सिँचाइ र पर्यटनका योजनामा म्याग्दीलाई उपेक्षा गरिएकोमा सांसद भण्डारीद्धारा ध्यानकर्षण
- १३ असार २०८०, बुधबार
- 293 पटक पढिएको
बेनी, १३ असार । पर्यटकीय र कृषि खेतिमा सम्भावनायुक्त म्याग्दी जिल्लामा सिँचाई र पर्यटन मन्त्रालयको योजनामा उपेक्षा गरिएकोमा गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले ध्यानकर्षण गराउनुभएको छ । गण्डकी प्रदेश सरकारले संसदमा पेश गरेको बजेटमाथिको छलफलका क्रममा सिँचाई र पर्यटन मन्त्रालयका योजनाहरुमाथिको छलफलमा भाग लिँदै बुधवार प्रदेश सभा सदस्य भण्डारीले असन्तुष्टि प्रकट गर्नुभएको हो ।
प्रदेश सभामा बजेटमाथिको छलफलमा भाग लिँदै भण्डारीले पर्यटकीय सम्भावनाले परिपूर्ण म्याग्दीमा पर्यटन मन्त्रालयबाट दुई वटा मात्रै योजना परेको भन्दै उक्त मन्त्रालयको बजेट विनियोजन र योजना छनौटमाथि विरोध जनाउनुभएको हो । पर्यटनको धेरै सम्भावना भएको जिल्लामा २ वटामात्रै बजेट विनियोजन गरेको भन्दै धन्यवाद दिँदै उहाँले पर्यटनमन्त्रीको व्यंगे गर्नुभएको थियो ।
‘मन्त्रीज्यूहरु थाक्नुभाछ, निदाउन पाउनुभाछैन, रातभरि बजेटका लागि सोच्नुहुन्छ होला, जनताका लागि सोच्नुहुन्छ होला भनेको त आफ्नो जिल्लामा, आफ्नो टोलमा, आफ्नो कुन कार्यकर्ता छुट्यो भनेर पो सोच्नुभएको रहेछ,’ उहाँले भन्नुभयो, ‘बजेट पढ्दा मलाई त्यस्तो लाग्यो ।’ विनियोजन विधेयकमाथिको छलफलका क्रममा प्रदेश सभाको मंगलबारको बैठकमा सांसद भण्डारीले रोष प्रकट गर्नुभएको हो । म्याग्दीका निरन्तरका सिँचाइका योजना काटिएको भन्दै पनि भण्डारीले व्यंग्यात्मक धन्यवाद व्यक्त गर्नुभएको हो । ‘जनताले जसअनुसार मत दिनुभयो, हामीले पनि मन्त्रीज्यूहरुलाई मत दियौं, तर सोचेअनुसारको बजेट आएन,’ उहाँले भन्नुभयो । तर सत्तापक्षको भएको हुँदा बजेटमा समर्थन गर्नु आफ्नो बाध्यता भएको उहाँको भनाइ थियो ।