म्याग्दीमा करिब १२ प्रतिशत धान रोपाइँ, पानी परेपछी कृषकमा उत्साह

  • १५ असार २०८०, शुक्रबार
  • 499 पटक पढिएको

बेनी, १५ असार : समयमै प्रयाप्त बर्षा नभएको कारण म्याग्दीमा धान रोपाइँ प्रभावित बनेको छ । असार महिनाको सुरुवात संगै म्याग्दीका कृषकहरु धान रोपाइको चटारोमा जुटेपनि प्रयाप्त बर्षा नभएको कारण मध्य असार सम्म जम्मा करिब १२ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । मध्य असारदेखि नियमित पानी पर्न थालेपछि कृषकहरु उत्साहित बनेर रोपाइँमा लागेका छन् । कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार, जिल्लाको माथिल्लो भेगमा धान रोपाइँ दुत्र गतिमा भैरहेको भएपनि तल्लो भेगमा अझै धान रोपाइँ हुन सकेको छैन् । असारको सुरुवातमा प्रयाप्त बर्षा नभएको र वेशीका फाँटका खेतमा मकै खेती समेत भएकाले धान रोपाइँमा केहि ढिलाइ भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले जानकारी दिनुभयो ।

‘‘दुई दिनदेखि नियमित बर्षा भैरहेको छ, रोपाइँको लागि पानीको स्रोत बढेपछि रोपाइँ गर्न कृषकलाई भ्याइ–नभ्याई भएको छ, तल्लो वेशीको फाँटहरुमा अधिकाँशमा मकै खेती भएकाले पनि रोपाइँ केहि पछि धकेलिन्छ’’–उहाँले भन्नुभयो । जिल्लाको अधिकाँश कृषकहरु सिचाई सुविधाको अभाबको कारण खेत रोपाइँको लागि बर्षामै भर पर्नुपर्ने बाध्यता रहेको छ । मुल फुट्ने गरि बर्षा नभएसम्म रोपाई सुचारु गर्न नसकिने किसानहरुको भनाई छ । केहि बर्षअघि सम्म जेठ महिनाको अन्तिमबाट नै धान रोपाइँ हुने गरेकोमा अहिले मध्य असारमा समेत धमाधम धान रोपाइँ हुन नसकेको कृषकहरूकाे भनाइ छ ।

जिल्लामा कुल १९ हजार ४९८ हेक्टर खेति गरिएको जमिनमध्येमा ३ हजार ८८४ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । जिल्लामा जम्मा १ हजार ६ सय ८० हेक्टर जमिनमा मात्रै बाह्रैमहिना सिंचाइको पहुँच पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको उच्च पहाडी केही गाविस बाहेक अधिकाँश क्षेत्रमा धान खेती हुँदै आएको छ । जिल्लामा धान खेती प्रमुख खाद्य बालिको रुपमा रहेको छ । कृषकहरुले स्थानीय जातका गौरी, जेठो बुडो, मार्सि, ताकमारे, भट्टे , छमरुङ, माछापुच्छ«े, खुमल १०, खुमल ११ लगायतका उन्नत जातका धानहरु रोप्ने गरेका छन् ।