अन्नपूर्ण आधार शिविरमा पर्यटन सम्भावनाको खोजीमा पर्यटन व्यवसायी(आलेख)

  • २९ जेष्ठ २०८०, सोमबार
  • कमल खत्री
  • 333 पटक पढिएको

कमल खत्री
बेनी, २९ जेठ । बेलायतका पर्यटन व्यवसायी स्टोभ बेरीको टोलीले करिब दुई साता अवधि नर्थ अन्नपूर्ण पदयात्रामा खर्चिएर फर्कनुभएको छ । बेलायतमा माउण्टेन किङडम्स युके सञ्चालन गर्नुभएका बेरीले नेपालमा विगत ३५ बर्षदेखि पर्यटक पठाउँदै आउनुभएको छ । नर्थ अन्नपूर्ण आधार शिविर क्षेत्रको पर्यटन सम्भावनाको खोजी गर्दै बेरी नेतृत्वको टोलीले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि पदयात्रा गर्दै आधार शिविर पुगेका हुन् ।
समुद्री सतहदेखि ४३०५ मिटर उचाईमा रहेको नर्थ अन्नपूर्णको मुख्य आधार शिविरसम्म पुगेको उक्त टोलीले नर्थ अन्नपूर्ण आधार शिविर पदयात्राका लागि सुरक्षित र उत्कृष्ट गन्तव्यको रुपमा रहेको निष्कर्ष निकालेको छ । नारच्याङ हुँदै आधार शिविर पुग्ने पदयात्राको अवधि छोट्टिएको सूचना पाएपछि ७४ बर्षिय बेरी आफ्नो कम्पनीका नेपाल प्रतिनिधिको साथमा आफै पदयात्रा गर्दै आधार शिविर पुग्नुभएको थियो ।
नेपालका अन्य धेरै हिमाली पर्यटकीय ठाउँहरुमा पुगीसक्नुभएका उहाँले नर्थ अन्नपूर्ण पदयात्रा सबैभन्दा उत्कृष्ट लागेको प्रतिकृया दिनुभयो ‘‘ हामी यहाँ यदयात्राका लागि पर्यटक पठाउन कति सम्भव छ भनेर खोजी गर्न आएका थियौँ, यति छोटो दुरीको पदयात्रापछि नै हिमालको फेदीमा पुग्न सकिन्छ भनेर सोचेका पनि थिएनौँ, साँच्चिकै हामी अचम्बित भएका छौँ’’– बेलायतका पर्यटन व्यवसायि बेरीले भन्नुभयो ।
बेरीको पर्यटन व्यवसायीकै टोलीमा सहभागी माउण्टेन लेजेन्ट प्रा.लि.का प्रतिनिधि शेषकान्त शर्माले हिमालका प्रथम आरोही मौरिस हर्जोगले हिमाल आरोहण गर्दा प्रयोग गरेकै बाटोलाई समेटेर पदमार्ग तयार भएकाले पनि यो पदमार्गको ऐतिहासिक महत्व खोज्दै विदेशी पर्यटकहरु आउन इच्छुक रहेको बताउनुभयो ।
‘‘ आधार शिविर पुग्ने पदमार्ग पनि सुरक्षित रहेछ, आधार शिविर पुगेपछि पनि प्रशस्त समथर फाँट भएकाले प्राकृतिक विपत्तिको समेत कम जोखिम देखिन्छ, यो ठाउँको मनोरम प्राकृतिक दृष्यको प्रचार प्रसार भयो भने यहाँ पर्यटकहरुको आगमन ह्वात्तै बढ्न सक्छ, सोहि अनुसारका पर्यटन पूर्वाधारको तयारीमा जुट्नुपर्ने देखिन्छ’’–शर्माले भन्नुभयो । उहाँले पदमार्गमा होटल सुविधा विस्तार गर्न आबश्यक रहेको बताउनुभयो ।
नारच्याङदेखि कुल ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको छ भने हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दुरीमा पदमार्ग निर्माण भएको छ । सडक र पदमार्गसंगै पर्यटकहरुका लागि ठाउँ ठाउँमा आश्रयस्थललगायतका पूर्वाधार निर्माण भएपछि म्याग्दीका पर्यटन व्यवसायीहरु समेत यस क्षेत्रको प्रवद्र्धनमा जुटेका छन् । अन्नपूर्ण प्रवेशद्धारको रुपमा रहेको अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीका पर्यटन व्यवसायी अमृतमान शेरचन, राजु हमाल लगायतको टोलीले समेत स्थलगत रुपमा आधार शिविर क्षेत्रसम्म पुगेर पर्यटन सम्भावनाको खोजी गरेका हुन् । तातोपानीमा पर्यटकहरुको लागी होटल सञ्चालन गर्दै आउनुभएका शेरचनले यात्रा अवधि छोटो दुरीमा भएकाले यस क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धन गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
सन १९५० जुन ३ तारिकका दिन फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुभएको थियो । हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै वि.स. २०६८ मा ‘मौरिज हर्जोग पदमार्ग’को पहिचान गरिएको थियो । पदमार्ग लगायतका पूर्वाधारहरुको निर्माण भएपछि गाउँपालिकाले पदमार्ग र आधार शिविरको प्रवद्र्धन अभियान थालेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । उहाँले यस क्षेत्रको प्रचार प्रसार तथा थप पर्यटन पूर्वाधार बनाउन पालिकाले आवश्यक पहल थालिसकेको जानकारी दिनुभयो ।


यसरी बने पूर्वाधार
नर्थ अन्नपूर्ण हिमालको आधार शिविर पुग्न मुस्ताङको टुकुचे हुँदै नारच्याङको भुसकेटमेला निस्कने परम्परागत वाटो जोखिमपूर्ण भएपछि नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङको अगुवाईमा वि.स. २०६८ मा स्थानीयकासीको टोलीले चार दिन लगाएर आधार शिविर पुगेपछि अहिलेको पदमार्गको पहिचान भएको थियो । १५ जनाको स्थानीयबासीको टोलीले ६२ ठाउँमा अस्थायी साँघु बनाउँदै खोला वारपार गर्दै आधार शिविर पुगेर फर्किएका थिए । सन २००५ मा अन्नपूर्णका प्रथम आरोही मौरिस हर्जोग हेलिकप्टर मार्फत नारच्याङ आएर यो पदमार्गको विकासमा चासो राखेपछि स्थानीयबासीले सक्रियता बढाएका थिए ।

२०६७ मा अन्नपूर्ण आधार शिविर सहित भुरुङतातोपानी र रुप्से झरनालाई प्रचार प्रसारका लागि अन्नपूर्ण तातोपानी रुप्से महोत्सव समेत आयोजना गरियो । त्यसपछि पर्यटन मन्त्रालय मार्फत बजेट विनियोजन हुन थालेपछि नारच्याङ गाउँदेखि छोटेपा हुँदै हुमखोला क्षेत्रमा पैदलमार्ग बनाउन सुरु गरिएको थियो । अहिले जलविद्युत कम्पनीले यस क्षेत्रमा सडकको पहुँच पु¥याईसकेका छन् । वि.स. २०७६ मा गाउँपालिकाले नारच्याङमा प्रथम अन्नपूर्ण पर्यटन महोत्सव समेत आयोजना गरेको थियो ।

अहिले अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्ग निर्माण कार्य सकिएको छ भने ठाउँ ठाउँमा झोलुङ्गे पुल निर्माण भएको छ । अन्नपूर्ण आधार शिविरमा पुग्ने पदमार्ग, झोलुङ्गे पुल, आश्रयस्थल, लगायतका पूर्वाधार बनाउन पर्यटन मन्त्रालयले पटक–पटक गरेर रु २ करोड ८० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले रु ४० लाख बढी लगानी गरिसकेको पर्यटन व्यवसायी गुरुङले जानकारी दिनुभयो । पदमार्ग अन्तरगत आधार शिविर, धरमढुंगा,भुसकेटमेला, गुफाफाँट, संधिखर्क, हुमखोला र छोटेपामा आश्रयस्थल निर्माण भैसकेको छ । आधार शिविर, भुसकेटमेला र गुफाफाँटमा थप आश्रयस्थल बनाउन स्थानीयबासीले माग गरेका छन् ।


पदमार्गका मुख्य आकर्षण
अन्नपूर्ण आधार शिविर अन्य आधार शिविरभन्दा समथर भागमा रहेको छ । वरिपरि अन्नपूर्ण, अन्नपूर्ण फ्रेन्क, तिलिचो पिक, वराहशिखर र नीलगिरि साउथ हिमालबाट घेरिएर बनेको आधार शिविरको उपत्यका मनमोहक छ । हिमालको फेदीमा रहेको विशाल पञ्चकुण्ड ताल यहाँको थप आकर्षण हो । करिब २० हजार बर्गमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुण्ड तालमा आकासे नीलो रंगको पानीको दृष्यले पर्यटकहरुलाई लोभ्याउने गर्छ ।

यस आधार शिविरमा पुगेपछि पर्यटकहरुले एकै ठाउँबाट फन्को मारेर दर्जनौँ हिमशृङ्खलाको अवलोकन गर्न पाउँछन् । आफ्नै शिरमा हिमाल देख्न पाउँदा पर्यटकहरु फुरुङ्ग हुन्छन् । पदमार्गमा पर्ने फुतफुते झरना यहाँको अर्को मुख्य आकर्षणको रुपमा रहेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । आधार शिविरकै पञ्चकुण्ड तालको पानी बगेर आउने मिस्त्रीखोलाको पानीले पहाडलाई काटेर झर्ने भएकाले फुतफुते झरना मनमोहक देखिन्छ । त्यसैगरि यस पदमार्गमा पञ्च झरना, रातो झरना संगै पहाड नै प्वाल परेको देखिने आकासे गुफा समेत पर्यटकहरुको आकर्षणको रुपमा रहेको सुवेदीले जानकारी दिनुभयो । यस पदमार्गको हुमखोलादेखि भुस्केटमेला क्षेत्रसम्मको फाँटमा फुल्ने फुच्चे गुराँसको रुपमा परिचित रोडोडेन्ड्रन कोवानियम प्रजातिको गुराँसको फूल पर्यटकहरुको थप आकर्षण हो । नेपालमा मात्रै पाईने रैथाने गुराँसको प्रजातिको रुपमा रहेको गुराँसको फूल पदमार्गको दायाँ–बायाँका पाखाहरुमा प्रशस्त मात्रामा भेटिन्छन् । पदमार्गमा लौठ सल्ला, भोजपत्रका हिमाली रुख विरुवासंगै यार्सागुम्बा लगायतका जडिबुटी, नाउर, झारल, मृग, हिउँचितुवा पुच्छर नभएको लिँडे मुसा, डाँफे, मुनाल लगायतका बन्यजन्तु र पंक्षीहरुहरुलाई समेत अवलोकन गर्न सकिने स्थानीय पर्यटन व्यवसायी तेज गुरुङ बताउनुहुन्छ । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट हुमखोलासम्म सवारी साधन र २२ किलोमिटर पैदलयात्रामा सजिलै पुग्न सकिने अवस्था बनेको र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेकाले प्रचार प्रसार र थप पूर्वाधार निर्माणमा पहल थालिएको गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले जानकारी दिनुभयो । हिमाल आरोहणमा सबैभन्दा कठिन मानिने अन्नपूर्ण हिमालको आधार शिविर पूग्न भने सबैभन्दा सहज बनेपछि अहिले यस क्षेत्रमा देशका विभिन्न ठाउँबाट अवलोकन र भ्रमणको लागि आउनेहरु बढेका छन् । राससबाट            

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l