सिंगामा लघुउद्यमी र वित्तीय संस्थाविच अन्तरक्रिया

  • २९ जेष्ठ २०८०, सोमबार
  • धिरन खत्री
  • 290 पटक पढिएको

 

म्याग्दी, २९ जेठ । बेनी नगरपालिका–४ सिंगामा लघुउद्यमी र वित्तीय संस्थाविच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजनामा गरिवी निवारण लागि लघुउद्यम विकास कार्यक्रममा आवद्ध सिंगाका उद्यमी र वित्तीय संस्थाका प्रवन्धकसंग अन्तरक्रिया गरिएको हो ।

लघुउद्यमी समुहमा आवद्ध उद्यमीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिममार्फत सिकेको सिपलाई ब्यवसायकि रुपमा अघि बढाउनका लागि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने प्रक्रियाबारे जानकारी गराउने उद्देश्यले एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको बेनी नगरपालिका उद्यम बिकास शाखाकी सहजकर्ता सिता अर्मजा पुनले बताउनुभयो । उहाँले यस अन्तरक्रियामा वडानम्वर ४ बाट लघुउधम मार्फत सिप सिकेर ब्यवसाय संचालन गरेका उद्यमीलाई सहभागि गराएर अन्तरक्रिया गरिएको जानकारी दिनुभयो ।

सिंगाका उद्यमीसंग राष्ट्रिय वाणिज्य बैंकका प्रवन्धक नवराज ढुङ्गाना, नेपाल बैंक सूचना अधिकारी विकास आचार्य र शुभकामना कृषि सहकारीका प्रवन्धक दिपक शर्माले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रवन्धक ढुङ्गानाले सिप र क्षमता अनुसारको ब्यवसायलाई सफल बनाउन लागि ब्यवसायीलाई ऋण आवश्यक पर्ने बताउदै उद्यमीले संस्तो ब्याजदरको ऋण लिनका लागि ब्यवसाय दर्ता गरेर बैंक तथा वित्तीय संस्थामा आउन आग्रह गर्नुभयो ।


कार्यक्रममा बेनी नगरपालिका वडानम्वर ४ का वडाअध्यक्ष अण्बहादुर खड्का (भगवान) ले सिप सिकेर ब्यवसाय गर्दै आउनुभएका उद्यमीलाई आगामी दिनमा थप क्षमता विकासका लागि तालिमलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभएको थियो । उहाँले नगरमा पलास्टिकरहित बनाउन उद्यम आवद्ध महिलाले झोला उत्पादनलाई बढाउन आग्रह गर्नुभयो । नगरले शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकता राखेर गरिवी निवारणका लागि लघुउद्यम कार्यक्रमलाई प्राथमकिता दिएको बताउनुभयो ।


लघुउद्यममा आवद्ध भएर झोला बुन्ने सिप सिकेर ब्यवसायमा आवद्ध भएपछि जिविकोर्पाजनमा सहज भएको सिंगाकी मनकुमारी बुढाथोकीले अन्तरक्रियामा अनुभव सुनाउनुभयो ।

लघु उद्यम विकास कार्यक्रममा बेनी नगरपालिकाको वडानम्वर ३, ४ र ५ बाट यसबर्ष ८३ जना आवद्ध हुनुभएको उद्यमविकास सहजकर्ता अर्मजा पुनले बताउनुभयो । यस कार्यक्रममा आवद्ध हुनेलाई झोला बुन्ने, ट्याक्टर मर्मत गर्ने, मौरीपालन, सिलाईकटाई, स्वीटर बुनाई र ब्युटीपार्लर सम्वन्धी सिपको तालिम दिएको बेनी नगरपालिकाले जनाएको छ । लघुउद्यममा आवद्ध भएर सिलाईकटाई दुई समुह, ब्युटीपार्लर र वाईरिङ कल्सलटेन्ट एक/ एक समुह दर्ता भएको लघुउद्यम शाखाले जनाएको छ।

एकदिने अन्तरक्रियाको उद्घाट्न कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, गैसस म्याग्दीका अध्यक्ष दिपक पौडेल वडासदस्य प्रेम श्रीस लगायतको उपस्थित थियो । अन्तरक्रियाको सहजीकरण नगरका लघुउद्यम विकासका सहजकर्ता सरिता रेग्मी शर्मा र अर्मजा पुनले गर्नुभएको थियो । आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यलाई आत्मनिर्भर बनाउने उद्देश्यले लघुउद्यममा आवद्ध गराएर क्षमताअनुसारको सिप विकास तालिम बेनी नगरपालिकाले दिदै आएको छ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l