर्फको पहुँच मार्ग समेत बाढीले बगाएको छ । आयोजनाको सिभिल ठेकेदार कम्पनी साकुरा पावर÷त्रिपल एस जेभीले बाढीले रु ४५ लाख बराबरको भौतिक पूर्वाधारमा क्षति पु¥याएको जनाएको छ । यस आयोजनाको एक मात्रै पहुँच मार्ग रहेको रघुगंगा गाउँपालिका–७ चिमखोलादेखि आयोजनास्थल तर्फ जाने सडकखण्ड अन्तरगत मलाङको पहिरोले निरन्तर सडक अवरुद्ध हुन थालेपछि आयोजनाको निर्माण सामाग्रीको ढुवानीमा समेत समस्या देखिएको छ ।
बाँध र विद्युतगृह तर्फको पूर्वाधार निर्माण गरिरहेको ठेकेदार कम्पनीले अहिले कार्य क्षेत्रमा १३० जना मजदुर परिचालन गरेको छ । सन २०२४ जुलाइमा विद्युत उत्पादन गर्ने लक्ष्य लिएको आयोजनामा बाढी लगायतको प्राकृतिक विपद्को कारण निर्माण कार्य प्रभावित बनेको कारण निर्धारित समयमै आयोजनालाई सम्पन्न गराउन चुनौति थपिएको आयोजना प्रमुख हमालले बताउनुभयो । उहाँका अनुसार, आयोजनाको ६० प्रतिशत भौतिक प्रगति भएको छ ।
रघुगंगा नदि स्थित फेदीखोलामा मुहान रहने यस आयोजनामा पानीलाई छरी स्थित रघुगंगा नदिको किनारमा रहने विद्युतगृह सम्म ल्याउन २ हजार ७१५ मिटर लामो सुरुङमार्ग खन्नुपर्नेमा अहिलेसम्म २ हजार मिटर सुरुङ निर्माण भैसकेको छ । आयोजना सम्पन्न गर्न करिब ३ अर्ब ६० करोड लागत अनुमान गरिएको छ ।