नवनियुक्त मन्त्री जुग्जालीद्धारा प्रादेशिक सडक सञ्जालको गुरुयोजना बनाउने निर्णयमा हस्ताक्षर

  • २९ बैशाख २०८०, शुक्रबार
  • 359 पटक पढिएको

म्याग्दी २९ वैशाख । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली (सुविन) ले पदभार ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री पदमा नियुक्त गरेलगत्तै पद तथा गोपनियताको सपथ ग्रहण सहित मन्त्री जुग्जालीले पदभार ग्रहण गर्नुभएको हो । म्याग्दी प्रदेश सभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य जुग्जाली दोस्रो पटक मन्त्री बन्नुभएको हो । एमाले नेतृत्व सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका जुग्जालीले छोटो अवधिमै नीतिगत सुधार, सुशासन र योजना कार्यान्वयमा देखाउनुभएको कार्यकुसलताकै कारण माओवादी केन्द्रबाट नेतृत्व गर्दै पुनः मन्त्री बन्ने अवसर पाउनुभएको हो ।
प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री जुग्जालीले आज मन्त्रालयमा पदभार ग्रहण गर्दै प्रादेशिक सडक सञ्जालको गुरुयोजना बनाउनका लागि प्राविधिक समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो । पूर्वाधार विकास निर्देशनालयका निर्देशक राम पराजुलीको संयोजकत्वमा रहेको समितिले अध्ययन गरेर ४५ दिनभित्र गुरुयोजनाको खाका मन्त्रालयमा बुझाउनेछ । समितिमा मन्त्रालयका योजना हेर्ने महानिर्देशक तथा जिल्लास्थित पूर्वाधार विकास कार्यालयका प्रमुखहरु सदस्य रहने मन्त्रालयका सचिव इन्जिनियर तुलसीराम भट्टराईले बताउनुभयो ।
प्रादेशिक सडकहरुलाई व्यवस्थित गर्नका लागि गुरुयोजना बनाउन लागिएको मन्त्री जुग्जालीले बताउनुभयो ।

सडक निर्माण, मर्मत, सुधार, स्तरोन्ति तथा यातायातको पहुँचको अवस्था र पुनर्निर्माण गर्नुपर्ने सडकको माग संकलन, सडक यातायातसँग सम्बन्धित आवश्यक सेवा तथा सुविधाका लागि गुरुयोजनाले सहयोग पुग्ने बताइन्छ । प्रदेश सरकार अन्तर्गत रहेका प्रादेशिक सडक सञ्जालको गुरुयोजना निर्माणका लागि प्राविधिक समिति गठन गर्ने दीर्घकालिन महत्वको निर्णय गर्नुभएका मन्त्री जुग्जालीले गुरुयोजना पछि प्रदेश भित्रको सडक तथा यातायात क्षेत्रको योजना बनाउन, सडक मर्मत सम्भार तथा प्राथमिकिकरणका लागि सहयोग पुग्ने बताउनुभयो ।  पदवहालीपछि मन्त्रालयहरुमा कर्मचारीलाई निर्देशन दिँदै मन्त्री जुग्जालीले जनताका आवश्यकतालाई पूरा गर्ने गरी विकास निर्माण अघि बढाइने बताउनुभयो । पूर्वाधार क्षेत्रको विकासबाट मात्र देशको समृद्धि हुने भएकाले भौतिक पूर्वाधार मन्त्रालयको ठूलो जिम्मेवारी रहेकाले इमानदारीपूर्वक काम गर्न उहाँले कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।