म्याग्दीका विद्यालय कर्मचारीद्धारा शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना (तस्बिर/भिडियाे)
- २६ जेष्ठ २०८०, शुक्रबार
- 757 पटक पढिएको
म्याग्दी , २६ जेठ । सरकारले विद्यालय कर्मचारीहरुको माग सम्बोधन नगरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद आन्दोलित बनेको छ । परिषदको देशव्यापी कार्यक्रम अन्तरगत म्याग्दीमा विद्यालय कर्मचारीहरुले शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीमा दुई दिने धर्ना दिएका छन् ।
सरकारलाई माग सम्बोधनको लागि दबाब दिन उनीहरुले विहिवार र शुक्रवार इकाईमा धर्ना दिएका हुन् । इकाईका प्रमुख दलबहादुर थापा र नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष जयराम सुवेदीलाई ध्यानकर्षण पत्र समेत बुझाएका विद्यालय कर्मचारीहरुले यस अघि जिल्लाका ६ वटै स्थानीय तहमा समेत ज्ञापन पत्र बुझाइसकेका छन् ।
जिल्लाका सबै पालिकाबाट प्रतिनिधिमुलक रुपमा विद्यालय कर्मचारीहरु जम्मा भएर धर्ना दिएको शिक्षक सुश्मा मल्ल बानियाँले जानकारी दिनुभयो । सरकारले आगामी आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रमको बुँदा नम्बर १२७ मा विद्यालय कर्मचारीहरुको सेवा सुविधाका बिषयमा उल्लेख गरेपनि बजेटमा कुनै सम्बोधन नभएपछि नेपाल विद्यालय कर्मचारी परिषद्को केन्द्रिय समितिले जेठ २० गतेदेखि चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो ।
बालविकास शिक्षक, लेखा सहायक र कार्यालय सहयोगीहरु आबद्ध परिषदले विद्यालय कर्मचारीहरुको दरबन्दी सिर्जना गर्न र अन्य शिक्षक सरह तलब सुविधा दिन माग गरेको धर्नामा सहभागी हुन आउनुभएका जनकल्याण मावि गुर्जाका लेखा सहायक अशोक छन्त्यालले बताउनुभयो ।
विद्यालय कर्मचारीहरु र अन्य शिक्षकहरबिच विभेद गरेको र राज्यले श्रमशोषण गरेको भन्दै परिषदले देशव्यापि रुपमा विद्यालय बन्द गर्ने सम्मको आन्दोलनका कार्यक्रम सार्वजनिक गरे अनुसार जिल्लामा पनि आन्दोलनलाई निरन्तरता दिइएको विद्यालय शिक्षक मनकुमारी विश्वकर्माले बताउनुभयो । परिषदले दुई दिनसम्म राखेको धर्नामा ७० जना बढी विद्यालय कर्मचारीहरु सहभागी भएका थिए ।
विद्यालय कर्मचारीहरुको उक्त आन्दोलनमा नेपाल शिक्षक महासंघ लगायत शिक्षक सम्बद्ध संघसंगठनहरुले ऐक्यबद्धता जनाएका छन् । नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष जयराम सुवेदी, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष लेखबहादुर हमाल, नेपाल शिक्षक संघका महिला उपाध्यक्ष भिमकुमारी सुवेदी, एकिकृत अखिल नेपाल शिक्षक संगठनका प्रदेश सदस्य मुक्ति पौडेल, जिल्ला उपाध्यक्ष गोविन्द शर्मा लगायतले विद्यालय कर्मचारीहरुको धर्नामा पुगेर ऐक्यबद्धता जनाउनुभएको थियो ।