बेनी नगरपालिकामा ६१.७८ प्रतिशत विकास बजेट खर्च
- ३ असार २०८०, आईतवार
- धिरन खत्री
- 365 पटक पढिएको
म्याग्दी, ३ असार । म्याग्दीको बेनी नगरपालिकामा चालू आर्थिक बर्षको ११ महिनामा विकास बजेट ६१.७८ प्रतिशत खर्च भएको छ। पुँजीतगततर्फ रहेको कुल २९ करोड ३७ लाख ३८ हजार रुपैयाँ बजेटमध्ये १९ करोड ४७ लाख ३३ हजार रुपैयाँ ( ६१.७८) खर्च भएको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले सार्वजनिक सुनुवाई जानकारी दिनुभयो ।
करिव एक महिनामा ३८ प्रतिशत विकास बजेट खर्च गर्नुपर्ने देखिएको छ। म्याग्दीमा स्थानीय तह, संघ र प्रदेशका कार्यालयको असारमा विकासतर्फ बढी रकम भुक्तानी गरिने समस्या समाधान हुन सकेको छैन् ।
बेनी नगरपालिकाले आज जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको २०८०÷८१ को नीति योजना कार्यक्रमको सुझाव संकलन तथा चालू आर्थिक बर्षको तेस्रो चौमासिकसम्म भएका विकास र सेवाप्रवाह विषयमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत ढकालले कुल बजेटको ११ महिनामा ६८.९७ प्रतिशतm नगर प्रगति गरेको जानकारी गराउनुभयो ।
नगरको कुल ७९ करोड १८ लाख १३ हजार रुपैयाँ बजेटको समग्रमा ६८.९७ प्रतिशत बजेट खर्च भएको छ । चालुतर्फ ४९ करोड ८० लाख ७४ हजार रुपैयाँ बजेटमध्ये ३५ करोड ७२ लाख ६३ हजार रुपैयाँ (७१.७२) बजेट खर्च भएको उहाँले जानकारी गराउनुभयो ।
नगरले जेठ मसान्तसम्म ४ करोड २६ लाख ७२ हजार १४० रुपैयाँ राजश्व संकलन गरेको प्रमुख प्रशासकिय अधिकृत ढकालले बताउनुभयो । नगरको चालू आर्थिक बर्षको कुल प्रक्षेपित राजश्व ४ करोड २३ लाख ७० हजार रुपैयाँ रहेको थियो ।
बेनी नगरमा बसाई सरी आउने भन्दा जाने बढी
चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा बेनी नगरपालिकामा बसाइ सरेर आउनेभन्दा जानेको संख्या बढी छ ।
बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकालका अनुसार तीन सय ५१ जना बसाई सराई गरी जाने सदस्य छन् भने दुई सय १५ जना नगरभित्र बसाइ सरेर आएका छन् ।
नगरको घटना दर्ता तथा सामाजिक सुरक्षा तर्फबारे जनप्रतिनिधि, नगरबासी र सरोकोरवालाको उपस्थितमा भएको सार्वजनिक सुनुवाईमा पछिल्लो एघार महिनाको अवधिमा तीन सय ६५ ले विवाह दर्ता, जन्मदर्ता सात सय ८५, सम्वन्ध विच्छेद ७२ जना, मृत्यु दर्ता दुईसय ४७ जनाले गरेका छन् ।
बेनी नगरले चालू आवमा ४ हजार ७ जनालाई कुल तीन करोड ६९ लाख ५६ हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता वापत वितरण गरेको छ ।
नगरबासीको उपस्थितमा गरिएको सार्वजनिक सुनुवाईमा नगरको विषयगत शाखाको प्रगति पनि सार्वजनिक गरिएको थियो ।
नगरप्रमुख सुरत केसीको अध्यक्षता, उपप्रमुख ज्योती लामिछानेको स्वागत तथा प्रमुख प्रशासकिय अधिकृत ढकालले प्रगति प्रस्तुत गरेको कार्यक्रममको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले गर्नुभएको थियो ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l