भिरमुनीको शिरानटोलका घरघरमा खानेपानीको धारा, अधुरो योजना पुरा गर्न बजेट माग
- १९ असार २०८०, मंगलवार
- 273 पटक पढिएको
बेनी, १९ असार । बेनी नगरपालिका –५ भिरमुनीको शिरानटोलमा खानेपानी आयोजना बनेपछि स्थानीय हर्षित बनेका छन् । अधिकाँश दलित समुदायको बसोबास रहेको यस गाउँमा गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’खानेपानी अभियान अन्तरगत घरघरमा खानेपानीको धारा निर्माण भएको छ । mखानेपानी, जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय म्याग्दीले सञ्चालन गरेको पुरुन्ते खानेपानी आयोजना आयोजना अन्तरगत यस गाउँका ६० घरधुरीमा खानेपानीको धारा निर्माण भएको छ । यस बर्ष विनियोजन भएको रु १५ लाख बजेटबाट ६० घरमा धारा सहित पाईपलाइन निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष बिरबहादुर दमैले बताउनुभयो ।
उहाँका अनुसार, शिरानटोल, बुढाघर, बाटामुनी, गैराघर टोलसम्म यस आयोजनाबाट खानेपानी वितरण हुनेछ । यस आयोजनाबाट ४५ घर दलित समुदाय र १४ घर गैर दलित समुदाय लाभान्वित बनेका छन् । अघिल्लो बर्ष विनियोजन भएको रु ५ लाख बजेटबाट इन्टेक, ट्यांकी र मुख्य पाइपलाइन निर्माण भएको र यस बर्ष धारा निर्माण सकिएको अध्यक्ष दमैले जानकारी दिनुभयो ।
सात वटा घरमा खानेपानी सूचारु भैसकेको र अन्य घरहरुमा धारा र मिटर जडानको काम बाँकी रहेको स्थानीय जगत परियारले जानकारी दिनुभयो । विगतमा एउटै धारामा धेरै घरपरिवारले आलोपालोमा खानेपानी र घरायसी प्रयोजनका लागि पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेकोमा घरघरमा खानेपानीको धारा निर्माण भएपछि स्थानीय हर्षित बनेको उहाँको भनाई छ । ‘‘खानेपानीको लागि घण्टौँसम्म पालो पर्खनुपर्ने बाध्यता थियो, साझा धाराबाट घरघरमा पाईपमा पानी खोसाखोस गरेर लैजानुपर्ने बाध्यता अब हट्ने भएको छ, घरघरमा खानेपानी पुगेपछि पानीको जोहो गर्न लाग्ने समय पनि बचत हुनेछ ’’–परियारले भन्नुभयो ।
यस आयोजनामा ध्वाखोलाको मुलमा रहेको पानीलाई पुरानो ट्यांकीमा जम्मा गरेर वितरणलाईन मार्फत घरघरमा खानेपानी पु¥याउने व्यवस्था मिलाइएको छ । आगामी बर्ष खानेपानीको नयाँ संकलन ट्यांकी र धारा जडानको लागि योजना माग गरिएको उपभोक्ता समितिले जनाएको छ ।