बेनी नगरको पहिचान झल्कने लोगो सार्वजनिक
- २५ जेष्ठ २०८०, बिहीबार
- 565 पटक पढिएको
म्याग्दी, २५ जेठ । बेनी नगरपालिकाले पहिचान झल्कने आफ्नै ‘लोगो’ बनाएको छ । दशौ स्थापना दिवसको अवसर पारेर बिहीबार कार्यालय परिसरमा जनप्रतिनिधि र कर्मचारीको उपस्थितमा नगर प्रमुख सुरत केसीले लोगो सार्वजनिक गर्नुभएको हो । नगरपालिकाले उत्कृष्ट ‘लोगो डिजाइन’ गर्नेलाई रु २५ हजार नगद पुरस्कार दिने सूचना गर्दै खुल्ला प्रतिस्पर्धा मार्फत उतकृष्ट लोगो छनोट गरेको हो । नगरका सूचना प्रविधि अधिकृत एवम् बेनी नगरपालिका–१० का खिमबहादुर खत्रीले पेश गरेको लोगोको डिजाइन छनौट समितिले छानेको थियो ।
समेत रहेका खत्रीले लोगो बनाएवापत प्राप्त भएको पुरस्कार रकम अपाङ्ग बालबालिकाले पढ्ने स्रोत कक्षालाई उपलब्ध गराउने घोषणा गरेका छन् । बेनी –५ बगुवाखोलाको बौद्धिक अपाङ्ग र वडा नम्बर ४ सिंगाको बहिरा स्रोत कक्षालाई रु. १२ हजार पाँच सयका दरले सहयोग गर्ने उनले बताए । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, सम्बृद्ध बेनी नगरको मुल आधार’ भन्ने मुल नारा बनाएको नगरपालिकाको लोगोमा पालिकाको धार्मिक, ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक पहिचान झल्कने चित्र राखिएको छ ।
बेनीको दश वटै वडाको पहिचान झल्कने गरि लोगोको डिजाइन तयार पारेको खत्रीले बताए । नगरपालिकाले कामकाजमा राष्ट्रियसँगै आफ्नो लोगो पनि प्रयोगमा ल्याउन प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताउनुभयो । विसं २०७१ जेठ २५ गते तत्कालीन अर्थुङ्ग, रत्नेचौर, ज्यामरुककोट, पुलाचौर र घतान गाविस समावेश गरेर नगरपालिका घोषणा भएकोमा राज्य पुनसंरचनाको क्रममा भकिम्ली र पात्लेखेत गाविसलाई पनि समेटिएको छ ।
स्थापना दिवसका अवसरमा दश वडाका एक÷एक विपन्न नागरिकलाई नगद रु, पाँच हजारका दरले आर्थिक सहयोग वितरण गरिएको नगर प्रमुख केसीले बताउनुभयो । वडा नम्बर १ देखि १० सम्मका क्रमश ः लक्ष्मी नेपाली, गोपाल सार्की, टेकबहादुर सुनार, बुद्धिमाया किसान, कमल बहादुर खत्री, खिमबहादुर नेपाली, पुजा बि.क., ज्ञानमाया क्षेठ, खमबहादुर राई र जालमाया रोकालाई आर्थिक सहयोग गरिएको प्रशासकीय अधिकृत युवराज थापाले बताउनुभयो ।
यसैगरी सार्वजनिक भएका एचआइभी सङ्क्रमित दश जनालाई एआरभी औषधी लिन स्वास्थ्य संस्था जान आउने लाग्ने खर्च वापत दश हजार रुपैँयाका दरले सहयोग गरिएको नगर उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो । स्थापना दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको रक्तसञ्चार गृहको प्राबिधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा १५ जनप्रतिनिधि, कर्मचारीहरुले रक्तदान गरेका छन् ।