बेनी नगरपालिकाको सार्वजनिक सुनुवाईः लक्ष्यमा आधारित योजनालाई प्राथमिकता दिन सुझाब
- ३ असार २०८०, आईतवार
- 295 पटक पढिएको
म्याग्दी ३ असार । बेनी नगरपालिकालाई लक्ष्यमा आधारित विकास निर्माण योजनालाई प्राथमिकता दिन सरोकारवालाहरुले सुझाब दिएका छन् । आईतवार बेनीमा आयोजित आर्थिक बर्ष २०७९/०८० को तेस्रो चौमासिकमा भए गरेका विकास निर्माण तथा सेवा प्रवाह बिषयक सार्वजनिक सुनुवाई तथा आगामी बर्षको नीति , योजना तथा कार्यक्रमका लागि सुझाब संकलन कार्यक्रममा सहभागीहरुले शिक्षा, स्वास्थ्य, आयआर्जन र सडक स्तरीकरणको लागि लक्ष्यमा आधारित रहेर योजना छनौट तथा कार्यान्वनयमा लाग्न सुझाब दिएका हुन् ।
कार्यक्रममा सहभागीहरुले बेनी नगरभित्र रहेको खानेपानीको समस्या समाधानमा अगुवाई गर्न नगरपालिकालाई आग्रह गरेका छन् । सहभागीहरुले नगरभित्र रहेका सहकारी र नीजि विद्यालयहरुको नीयमन गर्न आग्रह गर्दै सार्वजनिक जग्गालाई अतिक्रमणमुक्त गराउन सबै ठाउँमा अभियान सञ्चालन गर्न माग गरेका थिए । योजना टुक्रे भएकाले उपलब्धी कम हुने, योजना कार्यान्वयनमा सम्बन्धित लाभग्राही समुदायको सहभागीता नहुने, समयमै अनुगमन नहुँदा पृष्ठपोषणको अभाब हुने, फोहोर व्यवस्थापन, अव्यवस्थित पार्कीङ, मासु र तरकारीको मुल्य निर्धारण, नदीको तटिय क्षेत्रको तटबन्धनमा ढिलासुस्ती लगायतका जनसरोकारका बिषयमा नगरपालिकाका जनप्रतिनिधिको ध्यानकर्षण गराएका थिए । त्यसैगरि उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्न, अनुदान र तालिममा सहभागी भएकाहरुको अभिलेख राख्न र बेनी अस्पताल र स्वास्थ्य संस्थाहरुमा निशुल्क पाउने र बिमा बाट पाउने औषधीको उपलब्धता गराउनतर्फ नगरपालिकालाई सहभागीहरुले प्रश्न गरेका थिए ।
कार्यक्रममा नगरपालिकाका मेयर सुरत केसीले सिमित स्रोत र साधनलाई उचित उपयोग मार्फत नगरलाई विकसित र व्यवस्थित बनाउने लक्ष्यका साथ नगरपालिकाले आफ्नो कार्यक्रम तथा बजेट कार्यान्वयनमा जुटेको बताउनुभयो । उहाँले बेनी बजारभित्रको खानेपानी समस्या समाधानका लागि बेनी खानेपानी संस्था र ग्रामीण क्षेत्रको खानेपानी आयोजनाहरुलाई पूर्णता दिलाउन प्रदेश र संघीय सरकारसंग आवश्यक पहल र समन्वय भैरहेको बताउँदै शिक्षाको गुणस्तर सुधार र स्वास्थ्यको पहुँच विस्तारमा नगरपालिकाले विशेष ध्यान दिने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका उपमेयर ज्योति लामिछानेले नगरपालिकाबाट कार्यान्वयन हुने योजनाहरुलाई प्रभाबकारी बनाउन नियमित अनुगमन भैरहेको बताउँदै नागरिक र सेवाग्राहीलाई झण्झट र सास्ती नहोस भन्ने कुरामा नगरपालिका सचेत रहेकोमा जोड दिनुभयो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकालले कार्यालयको सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउन आबश्यक पहल थालिएको बताउँदै सरोकारवालाबाट प्राप्त सुझाब र सल्लाह अनुसार आगामी दिनमा सेवा प्रवाहलाई थप सरलीकरण गरिने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले बजार क्षेत्रमा सडक अतिक्रमण भएका संरचना हटाउन थालिएको अभियानलाई नरोकिएको बताउँदै नगरभित्रका ऐतिहासिक धरोहरहरुको संरक्षण र पर्यटकीय सम्भावनाको खोजीमा नगरपालिका लागीपरेकोमा जोड दिनुभयो ।
कार्यक्रममा नगरपालिकाले आगामी आर्थिक २०८०÷०८१ को योजना तथा कार्यक्रम र बजेटका लागि सरोकारवालाहरुबाट सुझाव संकलन समेत गरेको छ । कार्यक्रममा उपस्थित भएका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि,संघसंस्थाका प्रतिनिधि,पूर्व जनप्रतिनिधि र नगरवासीहरुले नगरको आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयका वारेमा राय सुझाव दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले आगामी आर्थिक वर्षमा योजना तथा कार्यक्रम बनाउँदा नगरले सन्तुलित विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । सामाजिक न्याय,समानता,समावेशी,पारदर्शीता र जनसहभागितालाई प्रमुख आधार बनाएर नीति तथा कार्यक्रम र बजेट बनाउनुपर्ने जिसस प्रमुख थापाले सुझाउनुभयो । उहाँले नगरलाई सुझाव दिँदै भन्नुभयो,‘‘योजनाको प्राथमिकिकरण गर्नुपर्ने,योजना कार्यन्वनयमा पारदर्शीता,जनसहभागिता,दिगो र सामाजिक न्यायामा आधारित विकास गर्नुपर्दछ । पर्यटन र सडकका योजनालाई प्राथमिकतामा दिनुपर्दछ साथै नगरवासीको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्नेगरी आगमी योजना तथा कार्यक्रम र बजेट निर्माणमा ध्यान दिनुपर्दछ ।’’
त्यस्तै कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष बालकृष्ण सुवेदीले वडालाई बजेट विनियोजन गर्दा योजना तथा कार्यक्रम कार्यन्वनयको अवस्थालाई मुल्याङ्कन गरेर बजेट विनियोजन गर्नुपर्ने सुझाव दिनुभयो । नगरपालिकाले पर्यटन प्रवद्र्धनमुलक कार्यक्रम अघि सार्नुपर्ने उहाँको सुझाव थियो । पर्यटन क्षेत्रमा नगरको ५१ प्रतिशत र वाँकी निजी क्षेत्रलाई लगानी दिनेगरी कम्पनी मोडलमा जानुपर्ने सचिव सुवेदीको सुझाव थियो ।
प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले सडक भाडादर कायम गरिएको बारेमा जानकारी गराउनुभएको थियो भने प्रहरी नायब उपरिक्षक मदन कुँवरले लागुऔषध दुर्वयसनी न्यूनिकरणमा सरोकारवालाहरुको भूमिकाका बारेमा मन्तव्य राख्नुभएको थियो भने म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले करको दर घटाएर दायरा फराकिलो बनाउन सकेमा नगरभित्रका सबै क्षेत्रलाई करको दायरामा ल्याउन सहयोग पुग्ने विचार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र नगर कमिटिका अध्यक्ष शेरबहादुर केसी,निर्वतमान नगर प्रमुख हरिकुमार श्रेष्ठ,निवर्तमान उप्रमुख सञ्जुबरुवाल, नेपाली काँग्रेस नगर समितिका उपाध्यक्ष हरिप्रसाद पौडेल, नगरवासी सुवाष श्रेष्ठ, बेनी खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष माधवप्रसाद रेग्मी, नागरिक समाजका संयोजक सुदर्शनकुमार श्रेष्ठ लगायतले नगरपालिकाले आगामी नीति तथा कार्यक्रम र बजेट तयार पार्दा नगरवासीको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
नगरवासीहरुबाट प्राप्त भएका सुझावहरुलाई आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिने नगर उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो । सिमित स्रोतसाधनलाई उच्चतम परिचालन गरी नगरवासीको आकांक्षालाई पुरा गर्नेगरी नीति तथा कार्यक्रम र बजेट निर्माण गरिने उहाँले बताउनुभयो ।
नगरप्रमुख सुरत केसीले नगरवासीहरुबाट राय सुझाव संकलन गर्न कार्यक्रमको आयोजना गरिएको वताउनुहुँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा प्राप्त भएका सकरात्मक सुझावहरुलाई समाबेश गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘जनप्रतिनिधिलाई मार्गदर्शन हुनेगरी विभिन्न माध्यमहरुबाट सुझावहरु प्राप्त भएका छन् । प्राप्त भएका सुझावहरुलाई अध्ययन गरेर आगमी नीति तथा कार्यक्रममा समावेश गर्दछौं ।’’
मेयर केसीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार कमल खत्रीले सहजीकरण र नगरका प्रशासकीय अधिकृत युवराज थापाले सञ्चालन गर्नुभएको थियो ।