एक वडा एक सुविधा सम्पन्न आवासीय विद्यालय अन्नपूर्णको नीति

  • ८ असार २०८०, शुक्रबार
  • 351 पटक पढिएको

पोखरेबगर, ८ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन, पूर्वाधार र शिक्षा क्षेत्रलाई प्राथमिकता दिदै आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यत्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगमा शुक्रबार भएको १७ औ गाउँसभामा अध्यक्ष भारतकुमार पुनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

अन्नपूर्ण गाउँपालिकालाई विश्वसामु उत्कृष्ट पर्यटकीय गन्तब्यका रुपमा स्थापित गर्ने, दिगो कृषि, पर्यटन र उर्जा तथा खेलकुदको विकास गरी स्वच्छ, सफा र सुन्दर पालिकाको पहिचान कायम राख्ने, योजनावद्ध शहरीकरण तथा वस्ती विकासलाई यस नीति तथा कार्यक्रमले प्रमुख प्राथमिकता दिएको छ ।

टोल, वडा स्तरमा भएको छलफल तथा सरोकारवालाहरुसँग छलफल गरेर प्राप्त सुझावहरुलाई नीति तथा कार्यक्रम र बजेटमा समेटिएको अध्यक्ष पुनले बताउनुभयो । नर्थ अन्नपूर्ण आधारशिविरको एकिकृत पर्यटन गुरुयोजना निर्माण गरि कार्यक्रम सञ्चालन गर्ने, नयाँ गन्तब्यको पहिचान र पूर्वाधारमा जोड दिने गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

कम लागतमा बढी प्रतिफल दिने, जनतासँग प्रत्यक्ष सरोकार राख्ने, युवालाई उत्पादन र रोजगार दिने योजनाहरुलाई प्राथमिकता दिएको अध्यक्ष पुनले बताउनुभयो । पालिकाको केन्द्र देखि वडा जोड्ने सडकको स्तरोन्नति गर्ने, गाउँपालिकाको प्रशासकीय भवन बनाउने लक्ष्य राखेको अन्नपूर्णले पालिकाभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गरि कार्यान्वयनमा ल्याउने भएको छ ।

गाउँपालिकाका ठूला र गौरवका आयोजनाहरु निर्माण गर्न तथा महत्वपूर्ण पर्यटकीय स्थलहरुको दिगो संरक्षण, प्रर्वद्धन र विकासका लागि निजि क्षेत्रका लगानीकर्ताहरुलाई समेत समेट्न सार्वजनिक निजी साझेदारीको अवधारणा अघि सारेको छ ।

एक घर, एक धारा अभियान मार्फत पालिकाको सबै घरधुरीमा खानेपानीको पहुँच विस्तार गर्ने नीति लिएको छ । एक वडा, एक सुविधा सम्पन्न आवासिय विद्यालय बनाउने नीति लिएको अन्नपूर्णले आगामी वर्षदेखि स्थानीय पुस्तक कार्यान्वयन गर्ने भएको छ । एक वटा वडाका एक जनालाई विज्ञान, गणित र अंग्रेजी विषयमा स्नातक तहसम्म अध्ययन गर्न छात्रवृत्ति उपलब्ध गराउने तथा किशोर किशोरलाई निजामती र शिक्षक सेवा प्रति आकर्षित गराउन तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

 

नारच्याङको प्रभा माविमा सञ्चालित इलेक्ट्रिकल इञ्जिनियरिङ विषयको पठनपाठनलाई गौरवको आयोजनाका रुपमा सञ्चालन गर्ने, विद्यालयमाअध्यक्षसँग विद्यार्थी भेटघाट कार्यक्रम चलाउने, बालमैत्री र बालश्रममुक्त पालिका घोषणा गर्ने भएको छ । आर्थिक रुपमा विपन्न, दुर्घटनामापरेका र ७० वर्ष माथिका नागरिकलाई अस्पताल पुग्न निशूल्क एम्बुलेन्स सेवा उपब्ध गराउने, गर्भवति र सुत्केरीलाई अस्पताल तथा स्वास्थ्य संस्था जान एम्बुलेन्स भाडामा एकतर्फी छुट गर्ने नीीत लिएको छ ।

 

अन्नपूर्णलाई आलु र सुन्तला जातका फलफूलमा आत्मनिर्भर बनाउने, प्राङगारिक खेती प्रर्वद्धन गरी पर्यटकलाई स्थानीय परिकारको ब्राण्डको रुपमा खाना उपलब्ध गराउने, कृषिको आधुनिकिकरण, बजारीकरणका लागि तालिम सञ्चालन र कृषि एम्बुलेन्स सञ्चालन गर्ने नीति लिएको छ । बेमौसमी तरकारी उत्पादनका लागि आवश्यक ग्रिन हाउस, गुमोज, हाइटेक हाउसको निर्माण गरी बेमौसमि तरकारीमा आत्मनिर्भर गर्न पलाष्टिक घर निर्माण कार्यक्रम लागू गरिने भएको छ ।

 

पोखरेबगरमा जारी गाउँसभामा अध्यक्षले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गरेर पारित भएपछि आजै उपाध्यक्ष दिवा तिलिजा पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने कार्यक्रम रहे­को प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।