पढाई छाडेको २१ बर्षपछि परिक्षा दिएका वडा अध्यक्ष एसइईमा उर्तिण

  • २२ असार २०८०, शुक्रबार
  • 457 पटक पढिएको

बेनी, २२ असार : म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँका वडा अध्यक्ष एकजित रोकाले पढाई छाडेको २१ बर्षपछि पुनः एसइई परिक्षा दिएर उर्तिण हुनुभएको छ । माध्यमिक शिक्षा परीक्षा–२०७९ ( एसइई )मा दिपशिखा मावि कुहुँबाट परिक्षामा सहभागी हुनुभएका वडा अध्यक्ष रोकाले २ दशमलब ६५ जिपिए ल्याएर उर्तिण हुनुभएको हो ।


वि.स. २०५८ सालमा एसएलसी परिक्षामा सामेल हुनुभएका रोकाले अनुर्तिण भएपछि पढाई नै छाड्नुभएको थियो । एसएलसीमा फेल भएपछि वैदेशिक रोजगारको सिलसिलामा मलेसिया र अफगानिस्तानमा ८ बर्ष समय विताउनुभएका रोका २०६९ मा स्वदेश फर्कनुभएको थियो ।

स्वदेश फर्किएपछि स्थानीय देउराली युवा क्लब लगायतका संघ संस्थामा आबद्ध हुनुभएका रोका गत बर्षको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेर वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । सामाजिक र राजनीतिक जीवन सुरु गरेपछि धेरै आफन्तबाट पढाईलाई निरन्तरता दिन सुझाब आएको र आफुलाई समेत पटक–पटक पढाईको आबश्यकताको महसुस भएपछि एसइईमा सामेल भएको वडा अध्यक्ष रोकाको भनाई छ ।

यसैबिच, राष्ट्रिय परीक्षा बोर्डले विहिबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा २०७९ ( एसइई ) को नतिजामा म्याग्दीका एक विद्यार्थिले ४ जिपिए ल्याउन सफल हुनुभएको छ । सदरमुकाम बेनीस्थित प्रकाश माध्यमिक विद्यालयका समिर सुवेदीले ४ जिपिए नतिजा ल्याउनु भएको हो । शिक्षा विकास तथा समन्वय इकाइका ईकाई प्रमुख दलबहादुर थापाले यस बर्षको एसइई परीक्षामा म्याग्दीबाट सहभागि विद्यार्थीमध्ये सुवेदीले ४ जिपिए ल्याएर सर्वोकृष्ट बन्न सफल भएको बताउनुभयो ।