मालिका गाउँपालिकामा ‘किसान चौतारी जोतौ खेतबारी’ अभियान

  • ६ असार २०८०, बुधबार
  • 467 पटक पढिएको

बेनी, ६ जेठ। म्याग्दीको मालिका गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक बनाउन र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउन ‘किसान चौतारी जोतौ खेतबारी अभियान’ सञ्चालन गर्ने भएको छ । मंगलवार दरबाङमा आयोजित गाउँसभाको १३ औँ अधिवेशनबाट पारित आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहनका लागि उक्त कार्यक्रम ल्याउन लागिएको जानकारी गराईएको हो ।
सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बसाइसराई र बैदेशिक रोजगारका कारण गाउँमा खेतीयोग्य जमिन बाँझो रहन थालेपछि आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा स्थानीय सम्भावनाको खोजी र उजागरका बिषयहरु नीति तथा कार्यक्रमको प्राथमिकतामा परेको बताउनुभयो । मालिकाले ‘खाऔँ आफ्नो बारीको नखाऔँ सिमा पारिको’ भन्ने नाराका साथ उच्च मुल्यका फलफुल, तरकारी, तथा अन्नबालीहरुको पकेट क्षेत्र पहिचान गरि सघन कृषि क्षेत्र निर्धारण गरेर व्यवसायिक कृषि कार्यक्रम समेत सञ्चालन गर्ने भएको छ ।
कृषि उपजको आयात प्रतिस्थापन गर्न र स्थानीय उत्पादनको बजारीकरणमा टेवा पु¥याउने कार्यक्रमलाई गाउँपालिकाले प्राथमिकतामा राख्ने अध्यक्ष गर्बुजाले बताउनुभयो । गाउँपालिकाले ‘युवाको उर्जा मालिकाको औजार’ भन्ने मिसन कार्यक्रम अन्तरगत बाझो जग्गा सदुपयोगका लागी तालिम, औजार, उपकरण र प्रविधि हस्तान्तरण संगै सामुदायिक विद्यालयहरुको दिवा खाजामा रैथाने उत्पादनलाई प्राथमिकता दिने जनाएको छ ।

वैदेशिक रोजगारबाट फर्केका युवाहरुले आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई सदुपयोग गर्दै स्वरोजगार र उद्यमशीलता विकासका लागि प्रोत्साहन गर्ने नीति लिएको मालिका गाउँपालिकाले स्थानीय रक्सिको रुपमा परिचित घरेलु मदिरालाई ब्राण्डिङ गर्न र गाजा खेतीको सम्भाव्यक्ता अध्ययन र अनुसंधान गर्ने भएको छ । गाउँपालिकाले भाँगो, टुसा, निउरो, टिमुर, सिस्नो, कोदो, उवा, जौ, फापर लगायतका स्थानीय उत्पादनको प्रोत्साहन र बाण्डिङमा समेत सघाउने भएको छ ।
आन्तरिक आम्दानीको स्रोतको पहिचान गर्ने नीति लिएको मालिकाले करको दर घटाएर दायरा फराकिलो बनाउने नीति तय गरेको छ । पालिकाभित्र रहेका असंगीत क्षेत्रका मजदुरहरुको तथ्याङ्क संकलन तथा अभिलेख गर्ने, विपन्न परिवार, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरुको पहिचान गरि परिचयपत्र वितरण गर्ने, ग्रामीण सडकलाई स्तरोन्नती गर्ने, पर्यटकीय क्षेत्रको प्रवद्र्धन र कला संस्कृतिको संरक्षण गर्ने बिषयलाई नीति तथा कार्यक्रममा समेटीएको छ । नागरिकलाई आधारभुत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने नीति लिएको मालिकाले मृगौला, मुटु, उच्च रक्तचाप, मधुमेह, लगायतका रोगको निःशुलक जाँच र उपचारको प्रवन्ध मिलाउने जनाएको छ ।

मालिकाको गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रमलाई सर्वसम्मत रुपमा पारित गरिएको छ । त्यस्तै गाउँसभामा उपाध्यक्ष लक्ष्मी घर्ति पुनले पेस गर्नुभएको आर्थिक विधेयक २०८०, विनियोजन विधेयक २०८०, सहकारी विधेयक, न्यायीक सम्वन्धी कार्यविधि व्यवस्थित गर्न बनेको विधेयक पनि पारित भएको छ ।
नीति तथा कार्यक्रममा सामाजिक विकास अन्तर्गत शिक्षा, स्वास्थ्य, संस्कृति, खेलकुद, लैंगिक समानता, आर्थिक विकास, उद्योग तथा पर्यटन विकास, कृषि तथा पशुपंक्षी, सहकारी, सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास, खानेपानी तथा सरसफाई, वातावरण तथा जलवायु परिवर्तन, विपद व्यवस्थापन, लगायतका क्षेत्र प्राथमिकता साथ समावेश भएका छन ।
गाउँपालिकाले भौतिक पूर्वाधार विकास तर्फ शहरी योजना, वस्ती विकास, आवास तथा पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । पालिकाले जीवन उपयोगी सिपमा आधारीत शैक्षिक पाठ्यक्रमको विकास गर्ने नीति लिएको छ । पालिकालाई खुल्ला बहुसांस्कृतिक र मगर संग्रहालयको रुपमा विकास गर्न पूर्वाधार निर्माण गर्ने, युवालाई विदेश होइन विजनेस भन्ने भावनाको जागृत तुल्याई स्वरोजगार बनाउने नीति लिइएको छ ।

पालिकाले औद्योगिक प्रदर्शनी स्थलको सम्भाव्यता अध्ययन गरि निर्माण कार्य अघि बढाउने, गाउँपालिका भित्रका पर्यटकीय स्थलहरुलाई जोड्नका लागि पर्यटकीय सडक संजाल कार्यान्वय गर्ने नीति पालिकाले लिने भएको छ । कार्यक्रममा अध्यक्ष गर्वुजाले सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने संकल्प अनुसार समस्त गाउँपालिका बासीको आवश्यकता र चाहनालाई ध्यानमा राखी आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम तयार गरिएको बताउनुभयो ।
कार्यक्रममा वडाअध्यक्षहरु मोतीप्रसाद पुन, टंक पुन र उदय कुमार बुढाथोकीले पालिकाले ल्याएका नीति तथा कार्यक्रमको प्रभाबकारी कार्यान्वनय गर्दै अघि बढेमा पालिकालाई विकसित र समृद्ध बुनाउन सकिने विचार व्यक्त गर्नुभएको थियो । आर्थिक बर्ष २०८०÷८१ को बजेट भने आगामी असार १० गते प्रस्तुत गर्ने कार्यक्रम तय भएको प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्कीले जानकारी दिनुभयो ।