संरक्षणमुखी पूर्वाधार नबन्दा म्याग्दीमा पहिरो र भूक्षयको जोखिम बढ्दै

  • १८ असार २०८०, सोमबार
  • धिरन खत्री
  • 257 पटक पढिएको

 

म्याग्दी, १८ असार । म्याग्दीमा संरक्षणमुखी विकास पूर्वाधारहरु निर्माणमा ध्यान नदिदाँ दिन प्रति दिन पहिरो, कटान र भूक्षयको समस्या बढ्दै गएको छ। भू– तथा जलाधार ब्यवस्थापन कार्यालय पर्वत बरिष्ठ जलाधार ब्यवस्थापन अधिकृत दिवाकर पौडेलले वातावरणीय प्रभाव मूल्यांकन नगरी जथाभावी सडक लगायतको पूर्वाधारले मानवबस्तीसंगै उर्भरभूमिको कटान, पहिरो र भूक्षयको जोखिम बढ्दै गएको बताउनुभयो ।


म्याग्दी, पर्वत, बागलुङ र मुस्ताङ हेर्ने गरी पर्वतमा रहेको यस कार्यालयले सदरमुकाम बेनीस्थित जिल्ला समन्वय समितिको सभाहलमा स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरुसंग उपस्थितमा सोमबार गरिएको गोष्ठीमा भिरालो भू–बनोट रहेको म्याग्दीमा विनाशमुखी सडक र मानविय क्रियाकलापको कारण भूमिगत जलप्रवाहले खेती योग्य जमिन र मानव बस्तीको संरचनामा क्षति बढ्दै गएको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो तीन बर्षमा म्याग्दी, पर्वत र बागलङमा बाढी पहिरोले १२० जनाको ज्यान गएको समेत जानकारी दिनुभयो ।

उहाँले सडक निर्माणको क्रममा निस्किएको कच्चा पदार्थ नदी र खोलामा फाल्ने, भल ब्यवस्थापन लागि नाली निर्माण नगर्नाले दिनप्रतिदिन मानविय क्षतिसंगसंगै खेतीयोग्य जमिनको उत्पादकत्व घट्दै गएको बताउनुभयो । “ तीन तहको सरकारले जलाधार संरक्षणमैत्री पूर्वाधार निर्माणमा जोड दिएमा दिगो विकासका पूर्वाधार निर्माण गर्न सजिलो हुन्छ ।’’ उहाँले भन्नुभयो । “ प्रकृतिमा रहेका जमिन, जल, जंगल, जनावर र जनतालाई असर नपर्ने गरी विकास पूर्वाधार निर्माण गर्न जनप्रतिनिधिले ध्यान दिनुपर्छ ।


म्याग्दीमा बर्षेनी २५ लाख १५ हजार ७६० दशमलव २० टन माटो भूक्षयको रुपमा बगेर जानेको गरेको भू–संरक्षण अधिकृत शम्भुकुमार मिश्रले जानकारी गराउनुभयो । उहाँले बाढी पहिराले दुई हजार ५१० घर प्रभावित रहेको उल्लेख गर्नुभयो । उहाँले बाढी पहिरो र कटान जोखिम नियन्त्रणको लागि बार्षिक एकसय ४० वटा निवेदन आउने भएपनि कार्यालयबाट १२ वटा निवेदनलाई बजेटले सम्वोधन गर्न सकिएको उल्लेख गर्दै यसतर्फ जनप्रतिनिधिले ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा उपस्थित हुनुभएका रघुगंगाका दिपक कार्कीले वातावरणीय प्रभाव मूल्याकंन विना खनेका सडकले म्याग्दीमा मानविय बस्ती र उर्भर भूमिमा बढी क्षति पु¥याएको उल्लेख गर्नुभयो । उहाँले जहाँ भूक्षयको समस्या छ त्यहाँ संघ, प्रदेश सरकारले संरक्षणका लागि बजेट विनियोजन नगरेको बताउनुभयो ।

भूक्षयको उच्च जोखिम रहेको म्याग्दीमा कार्यालय खारेज हुदाँ जोखिम पहिचान, सावधानी र ब्यवस्थापनमा समस्या देखिएको जिल्ला समन्वय समितिका म्याग्दीका प्रमुख राजकुमार थापाले बताउनुभयो । उहाँले संघ र प्रदेशले जनताको आवश्यकता अनुसार योजनाहरु छनोट गरेर बजेट विनियोजन गर्न आग्रह गर्नुभयो । रघुगंगा गाउँपालिकाभित्र १२८ पहिरोमध्ये २८ वटा ठुला पहिरो रहेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले गोष्ठीमा उल्लेख गर्नुभयो ।


कालीगण्डकी, म्याग्दी र रघुगंगा नदी रहेको म्याग्दीमा गाउँ–गाउँमा पुग्ने सडक स्तरोन्नती क्रममा जथाभावि फालिएको माटो र ढुंगाले भूक्षय र पहिरो जोखिम समेत आगामी दिनमा बढेको छन् ।
जिसस प्रमुख थापाको अध्यक्षतामा भएको सरोकारवालासंगको समन्वय गोष्ठीमा स्थानीय तहका प्रमुख र उपप्रमुख र विषयगत कार्यालयका कर्मचारीको उपस्थित हुनुभएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l