अन्नपूर्ण पदमार्गमा रैथाने प्रजातिका गुराँसको आकर्षण

  • १३ जेष्ठ २०८०, शनिबार
  • 247 पटक पढिएको

म्याग्दी १३ जेठ । नेपालमा मात्र पाइने रैथाने प्रजातिका गुराँस म्याग्दीको मौसिज हर्गोज पदमार्गको आकर्षण बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि हुमखोला हुँदै अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौसिस हर्गोज पदमार्गमा पाइने ‘रोडोडेन्ड्रन कोवानियनम’ र ‘रोडोडेन्ड्रन लोन्डेसी’ नेपालमा मात्रै पाइने रैथाने गुराँस प्रजाति हुन् । २ हजार ८८३ मिटर उचाइको हुमखोलादेखि ३ हजार ५५३ मिटर उचाइमा रहेको भुसकेटमेला पुग्ने अन्नपूर्ण खोला वारिपारिका पाखामा वसन्त ऋतुमा ढकमक्क फुलेको गुराँसले पर्यटक लोभ्याएको हो । अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले अन्नपूर्ण हिमाल आरोहण, पच्चकुण्ड नारच्याङ ताल र मौसिज हर्गोज पदमार्ग भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि ‘फुच्चे गुराँस’ थप आकर्षण बनेको बताए ।

‘मौरिस हर्गोज पदमार्ग आरोहण र पदयात्राका लागि मात्र नभएर नेपालमा मात्र पाइने गुराँसको अवलोकन गर्न सकिन्छ,’ उनले भने, ‘झाडीधार वनस्पतिमा पर्ने यो प्रजातिको गुराँस लाङ्टाङ र गोसाइँकुण्ड क्षेत्रमा पाइने अभिलेख भएको छ । अन्नपूर्ण क्षेत्रमा पनि पाइने अभिलेख गराउन पहल गरेका छौं ।’ आधा मिटरदेखि ३ मिटरसम्मको उचाइ हुने यो गुराँस फुलेको बेला पातसँगै निस्कने वनस्पतिविद् कमल मादेनले बताए । उनका अनुसार लाङ्टाङ क्षेत्रमा यो गुराँसलाई किसुर भनेर पनि चिनिन्छ ।

‘अप्रिलदेखि जुन महिनामा फुल्ने यो गुराँस गुलाबी हुन्छ । रोडोडेन्ड्रन कोवानियनमको पातमा रौंजस्ता ससाना भाग देखिन्छन्,’ उनले भने, ‘रोडोडेन्ड्रन कोवानियनम र रोडोडेन्ड्रन लोन्डेसी नेपालमा मात्रै पाइने रैथाने गुराँस प्रजाति हुन् । यी नेपालबाहेक संसारका अन्य स्थानमा रेकर्ड भएका छैनन् ।’ वनस्पतिविद् मादेनले सन २०१९ मा नारच्याङदेखि अन्नपूर्ण आधार शिविर भ्रमणमा जाने क्रममा यस प्रजातिका गुराँस पहिचान गरेका थिए । रोडोडेन्ड्रन कोवानियनम प्रजातिको फूल फुल्दा पात कम पलाएका हुन्छन् ।

सन् १९५० मा बेलायती वनस्पतिविद् ओलेग पोलुनिन नेपालमा अध्ययन गर्न आएका बेला यो प्रजाति लाङ्टाङबाट संकलन गरेका थिए । अध्ययन गर्ने क्रममा यो संसारकै लागि नयाँ प्रजातिको गुराँस भएकाले यसको नाम रोडोडेन्ड्रम कोवानियनम राखिदिएका थिए । उक्त नाम स्कटिस वनस्पतिविद् जोन म्याकक्विन कोवानको सम्मानमा राखिएको थियो ।

रोडोडेन्ड्रन कोवानियनम प्रजातिको गुराँसको उचाइ डेढदेखि ३ मिटरसम्म हुन्छ । यो गुराँस पूर्णरूपमा फुल्दा पात पलाइसकेको हुने मादेनले बताए । विश्वमा गुराँसका हजारभन्दा बढी प्रजाति छन् । तीमध्ये नेपालमा ३३ प्रजाति पाइन्छन् । नेपालमा पाइने गुराँसमध्ये २ वटा रैथाने हुन् । अरु अन्य मुलुकमा पनि पाइन्छन् । रोडोडेन्ड्रन कोवानियनमको फूल गुलाबी रंगको हुन्छ ।