मराङखोलामा पक्की पुल निर्माण

  • १६ असार २०८०, शनिबार
  • 353 पटक पढिएको

 

म्याग्दी, १६ असार । धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको अर्कला जोड्ने गरि मराङखोलामा पक्की पुल निर्माण भएको छ । सात मिटर चौडाई र २५ मिटर लामो पक्की पुल निर्माण भएसंगै धवलागिरि गाउँपालिका–५ मल्कबाङ र ६ मराङका स्थानीयबासीलाई गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम आवत जावत गर्न सहज भएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले २०७६ माघ २९ गते दुईवर्षमा सक्ने गरी पोखराको फेवा सावित्री निर्माण कम्पनीसँग २ करोड ७२ लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले पुल निर्माण कार्य सम्पन्न गरेसंगै सवारी साधन समेत आवत जावत गर्न थालेको पूर्वाधार विकास कार्यालय म्याग्दीका कार्यालय प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिनुभयो ।

म्याग्दीका पाँच स्थानीय तह जोड्ने गरि रिङरोडको परिकल्पना गरेर निर्माण गरिएको मालिका गाउँपालिकाको केन्द्र दरबाङ, विम हुँदै मराङ – मल्कवाङ र रघुगंगा गाउँपालिकाको ८ नम्बर वडा कुइनेखानी जोड्ने सडक अन्तर्गत मराङ खोलामा पुल नहुँदा सवारी साधनहरु खोलामै जोखिमपूर्ण तवरले आवत जावत गराउनुपर्ने बाध्यता थियो ।

पुल निर्माण भएपछि बर्षातको समयमा समेत सवारी साधन आवत जावत गर्न सहज भएको मराङका वडा अध्यक्ष राजाराम उपाध्यायले बताउनुभयो । उहाँका अनुसार, बर्खायाममा भलबाढी आउने अन्य चार ठाउँमा समेत पुल निर्माण गर्न बाँकी छ ।

यसैबिच पुलको अर्कला तर्फको सडक स्तरोन्नतीको क्रममा व्यवस्थित ढल निकास नहुँदा सडकको भल पुलमाथिनै नै जाने भएपछि पुलमा भलबाढीले क्षति गर्ने जोखिम बढेको छ । सडकको भलबाढीलाई व्यवस्थित निकास दिन आवश्यक पूर्वाधार बनाउन मालिका गाउँपालिकालाई पत्राचार गर्ने तयारी गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।