बेनीमा गण्डकी प्रदेशस्तरीय ठेलो प्रतियोगिता हुने

  • १६ जेष्ठ २०८०, मंगलवार
  • धिरन खत्री
  • 383 पटक पढिएको

म्याग्दी, १६ जेठ । म्याग्दीको सदरमुकाम बेनीमा दोस्रो गण्डकी प्रदेशस्तरीय परम्परागत खुल्ला ठेलो( छेलो) प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा यही जेठ २० गते सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा ठेलो प्रतियोगिता हुने भएको हो ।

जिल्ला खेलकुद विकास समिति म्याग्दीको ब्यवस्थापकीय जिम्मेवारी सहित रहेको ठेलो प्रतियोगितामा आयोजक म्याग्दीबाट ५ जना र अन्य जिल्लाबाट ३÷३ जना खेलाडी प्रतियोगितामा सहभागि हुने जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले बताउनुभयो । छेलो खेलको संरक्षण र विकासका र महत्व बढाउनका लागि यो प्रतियोगिता म्याग्दीमा गर्न लागिएको अध्यक्ष केसीले भन्नुभयो ।


प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु. २५ हजार, रु. १५ हजार र रु १० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल प्रमाणपत्र प्रदान गरिने परिषदका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिनुभयो । प्रतियोगितामा हरेक जिल्लाबाट सहभागि खेलाडी जिल्ला खेलकुद विकास समितिले सिफारिस गरेको हुनुपर्ने नियम छ ।

त्यस्तै बेनी नगरपालिका– ९ गलेश्वर मावि तोरीपानीमा विद्यालय बालबालिका कार्यक्रम अन्तरगत जिल्लास्तरीय छात्र भलिबल प्रतियोगिता हुने भएको छ। भलिवल खेलाडीको उर्भरभूमि रहेको तोरीपानीमा आगामी जेठ २५ र २६ गते हुने विद्यालयस्तरीय प्रतियोगितामा प्रथम र द्वितिय हुने विद्यालयलाई रु. ५५ हजार ५५५ रुपैयाँ र ३३ हजार ३३३ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्रले सम्मान गरिने गलेश्वर मावि तोरीपानी प्रअ गणेश बानियाँले जानकारी दिनुभयो । विद्यालय बालबालिका कार्यक्रम अन्तरगत छात्र भलिबल प्रतियोगिताको मूख्य प्रायोजकमा जिल्ला खेलकुद विकास समिति म्याग्दी रहेको छ ।

हरितालिका तिज पर्वको अवसरमा जिल्ला खेलकुद विकास समितिले सदुरकाम बेनीमा महिला फुटवल प्रतियोगिता गर्ने जनाएको छ। पत्रकार सम्मेलनमा कार्यालय प्रमुख दानबहादुर राईको उपस्थित रहेको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l