ब्यवसायी कार्कीद्वारा विद्यालयको अक्षयकोषमा एकलाख आर्थिक सहयोग
- १९ जेष्ठ २०८०, शुक्रबार
- धिरन खत्री
- 361 पटक पढिएको
बेनी, १९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु साझपानी घर भई हाल युएई (दुवै) मा ब्यवसाय गर्दै आउनुभएका ठक्करबहादुर कार्की (प्रकाश)ले सोही वडाको साझपानीमा रहेको देउराली आधारभूत विद्यालयको अक्षयकोष खातामा एकलाख एकसय ५१ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । ब्यवसायी कार्कीले परिवारको तर्फबाट विद्यालयको शैक्षिक प्रगतिको लागि सो रकम सहयोग गर्नुभएको हो ।
ब्यवसायी कार्कीको आमा नैनकली कार्कीले उक्त रकम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर भण्डारी (कुमार) र प्रअ ओमबहादुर भण्डारीलाई हस्तान्तरण गर्नुभएको थियो । अक्षयकोषमा नगद उपलब्ध गराउनुहुने कार्कीको आमालाई विद्यालयतर्फबाट अध्यक्ष र प्रअले फूलमालासहित सम्मानपत्रद्वारा सम्मान गर्नुभएको थियो ।
विद्यालयको अक्षयकोष खाताबाट संकलन गरि प्राप्त ब्याजबाट नीजि शिक्षक, गरीब तथा जेहेन्दार छात्रछात्रालाई वार्षिक रूपमा छात्रवृत्ति प्रदान गरिने प्रअ भण्डारीले बताउनुभयो । “अक्षकोषको खातामा हालसम्म दुई लाख रुपैया संकलन भएको छ, ब्यवसायी कार्कीले सहयोग गर्नुभन्दा पहिल्य साझपानीका सुरेन्द्र भण्डारीले विद्यालयको अक्षयकोषमा १ लाख सहयोग उपलब्ध गराउनुभएको थियो,”–उहाँले भन्नुभयो । “अक्षयकोषमा उपलब्ध सहयोगले विद्यालयको शैक्षिक विकासमा मदत पुग्ने छ ।”
ब्यवसायको शिलशिलमा दुवै रहनुभएका कार्कीले जन्मगाउँको शैक्षिकसंगै सामाजिक क्षेत्रको चौतर्फी विकासका लागि आगामी दिनमा यस्तै सहयोग उपलब्ध गराउने बताउनुभएको छ ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l