पोखरेबगर–चित्रे सडक कालोपत्रे गर्न सुरु

  • २ जेष्ठ २०८०, मंगलवार
  • 396 पटक पढिएको

 

म्याग्दी, २ जेठ । म्याग्दीको प्रमुख पर्यटकियस्थल घोडेपानी जोड्ने अन्नपूर्ण गाउँपालिका वडानम्वर ६ पोखरेबगर हुँदै घार र वडानम्वर ५ को शिख– चित्रे सडकमा कालोपत्रे गर्न थालिएको छ। मार्ग खुलेको करिब १५ बर्षपछि अठार किमि पाँच सय ४० मिटर दुरीको अन्नपूर्ण गाउँपालिकाको पोखरेवगर– शिख– चित्रे सडक अन्तरगत शिखको मुलपानीमा कालोपत्रको काम सुरु गरिएको हो ।

आयोजनाका ईन्जिनियर विवेक पौडेलले सडक विस्तार, नाली, पर्खाल निर्माण लगायत संरचना बनाउने, बेस, सव बेस राख्ने काम सकिएपछि कालोपत्र गर्न थालिएको बताए । खिवाङ–शिख खण्डमा प्राईमकोड विछ्याउने काम भैरहेको छ, अर्को घार खण्डमा र त्यसपछि फलाते–चित्रे खण्डमा प्राईमकोर्ड बिछ्याउने योजना रहेको इञ्जिनियर पौडेलले भने । ‘प्राईमकोर्ड राखेपछि दुई चरणामा डिविएसडी प्रविधिको कालोपत्र हुन्छ।’

यो सडकलाई २०७७ जेठ मा काम सक्ने सम्झौतासहित कालोपत्रे गर्नका लागि २०७५ साल मंसिरमा ठेक्का सम्झौता गरिएको थियो । यो आयोजनाको निर्माणका लागि मोतीदान– जयमाता जेभीले रु. २७ करोड ९१ लख ३५ हजारमा ठेक्का लिएको थियो । राष्ट्रिय पुननिर्माण प्राधिकरण खारेज भएपछि सहरी विकास मन्त्रालयले पूर्वाधार विकास कार्यालय कास्कीलाई हस्तान्तरण गरेको थियो । निर्माण ब्यावसायिले पर्याप्त मजदुर र उपकरण परिचालन गर्न नसक्नु, कमजोर भूवनोट, प्राकृतिक विपत्ति, कोरोना महामारी लगायत कारणले लक्ष्य भन्दा तीन बर्षपछि कालोपत्रेको लागि काम अघि बढाएको छ।

अन्नपूर्ण गाउँपालिका– ५ का वडाअध्यक्ष राजेश तिलिजाले शिख र घारका दुई हजार पाँच सय घरधुरी र दैनिक संयौको संख्यामा गाडी तथा मोटरसाईकलमा घोडेपानी जाने आउने पर्यटकलाई यो सडकले सुविधा पुग्ने बताए । यो सडक म्याग्दीको प्रसिद्ध पर्यटकियस्थल घोडेपानी–पुनहिलमा आउने पर्यटकको आगमनलाई सहज बनाउने, शिख र घारका स्थानीयबासीलाई आवतजावत साथै ढुवानी तथा कृषि, पशु र वनजन्य उत्पादन निकासीमा सहयोग पुग्ने अपेक्षा अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतबहादुर पुन ( भारत) ले अपेक्ष गरेका छन् । तस्विर : सुरेन गुरुङ ।