मौरिस हर्जोग पदमार्गमा पर्यटक भित्र्याउन सक्रियता बढ्यो (फोटो फिचर )
- ८ जेष्ठ २०८०, सोमबार
- कमल खत्री
- 347 पटक पढिएको
कमल खत्री
बेनी, ८ जेठ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा पर्यटक भित्र्याउन गाउँपालिकाले सक्रियता बढाएको छ । नारच्याङदेखि आधार शिविर जोड्ने ‘मौरिस हर्जोग ट्रेल’मा पदमार्ग, झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थल लगायतका पर्यटन पूर्वाधार तयार भएपछि पदमार्ग हुँदै पर्यटकहरुको आगमन बढाउन गाउँपालिकाले प्रर्वद्धन अभियान सञ्चालन गरेको हो ।
अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही फ्रान्सेली नागरिक मौरिस हर्जोगजको नामबाट पहिचान गरिएको आधार शिविर पुग्ने पदमार्गको प्रचार प्रसार र प्रर्वद्धनका लागि जेठ ४ गतेदेखि ७ गतेसम्म सरोकारवालाहरुको सहभागितामा स्थलगत अध्ययन अवलोकन भ्रमण गरिएको छ । जिल्ला स्थित पत्रकार, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, पर्यटन व्यवसायि, स्थानीयबासी, लगायतका सरोकारवाला समेतको ३६ जनाको टोलीले पदमार्ग हुँदै आधार शिविर पुगेर स्थलगत अवलोकन सहित पर्यटन सम्भावना र चुनौतिका बिषयमा अन्तरक्रिया गरेका हुन् ।
नारच्याङदेखि कुल ४२ किलोमिटरको दुरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्मको २० किलोमिटर दुरीको बाटोमा सडकको पहुँच पुगेको छ भने हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दुरीमा पदमार्ग निर्माण भएको छ । सडक र पदमार्ग संगै पर्यटकहरुका लागि ठाउँ ठाउँमा आश्रयस्थल लगायतका पूर्वाधार निर्माण भएपछि एकैदिनमा आधार शिविर पुग्न सकिने अवस्था तयार भएकाले यस क्षेत्रको प्रचार प्रसारका लागि प्रवद्र्धन अभियान सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।
‘‘ मौरिस हर्जोगले अन्नपूर्णको आरोहण गर्दा प्रयोग गरेकै बाटोलाई समेटेर पदमार्ग तयार भएको छ, प्राकृतिक सुन्दरताले भरिएको अन्नपूर्ण आधार शिविरमा एकै दिन पुग्न सकिने भएपछि यसको प्रवद्र्धनमा गाउँपालिकाले अभियान चलाएको छ, अध्ययन टोलीको सुझाब र प्रतिवेदनका आधारमा यस क्षेत्रका समस्याको पहिचान र निराकरणमा हाम्रो पहलकदमी रहन्छ’’–अध्यक्ष पुनले भन्नुभयो । गाउँपालिका अध्यक्ष पुन, उपाध्यक्ष दिवा कुमारी तिलिजा पुन र प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीको टोलीले आधार गत महिना शिविर क्षेत्रको स्थलगत अवलोकन गरेपछि सरोकारवालाहरुलाई समेटेर प्रवद्र्धनात्मक कार्यक्रम तय गरिएको थियो ।
गाउँपालिकाले आयोजना गरेको नर्थ अन्नपूर्ण प्रवद्र्धन टोलीमा सहभागीमध्ये १५ जनाको टोली गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि एकै दिनमा आधार शिविर पुग्न सफल भएका थिए । टोलीले आधार शिविर क्षेत्रको सम्भावना, समस्या र चुनौतीका बिषयमा समुद्री सतहदेखि ४३०५ मिटरको उँचाइमा रहेको अन्नपूर्ण प्रथमको आधार शिविरमा अन्तरक्रिया समेत गरेका थिए । सम्भावनाले भरिपूर्ण नर्थ अन्नपूर्ण आधार शिविरलाई प्रचार प्रसारका माध्ययम मार्फत आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढाउन प्रवद्र्धन अभियानलाई व्यापक बनाउने टोलीले निष्कर्ष निकालेको टोलीमा सहभागी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।
‘‘नर्थ अन्नपूर्णको प्रवद्र्धनमा गाउँपालिकाबाट भएको यो पहिलो प्रयास हो, यहाँ लुकेर रहेको अथाह सम्भानालाई उजागर गर्न सके यस क्षेत्रमा पर्यटन विकासको मुल फुटाउन सकिन्छ, गाउँपालिकाले समेत यसका लागि आवश्यक योजना तयार गरिरहेको छ’’–सुवेदीले भन्नुभयो । उक्त टोलीमा सहभागीहरुले गाउँपालिकाले आधार शिविरको ४१०० मिटरमा आयोजना गरेको मैत्रिपूर्ण १०० मिटर दौड, छेलो फाल्ने र अन्धनिसान प्रतियोगितामा समेत सहभागीता जनाएका थिए । उच्च उँचाईमा आयोजित खेलकुद प्रतियोगिताले अन्नपूर्ण आधार शिविरको महत्वलाई थप उजागर गरेको अध्ययन अवलोकन टोलीले निचोड निकालेको छ ।
पदमार्ग र झोलुङ्गे पुलहरुको मर्मत सुधारका लागि गाउँपालिकाले पहल थालिसकेको छ । अहिले आधार शिविर, धरमढुंगा, भुसकेटमेला, गुफाफाँट, सांधीखर्क, हुमखोला र छोटेपा गरि ७ ठाउँमा आश्रयस्थलका पूर्वाधार तयार भएका छन् । पर्यटकहरुको आगमन बढ्ने सम्भानालाई मध्यनजर गर्दै आधार शिविर र भुसकेटमेलामा थप आश्रयस्थल निर्माण, खानेपानीको सुविधा विस्तार, मोवाईल फोनको पहुँच विस्तार लगायतका कामहरु गर्न आबश्यक रहेको नारच्याङका पर्यटन अगुवा तेज गुरुङले बताउनुभयो ।
‘‘ एकै दिनमा आधार शिविर पुग्न सकिने पूर्वाधार तयार भएको कुरा प्रचार प्रसार नहुँदा ओझेलमा परेको छ, अझैपनि पर्यटकहरु हेलिकप्टर मार्फत आधार शिविर पुग्ने गर्छन, कम्तीमा पदमार्गको प्रचार प्रसार गर्न सके पदमार्ग हुँदै आन्तरिक पर्यटकहरुको आगमन ह्वात्तै बढ्न सक्छ’’–पर्यटन व्यवसायि गुरुङले भन्नुभयो । सन १९५० जुन ३ तारिकका दिन फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुभएको थियो । हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै वि.स. २०६८ मा ‘मौरिज हर्जोग पदमार्ग’को पहिचान गरिएको थियो ।
छोटो पैदलयात्रा र सुरक्षित रुपमा सुरक्षित अन्नपूर्ण आधार शिविरमा पुग्ने पदमार्ग, झोलुङ्गे पुल, आश्रयस्थल, लगायतका पूर्वाधार बनाउन पर्यटन मन्त्रालयले रु २ करोड ८० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले रु ४० लाख बढी लगानी गरेका छन् । अन्नपूर्ण र निलगिरी हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । अन्नपूर्णको फेदीमा करिब २० हजार बर्गमिटरमा फैलिएको मनोरम पञ्चकुण्ड ताल यहाँका थप आकर्षणको रुपमा रहेको छ ।
यस पदमार्गको प्रचारप्रसारका लागि गाउँपालिकाको आयोजनामा वि.स. २०७६ मा प्रथम अन्नपूर्ण महोत्सवको आयोजना गरिएको थियो । अन्नपूर्ण आठ हजार मिटर भन्दा अग्लो पहिलो मानव पाइला परेको जेठो हिमाल हो । मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो । हर्जोगले मुस्ताङको टुकुचेबाट अग्ला हिमाली पहाड हुँदै नारच्याङको भुसकेटमेला भएर अन्नपूर्ण प्रथमको सफल आरोहण गर्नुभएको थियो । अन्नपूर्ण गाउँपालिकाले हर्जोगले हिमाल आरोहण गर्दा वास्तविक रुपमा प्रयोग गरेकै आधार शिविरमा उहाँका शालिक बनाउने योजना समेत तयार गरेको गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले जानकारी दिनुभयो । रासस
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l