बेनी–बगरफाँट जोड्ने बेलिब्रिज पुल निर्माण सम्पन्न

  • २५ जेष्ठ २०८०, बिहीबार
  • धिरन खत्री
  • 559 पटक पढिएको

 

म्याग्दी, २५ जेठ । पर्वतको जलजला गाउँपालिका वडा नम्वर २ र ३ मा पर्ने बगरफाँटबासीलाइ म्याग्दीको सदरमुकाम बेनीसंग जोड्ने बसपार्कस्थित कालीगण्डकी नदी माथि बेलिब्रिज पुल निर्माण सम्पन्न भएको छ ।

कालीपुल बसपार्कदेखि बगरफाँट जोड्ने ४५ मिटर लामो बेलिव्रिज निर्माण सम्पन्न भएसँगै बगरफाँट बसोबास गर्दै आएका करिब तीन सय घरधुरीले दैनिक उपभोग्य वस्तु भरियामार्फत बोक्नुपर्ने बाध्यता हटेको छ ।


कालीगण्डकी नदी माथि निर्माण कम्पनीले समयमै ‘बेलिब्रिज’ निर्माण गर्नाले बगरफाँटबासीलाई सदरमुकाम बेनीमा आवतजावत गर्न, खाद्यान्न ढुवानी गर्न , घर निर्माणका सामाग्री ल्याउन, विद्यार्थीलाई विद्यालय जान र बिरामीहरूलाई अस्पताल लान सहज हुने बगरफाटँ बस्दै आउनुभएकी अमृता बानियाँ खत्रीले बताउनुभयो ।

बेलिब्रिज निर्माण भएपछि बगरफाँट हुँदै जलजलाको वडा नं १ बाँसखर्क, वडा नं ५ लेखफाँट, वडा नं ६ शालिजा र वडा नं २ को माँझफाँटमा यातायात सेवा सञ्चालन हुने भएको छ । सडक सुविधाबाट वञ्चित बगरफाँटलाई जोड्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले हिमालयन विल्डर्स बेनीसँग गत फागुनमा भ्याटसहित २ करोड ४ लाखमा सम्झौता गरेको थियो । बेनी–जोमसोम सडकअन्तर्गत पोखरेबगरस्थित कालीगण्डकी नदीमाथि निर्माण गरिएको तर हाल प्रयोगविहीन अवस्थामा रहेको बेलिब्रिजलाई कालीपुलमा ल्याएर जडान गरिएको थियो ।


कालीगण्डकी नदीले बगरफाँट जाने कच्ची सडक कटान गरेपछि, बेनी– बगरफाँट आवतजावत गर्ने झोलुङ्गे पुल पनि जीर्ण बन्दा बगरफाँटबासी दुईबर्षदेखि सडक सुविधाबाट बञ्चित थिए । सडक सुविधाबाट बञ्चित बगरफाँटबासीले पुल निर्माणको माग गर्दै गत मङ्सिरको निर्वाचनमा कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने घोषणा गरेपछि म्याग्दी र पर्वतका उम्मेदवारले बगरफाँट पुगेर पुल निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

पुल निर्माणको जिम्मा लिएका हिमालय विल्डर्सका सञ्चालक निरज भण्डारीले कालीगण्डकी कोरिडोरसँग असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित गत फागुनमा निर्माण कम्पनीले सम्झौता गरे पनि समय अगावै बेलिव्रिज निर्माण सकिएको जानकारी दिनुभयो ।

कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम– कोरला सडक) का प्रमुख जगत प्रजापतिले पनि निर्धारित समयभन्दा एक महिना अगावै पुल निर्माण सम्पन्न भएको बताउनुभयो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l