८२ बर्षिया ज्येष्ठ नागरिकले बुनेका गलैचा अमेरिका निर्यात

  • १२ असार २०८०, मंगलवार
  • कमल खत्री
  • 309 पटक पढिएको

 

म्याग्दी, १२ असार । : मंगला गाउँपालिका–१ भर्जुलाकी ८२ बर्षिया यामकुमारी पुनले सामाजिक कार्यसंगसंगै घरायसी आयआर्जनको कामलाई निरन्तरता दिनुभएको छ । उमेरले बृद्ध अवस्थामा पुर्‍याएपनि पुनको दैनिकी भने सक्रिय छ । बुनाई सम्बन्धि सिपलाई व्यावसायिक बनाएर जीवनयापन गर्दै आउनुभएकी पुनले बुन्नुभएको गलैचा स्वदेश देखि विदेशसम्म विक्रि हुने गरेको छ ।

परम्परागत तानमा कपडा बुन्ने सीपलाई व्यावसायिक बनाउनुभएकी पुनले हरेक दिन गलैचा, झोला, गलबन्दी, स्विटर लगायतका कपडा बुन्ने गर्नुहुन्छ । आफुले उत्पादन गरेका गलैचा अमेरिकामा समेत निर्यात हुने गरेको पुनले बताउनुभयो । ‘‘अमेरिकाबाट गलैचा बुनिदिन धेरैले फोनमा खवर गर्नुहुन्छ, स्वदेश आएको समयमा यहाँ आएर उपहारको रुपमा गलैचा लैजाने गर्छन’’–उहाँले भन्नुभयो ।


एउटा गलैचा बुन्न १५ दिनसम्म लाग्ने र त्यसलाई रु ७ हजार सम्ममा विक्रि हुने गरेको पुनले बताउनुभयो । फुर्सदको समयलाई बुनाइमा लगाउँदै आउनुभएकी पुनले आफ्नो यसै पेसाबाट जीविकोपार्जन गर्दै आउनुभएको छ । गलैचा विक्रि गरेरै एक तोला सुन खरिद गरेर गरगहना बनाएको पुनले बताउनुभयो । ‘‘मेरो अरु स्रोत छैन, आफ्नै मेहनतले दैनीकि चलाएको छु, आफुलाई आवश्यक पर्ने सबै खर्च आफ्नै पौरखबाट जुटाउने गरेको छु’’–पुनले थप्नुभयो ।


भmोला, गलबन्दी, स्विटर लगायतका सामान घरगाउँमै विक्रि हुने गरेको छ । गलैचा भने गाउँमा भन्दा बाहिर धेरै विक्रि हुने पुनको भनाई छ । तानमा धागो बुनेर परम्परागत सीप र प्रविधि मार्फत बनाईने गलैचा बाख्लो र आकर्षक हुने भएकाले विदेशसम्म निर्यात हुने गरेको हो ।

पुनले आफ्नो सीपको व्यावसायिकरण संगै स्थानीय आमा समूहको समेत नेतृत्व गर्दै आउनुभएको छ । समाजमा ज्येष्ठ नागरिकले पनि सामाजिक संघ संस्थाको नेतृत्व नै गर्न सक्छन भन्ने उदाहरण पुन बन्नुभएको छ । २०५२ सालमा स्थापना भएको स्थानयि गोदावारी आमा समुहलाई उहाँले विगत २८ बर्षदेखि नेतृत्व गर्दै आउनुभएको छ ।


गाउँमै भएपनि आमा समूहको पक्की भवन निर्माण गर्ने, समूहकै तरकारी खेति गर्ने, पुख्यौली संरक्षणमा अगुवाई गर्ने उहाँको हिम्मत अनुसरणयोग्य छ । गोदावारी आमा समूहले आफ्नै पक्की भवन समेत निर्माण गरिरहेको छ । पुन सोही भवनमा एकल रुपमा बसोबास गर्दै आउनुभएको छ । गोदावारी आमा समूहले भर्जुलामा वृक्षारोपण, गाउँ सरसफाई लगायतका गतिविधि समेत गर्दै आएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l