दन्तेलहर हिमालको अवलोकन गर्न ‘मोहरेडाँडा’मा पर्यटक बढे

  • २८ बैशाख २०८०, बिहीबार
  • 413 पटक पढिएको

बेनी, २८ बैशाख । घना जंगलको शीरमा रहेको धुरीबाट दन्तेलहर जस्तै हिमालहरु देखिन्छन् । समुन्द्र सतहदेखि तीन हजार ३१३ मिटर उचाईमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा अवस्थित ‘मोहरेडाँडा’ बाट देखिने हिमशृङ्खलाको यो दृष्यले पर्यटकहरुलाई मोहनी लगाउने गरेको छ । दर्जन बढी हिमालहरुलाई एउटै प्राकृतिक भ्यू पोइन्टबाट अवलोकन गर्न सकिने भएकाले पछिल्लो समय मोहरेडाँडाको अवलोकनका लागि जाने पर्यटकहरुको संख्या ह्वात्तै बढेको छ । वरीपरि गुँरासे जंगल भएकाले चैत–वैशाखको यो सिजनमा मोहरेडाँडा क्षेत्र रंगीविरङ्गी गुँरासका फुलले चिटिक्क सजिएको छ ।
अभियान्ता डाक्टर महाविर पुनको अगुवाईमा सन २०११ देखि सञ्चालनमा रहेको अन्नपूर्ण –धौलागिरि सामुदायिक पदमार्गले समेटिएको मोहरेडाँडामा आन्तरिक संगै बाह्य पर्यटकहरुको समेत आकर्षण बढेको मोहरेडाँडामा सञ्चालित सामुदायिक लजका व्यवस्थापक नविन पुनले बताउनुभयो । ‘‘ यहाँ आउने पर्यटक लोभिएर फर्कने गर्छन, प्राकृतिक सुन्दरताको छटासंगै रमाउँदा यहाँ आउने जो कोहि पनि आफुलाई गौरव ठान्ने गर्छन, पर्यटकको चापले पर्यटन सिजनमा पर्यटकको भार थेग्न मुस्किल हुन थालेको छ’’–पुनले भन्नुभयो ।
पर्यटकको सुविधाका लागि मोहरेडाँडामा रहेको सामुदायिक लजको क्षमता विस्तार गरिएको छ । सुरुवातमा २० बेड क्षमताको लजमा अहिले पूर्वाधार थप गरेर ८० बेड पु¥याइएको छ । पदयात्राका लागि आन्तरिक पर्यटकहरुको रोजाइको गन्तव्य बन्न थालेको मोहरेडाँडामा फ्रान्स, जर्मनी, अमेरीका, रसिया, अष्ट्रेलिया, कोरिया लगायतका देशबाट समेत उल्लेख्य मात्रामा पर्यटक आउने गर्छन् । घना जंगल र अग्ला पहाड भएर तयार भएको यस क्षेत्रको पदयात्रालाई पर्यटकहरुले ‘साहसिक’ पदयात्राका रुपमा लिने गर्छन् ।
पहिलो पटक मोहरेडाँडा पुग्नुभएका काठमाण्डौका सुरज बज्राचार्यले प्राकृतिक भ्यू पोइन्टका रुपमा रहेको मोहरेडाँडाको सुन्दरताले आफु लोभिएको बताउनुभयो । ‘‘घना गुँरासे जंगलको यात्रा निकै रोमाञ्चकृत हुँदो रहेछ, प्राकृतिक छटाले यहाँ आउँदा हुने सबै दुख बिर्साइदिँदो रहेछ, अन्नपूर्ण र धौलागिरि रेञ्जका दन्तेलहर हिमाललाई एकैठाउँबाट नियाल्नुको मज्जा नै छुट्टै भएको अनुभुति भएको छ’’–उहाँले भन्नुभयो ।
यस डाँडाँबाट धौलागिरि, गुर्जा, चुरेन, मानापाथी, टुकुचे, निलगिरी, अन्नपूर्ण, मार्दी, मनास्लु, माछापुच्छ«े लगायतका करिब दुई दर्जन हिमाललाई अवलोकन गर्न सकिन्छ । डाँडाबाट हिमाल र सूर्योदयको दृष्यले आफुलाई मोहित तुल्याएको पोखराबाट भ्रमणमा आउनुभएका महेश पुनले बताउनुभयो । हिमालसंगै यहाँबाट पोखरा, फेवाताल संगै म्याग्दी, पर्वत र बागलुङका समेत भू–भागलाई अवलोकन गर्न सकिन्छ । हिमशृङ्खलाको अवलोकन, ग्रामिण जिवनशैलि, रहनसहन र परम्परागत पशुपालन, कृषि समेत यहाँका थप आकर्षण हुन् । यस क्षेत्रमा गरिने घुम्ती चौरी पालन समेत पर्यटकहरुको अवलोकनको रोजाईमा पर्ने गर्छ । बस्तीदेखि टाढा र घना जंगलको शीरमा रहेको मोहरेडाँडामा विद्युतका लागि सोलार जडान गरिएको छ ।
यहाँ खानेपानीको मुल नभएकाले जंगलमा रहेका मुलबाट खच्चड मार्फत पानी ल्याएर प्रयोग गरिन्छ । क्षमता भन्दा बढी पर्यटकहरु आउँदा मुख्यगरि खानेपानीको अभाब हुने गरेको लजका सञ्चालक पुन बताउनुहुन्छ । मोहरेडाँडाको भ्रमणका लागि म्याग्दीको बेनीबाट नागी र राम्चे हुँदै आलडाँडा भएर मोहरे, कास्कीको नयाँपुल–उल्लेरी–वनठाँटी–कोखे हुँदै मोहरे, बेनीबाट घोरेपानी–पुनहिल हुदै मोहरे र पर्वतको मिलनचोक–सालिजा–जलजला– हप्पाल हुँदै मोहरेमा पर्यटक पुग्ने गर्छन् । पछिल्लो समय पुनहिलदेखि मोहरे जोड्ने गुँरास पदमार्ग भएर धेरै पर्यटकहरु मोहरेडाँडा क्षेत्रको भ्रमणमा जाने गरेका छन् । रासस