बेनीमा मानव अधिकार तथा शान्ति समाजको स्थापना दिवस मनाईयो
- १९ जेष्ठ २०८०, शुक्रबार
- 338 पटक पढिएको
म्याग्दी, १९ जेठ । मानव अधिकार तथा शान्ति समाजको २८ औ स्थापना दिवस शुक्रबार बेनीमा मनाइएको छ । समाजको म्याग्दी शाखाले बेनी स्थित विरेन्द्रचोकको चौतारीमा आयोजना गरेको कार्यक्रममा “मानव अधिकारदेखि मानवताको उच्चतम अभिव्यक्तिसम्म” विषयको संस्थाको अवधारणापत्र सार्वजनिक गरिएको थियो ।
शाखा सदस्य सन्तोष ढुङ्गानाले समाजको मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा सद्भाव, सहिषुणता, सामाजिक न्यायको आन्दोलन, जगतमुखी, जिवनमुखी, सेवामुखी उद्देश्य, स्वमसेवी, स्वाभलम्बी आन्दोलन र मानवताको उच्चतम अभिव्यक्ती सम्बन्धी समाजको अवधारणापत्र बाचन गर्नुभएको थियो ।
मानव अधिकारको संरक्षणदेखि मानवताको उच्चतम अभिव्यक्तिलाई जीवनका हरेक क्षेत्रमा प्रतिबिम्वित गर्ने सन्देश अवधारणापत्रमा समेटिएको छ । कार्यक्रमका प्रमुख वक्ता जेष्ठ नागरिक समाज म्याग्दीका उपाध्यक्ष समय आन्दोलनको साथै पछिल्लो समय उठाएको भ्रष्ट्राचार विरुद्धको अभियान र वातावरणीय मुद्दालाई थप शशक्त बनाउन सुझाव दिनुभयो ।
समाजका पुर्व बरिष्ठ उपाध्यक्ष रामजीप्रसाद सुवेदीले राजनीतिक नेतृत्वको कार्यशैलीमा सुधार नआउँदा नागरिकले सास्ती खेप्नुपरेको टिप्पणी गर्नुभयो । उहाँले शुसासन, पारदर्शीता, भ्रष्ट्राचारको अन्त्य र सामाजिक न्यायको लागि युवाहरुले पाटीको भन्दा देशको झण्डा बोग्नुपर्ने बताउनुभयो ।
समाजका शाखा सभापति सन्तोष गौतमको अध्यक्षता र सचिव मुकुन्दप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष बिष्णुप्रसाद आचार्यले स्वागत गर्नुभएको थियो । २०५३ जेठ १९ गते स्थापना भएको समाजको संस्थापक सभापति कृष्ण पहाडी हुनुहुन्छ ।