धवलागिरीको मल्कवाङ, भेडिखाल्टा र पन्थोक बेशीमा खानेपानी आयोजना निर्माण
- २६ जेष्ठ २०८०, शुक्रबार
- 635 पटक पढिएको
बेनी, २६ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिकामा करिब रु एक करोडको लागतमा एक घर एक धाराको सुविधा भएका तीन वटा खानेपानी आयोजना निर्माण भएका छन् । नेपाल स्वास्थ्यको लागि पानी (नेवा), धवलागिरी गाउँपालिका र समुदायको लागत साझेदारीमा वडा नम्बर ५को मल्कवाङ, भेडिखाल्टा र वडा नम्बर ६ को वेशी पन्थोकमा आयोजना निर्माण भएका हुन् । नेवाका प्राविधिक निरीक्षक रामबहादुर बुढाले रु ९४ लाख नौ हजार ८०२ को लागतमा निर्माण भएको आयोजनाबाट १५३ घरधुरी लाभान्वित भएकाे जानकारी दिनुभयाे ।
“घरघरमा मिटर जडित निजी धारा मार्फत खानेपानी वितरण गरिएको छ,” उहाँले भन्नु्भयो “आगामी आर्थिक वर्ष २०८०/०८१ मा धवलागिरी–२ खोरीया र लमसुङमा दुई वटा खानेपानी आयोजना बनाउन सर्वेक्षण भएको छ ।” रु ५७ लाख ६२ हजार ८०३ को लागतमा निर्माण भएको मल्कवाङ खानेपानी आयोजनाबाट ८५ धरधुरी लाभान्वित भएका छन् । छहराको मुहानबाट पानी ल्याएर मल्कवाङमा ४९, होपाटोलमा ३८ घर, वडा, विद्यालय र स्वास्थ्य चौकीमा एक/एक वटा धारा बनाएर वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष रोजबहादुर छन्त्यालले जानकारी दिनुभयो ।
“घरघरमा धारा बनाएर पानी वितरण गरेपछि समयको बचत, सुविधा र जनजिवन सहजका भएको छ,” उहाँले भन्नुभयो “यसअघि पुरानो आयोजनाको सार्वजनिक धारामा पर्याप्त पानी नआउँदा समस्या भएको थियो ।” खानेपानी आयोजना निर्माणका लागि उपभोक्ताले प्रतिघर ४५ दिनका दरले श्रमदान गरेका थिए ।
सोही वडाको भेडिखाल्टामा नेवाको रु। दश लाख ५४ हजार ८७८, धवलागिरी गाउँपालिकाको रु। छ लाख ९४ हजार ८८२ अनुदान र उपभोक्ताको रु। चार लाख २३ हजार ७६९ बराबरको श्रमदानमा अर्को खानेपानी आयोजना निर्माण भएको छ । सो आयोजनाबाट ३९ वटा घरधुरी रहेको भेडिखाल्टामा सँगै जोडिएका दुई वटा घरले एउटा धारा प्रयोग गर्ने गरि ३४ वटा धारा बनाइएको वडा अध्यक्ष अमर छन्त्यालले जानकारी दिनुभयो ।
यसैगरी धवलागिरी गाउँपालिका–६ मा रु १४ लाख ७३ हजार ४७० को लागतमा निर्माण भएको वेशी पन्थोक खानेपानी आयोजनाबाट २९ वटा घरधुरीका २१२ जनसंख्या लाभान्वित भएका छन् । जनविकास आधारभूत विद्यालय र प्रगति युवा क्लवको भवनमा पानी वितरण गर्न निजी धारा जडान गरिएको छ । नेवाको रु सात लाख ७७ हजार ९२, गाउँपालिकाको रु। तीन लाख ९९ हजार ४७५ अनुदान तथा उपभोक्ताको रु ३३ हजार ४५९ नगद र रु दुई लाख ४४४ बराबरको श्रमदानमा आयोजना निर्माण भएको हो ।
आगनकै धारामा नियमित स्वच्छ खानेपानी आपुर्ति हुन थालेपछि सुविधाका साथै पानीका लागि खर्चनुपर्ने समय बचत भएको स्थानीय भूमिका गर्बुजाले बताउनुभयो । आगामी वर्ष मालिका गाउँपालिकामा ६ वटा र मंगला गाउँपालिकामा ३ वटा खानेपानी आयोजना निर्माण गर्न लागिएको नेवाले जनाएको छ ।