विकासमा ओझेलमा परेको गुर्जाः ‘मोटर चढ्ने गुर्जालीको धोको’ कहिले हुन्छ पुरा ?

  • २२ बैशाख २०८०, शुक्रबार
  • 357 पटक पढिएको

कमल खत्री
बेनी, २२ वैशाख । धवलागिरि गाउँपालिका–१ गुर्जाका ८३ बर्षिय खिमबहादुर छन्त्याललाई गाउँबाटै मोटर चढेर सदरमुकाम पुग्ने थोको छ । जीवनका आरोह अवरोध संघर्षपूर्ण तवरले विताउनुभएका छन्त्याल युवा अवस्थामा देश तथा विदेशमा समेत पुग्नुभयो । विदेशको विकासको समेत अनुभूति सङ्गाल्नुभएका छन्त्यालले आफ्नै गाउँमा समेत विकासका पूर्वाधार बन्न थालेपछि गाउँबाटै मोटर चढेर सहर पुग्ने रहर जागेको बताउनुभयो ।


जिल्लाको सबैभन्दा दुर्गम बस्तीको रुपमा परिचित गुर्जा जिल्लाको एक मात्रै सडक सञ्जालको पहुँच नपुगेको वडा हो । विकासमा ओझेलमा परेको गुर्जाका स्थानीयमा पछिल्लो समय विकासको प्रमुख आधार मानिएको सडक सञ्जालको पहुँच निर्माण गर्ने योजना गढेको छ । यहाँबाट गाउँपालिकाको केन्द्र मुना पुग्न एक दिनको पैदलयात्रा गर्नुपर्छ । पौढ र युवायुवतिहरु गुर्जादेखि पैदल यात्रा गरि सहजै गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम बेनी आवत–जावत गर्न सक्ने भएपनि बालबालिका र बृद्धबृद्धाहरुलाई भने यात्रा गर्न सहज छैन् ।
‘‘उमेरमा त सयौँ पटक ओहोर–दोहोर ग¥यौ, पहिले कतैपनि सडक थिएन, हामीले पनि आसा गर्ने कुरा भएन, अहिले गाउँपालिकाको केन्द्रबाट छिमेकी गाउँ लुलाङसम्म सडक आयो भन्ने सुनेका छौँ, हाम्रै पालामा गाउँमा मोटर आउँछ की भन्ने भरोसा थपिएको छ’’–गुर्जाका बृद्ध दलबहादुर छन्त्यालले भन्नुभयो । यातायातको पहुँच नपुगेको कारण यहाँ खाद्यान्न ढुवानीमा खच्चड र मानिसले नै सामान बोक्दै आएका छन् । लुलाङदेखि गुर्जासम्म खच्चडमा प्रतिकिलो सामान ढुवानीको रु २० लागत पर्छ । ढुवानी बढी लाग्ने भएकाले यहाँका स्थानीय महङ्गीको मारमा समेत छन् ।
खाद्यान्न लगायतको सामाग्रीहरु खच्चडमा नै ढुवानी हुने र खच्चडले बोक्न नमिल्ने रड, जस्तापाता, पाईप लगायतका सामान मानिसले बोकेर लैजाने गरेको विगत एक दशकदेखि खच्चडमा सामान ढुवानी गराउँदै आउनुभएका युवा लोकबहादुर रसाईलीले जानकारी दिनुभयो । भारी बर्षा हुने बर्खा र हिमपात हुने हिउँदका केहि महिना खच्चडलाई सामान बोकाउन नमिल्ने भएकाले उक्त समयमा गाउँमा खाद्यान्न लगायतका सामान ढुवानी ठप्प हुने गर्छ ।


सडक नपुगेको कारण स्थानीय स्वास्थ्य संस्थामा उपचार गराउन सम्भव नहुने विरामीहरुलाई डोको र पिठ्युमै बोकेर सदरमुकामको अस्पतालतर्फ लैजानुपर्ने बाध्यता रहेको स्थानीय धनबहादुर छन्त्यालले बताउनुभयो । ‘‘सडक नहुँदा ठूलो समस्या छ, विरामी हुँदा पैसा जोहो गर्न सक्नेले हेलिकप्टर मार्फत अस्पताल लैजाने गर्छन, पैसा जुटाउन नसक्नेहरु कि घरमै थला परेर बस्नुपर्छ, कि त भने बोकेरै लैजानुपर्छ’’–उहाँले भन्नुभयो । एक गाउँ एक वडाको रुपमा रहेको गुर्जामा २७० घरधुरी रहेका छन् । दलित र छन्त्याल दुई समुदायको मात्रै बसोबास रहेको गुर्जामा तत्कालिन समयमा खानी खन्ने क्रममा बसोबास रहन गएको पाइन्छ ।


विगतमा गाउँपालिकाको केन्द्र मुना सम्म नै पैदल यात्रा गर्दै आएका गुर्जालीलाई यो बर्ष करिब साढे एक घण्टाको पैदलयात्रा छोटिएको छ । मुनादेखि खोरिया हुँदै वडा नम्बर २ को लमसुङ पुगेको सडक लुलाङ गाउँसम्म पुगेको छ । लुलाङदेखि गुर्जा ६ देखि ८ घण्टाको पैदलयात्राको हो । सडक सञ्जाललाई गाउँ सम्म नै पु¥याउने हरेक गुर्जालीको सपना बनेको छ । यस बर्ष गाउँपालिकाले विनियोजन गरेको रु ४५ लाख बजेटबाट लुलाङसम्म सडकको ट्याक निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार, उक्त बजेटमध्ये २० लाख बजेटबाट ट्याक निर्माण गरिएको हो भने अरु बजेट सडकको संरक्षणका लागि ग्याविन जाली लगाउने, मेसिनरी पर्खाल बनाउने लगायतको क्षेत्रमा उपयोग गरिएको छ ।

लमसुङ गाउँको शिरमा भने पहिरोको जोखिम कम गर्न १२० मिटर सडक मानिसहरुले नै मेसिन नलगाईकन सडक खनेका हुन् । लमसुङदेखि लुलाङसम्म करिब २ किलोमिटर २ सय मिटर सडकको ट्याक निर्माण भएको छ । गण्डकी प्रदेश सरकार मार्फत विनियोजन भएको रु ८० लाख बजेटबाट लुलाङदेखि गुर्जातर्फ सडकको ट्याक निर्माण गर्न परिचालन गरिने भएको छ । नयाँ ट्याकलाई स्तरीय बनाउने र गुर्जालाई सडक सञ्जालले जोड्ने योजनालाई गाउँपालिकाले प्राथमिकतामा राखेको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले बताउनुभयो । ‘‘प्रदेशबाट आएको बजेटलाई पति तत्काल कार्यान्वयनमा लैजान्छौँ, आगामी बर्ष गाउँपालिका, प्रदेश र सङ्घीय सरकार मार्फत समेत प्रयाप्त बजेटको व्यवस्थापन गर्नतर्फ अहिलेदेखि नै प्रयास थालेका छौँ, गुर्जामा सडकको पहुँच पु¥याउने पालिकाको पूर्वाधार योजनाको मुख्य प्राथमिकतामा छ’’–उपाध्यक्ष पुनले भन्नुभयो ।
लुलाङदेखि गुर्जासम्म सडक सञ्जालको ट्याक निर्माण गर्न करिब ७ करोडको बजेट अनुमान गरिएको छ । सडकको दुरी छोट्याउन सुरुङमार्गको समेत सम्भाव्यता अध्ययन गरिएको भएपनि लागत बढी लाग्ने भएपछि सडकको ट्याक निर्माणलाई नै जोड दिएर योजना सञ्चालन गरिएको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । योजनाको डिपिआर तयार गर्दा लुलाङदेखि गुर्जा सम्मको सडकको दुरी १६ किलोमिटर कायम हुने अनुमान छ । पहाडी भिर हुँदै करिब ३ हजार ३ सय मिटर उचाईको देउराली डाँडा भएर सडक निर्माण गर्नुपर्ने भएकाले सडक निर्माणमा लागत बढी र काम चुनौतिपूर्ण मानिएको छ ।


लुलाङ–गुर्जा सडकलाई डोल्पाको दुनै सम्म जोड्ने गरि अघि सारिएको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो । गुर्जाबाट रुकुमको पुथा उत्तरगंगा गाउँपालिका हुँदै डोल्पाको दुनै सम्म सडक विस्तार गर्न सकेमा कर्णाली –लुम्बिनी–गण्डकी–बागमती प्रदेश जोड्ने छोटो दुरीको राजमार्गकै रुपमा यसलाई विकास गर्न सकिने वडा अध्यक्ष छन्त्याल बताउनुहुन्छ । ‘‘गुर्जादेखि डोल्पासम्मको दुरी जम्मा ९० किलोमिटरको रहेको छ , समग्र काठमाण्डौ देखि डोल्पासम्म पाँच सय किलोमिटर भन्दा छोटो पर्छ, यो सडक निर्माण गर्दा वातावरणीय रुपमा कम क्षति र पर्यटकीय दृष्टिकोणमा समेत उच्च लाभदायि बन्न सक्छ’’– वडा अध्यक्ष छन्त्यालले भन्नुभयो । यो योजनालाई धवलागिरि गाउँपालिकाको गाउँसभाले समेत अपनत्व लिएर संघीय र प्रदेश सरकारमा आवश्यक बजेटका लागि योजना माग गरिसकेको छ । रासस