बेनी र अन्नपूर्णद्वारा ब्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्वन्धी बेनीमा अभिमुखीकरण

  • ३० जेष्ठ २०८०, मंगलवार
  • धिरन खत्री
  • 320 पटक पढिएको

 

म्याग्दी, ३० जेठ । बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाको सयुक्त आयोजनामा वडाका सचिव र पञ्जीरकण शाखामा कार्यरत कर्मचारीलाइ सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्वन्धी अभिमुखीकरण कार्यक्रम संंचालन गरिएको छ। बेनी र अन्नपूर्णस्थित वडासचिव र पञ्जिकरण शाखामा कार्यरत ४० जना कर्मचारीलाई बुधबारसम्म संचालन हुने घटना दर्ता सम्वन्धी अभिमुखीकरण कार्यक्रम मंगलबारदेखि सुरु भएको हो ।


दुई दिनसम्म संचालन हुने अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका कार्यरत शाखा अधिकृत मेघराज शंकर र राजीव राईले सामाजिक सुरक्षा र ब्यक्तिगत घटना दर्ता सम्वन्धी ऐननियम, कानुन र अभिलेखीकरण लगायतको विषयमा अभिमुखीकरण गर्नुहुने नगरका पञ्जीकरण शाखाका शाखा प्रमुख सुदिप खत्रीले बताउनुभयो ।


अभिमुखीकरणको उद्घााटन कार्यक्रममा बेनी नगरपालिका मेयर सुरत केसीले सेवाग्राहीलाई सेवा दिदा देखिएका समस्यालाई समाधान गर्ने किसिमले तालिमबाट स्पष्ट हुन कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले कानुन अनुसार दिन मिल्ने सेवालाई भनसुनको आधारमा सेवा दिने प्रचलनलाई बन्द गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय बैदेशिक रोजगारीले नक्कली कागजपत्र बनाउने क्रमले कानुनमा रहेर कार्यान्वयन गर्दा कर्मचारी फसिने समस्या बढ्दै गएको घटनाहरु मेयर केसीले उल्लेख गर्दै सचेत रहन आग्रह गर्नुभयो ।


त्यस्तै अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतबहादुर पुनले ब्यक्तिगत घटना दर्ता गर्नेक्रममा प्रत्येक दिन सेवाग्राहीमा नयाँनयाँ समस्या देखापरेको बताउनुभयो । उहाँले वडासचिव र पञ्जीकरण शाखाका कर्मचारीलाई स्पष्ट पार्न पञ्जिकरण विभागलाई आग्रह गर्नुभएको थियो । त्यस्तै प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले वडाबाट सेवाँ दिदा स्पष्ट नभएको विषयमा प्रशासन कार्यालय लगायत क्षेत्रमा सोधबुझ गरेर सेवाग्राहीलाई सेवा दिन सुझाव दिनुभएको थियो ।


नगर प्रमुख केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख ज्योती लामिछानेले पनि मन्तव्य राख्नुभएको थियो । प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकाल, नगर सुशासन समितिका संयोजक उत्तम कर्मचार्य लगायतको उपस्थित रहेको कार्यक्रमको संचालन अधिकृत युवराज थापाले गर्नुभएको थियो ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l