अन्नपूर्ण आधार शिविरमा खेलकुद प्रतियोगिता (फोटो फिचर)

  • ७ जेष्ठ २०८०, आईतवार
  • कमल खत्री
  • 427 पटक पढिएको

कमल खत्री
बेनी ७ जेठ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको प्रचार प्रसारका लागि आधार शिविरमा विविध खेलकुद प्रतियोगिता सम्पन्न गरिएको छ । अन्नपूर्ण गाउँपालिकाले आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको प्रवद्र्धन गर्ने उदेश्यले ‘उच्च उँचाई खेलकुद प्रतियोगिता’ आयोजना गरेको हो । समुद्री सतहदेखि ४ हजार १९० मिटरको उँचाईमा शनिवार गाउँपालिकाले मैत्रीपूर्ण दौड, छेलो फाल्ने र अन्धनिसान प्रतियोगिता सम्पन्न गरेको छ । अन्नपूर्ण हिमालकै फेदीमा आयोजित १ सय मिटर दौड प्रतियोगितामा पत्रकार, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, पर्यटनकर्मी, लगायत गरि ३० जनाले सहभागीता जनाएका थिए ।
प्रतियोगितामा सन्दिप शर्मा रिजाल प्रथम, यामप्रसाद पुर्जा पुन द्धितिय र विष्णु प्रसाद रिमाल तृतिय हुन सफल भएका छन् । त्यसैगरि छेलो फाल्ने प्रतियोगितामा सबैभन्दा टाढा छेलो फालेर यामप्रसाद पुर्जा पुन बिजयी हुन सफल हुनुभयो । दौडतर्फ प्रथम, द्धितिय र तृतिय हुन सफललाई क्रमशः नगद रु तीन हजार, दुई हजार र एक हजार तथा छेलो फाल्नेमा बिजेतालाई नगद रु ३ हजार सहित दोसल्ला र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय हुनेहरुलाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, वडा नम्बर ४ नारच्याङका वडा अध्यक्ष लोक बहादुर फगामी, वडा नम्बर ७ का अध्यक्ष मइलन पुर्जा, वडा नम्बर ८ का अध्यक्ष खमबहादुर गर्वुजा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
सन १९५० जुन ३ तारिकका दिन फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुभएको थियो । हिमालका प्रथम आरोहीको नामबाट नामाकरण गरिएको पदमार्गको प्रचार प्रसारका लागि आधार शिविरमा खेलकुद प्रतियोगिता सम्पन्न गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।
आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रको प्रचार प्रसार र पदमार्गको प्रवद्र्धनका लागि आयोजित उक्त खेलकुद प्रतियोगितामा सहभागी हुन जनप्रतिनिधि, कर्मचारी, पर्यटनकर्मी र पत्रकारहरुको टोली पैदलयात्रा मार्फत आधार शिविर पुगेका थिए ।
अन्नपूर्ण हिमाल आठ हजार मिटर भन्दा अग्लो हिमालहरु मध्येमा पहिलो मानव पाइला परेको जेठो हिमालको रुपमा परिचित छ । हिमालको प्रथम आरोही हर्जोगको नामबाट नामाकरण गरिएको नारच्याङ हुँदै आधार शिविर पुग्ने पदमार्ग, आश्रयस्थल, पुल लगायतका पूर्वाधार निर्माण भैसकेकाले यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन गाउँपालिकाले प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।
नारच्याङ हुँदै–छोटेपा–हुमखोलासम्म २० किलोमिटर दुरीमा सडकको ट्याक निर्माण भएको । हुमखोलादेखि आधार शिविर सम्मको २२ किलोमिटर दुरीमा पदमार्ग, आश्रयस्थल लगायतका पर्यटन पूर्वाधार निर्माण भएपछि नर्थ अन्नपूर्ण आधार शिविर क्षेत्रमा गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि एकैदिनमा पुग्न सकिने भएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l