८४ बर्षमा धौलागिरि हिमालको कीर्तिमानी आरोहण गर्दै स्पेनका कार्लोस

  • ११ बैशाख २०८०, सोमबार
  • 427 पटक पढिएको

कमल खत्री
बेनी, ११ वैशाख । उमेरले ८४ बर्ष पुग्नुभएका स्पेनका अनुभवी पर्वतारोही कार्लोस सोरिया संसारको सातौँ अग्लो धौलागिरि हिमालमा कीर्तिमानी आरोहणको तयारीमा हुनुहुन्छ । म्याग्दीको धौलागिरि गाउँपालिका ४ मुदीमा अवस्थित ८ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहण गर्न कार्लोसको आरोहण दलको समूह १० दिनदेखि आधार शिविरमा छन् ।
धौलागिरिको कीर्तिमानी आरोहणको लागि कार्लोसको यो ११ औँ पटकको प्रयास हो । बृद्ध उमेरमा समेत धौलागिरि हिमालको चुचुरोमा पुग्ने धोको पुरा नभएपनि कार्लोस अथक प्रयासमा जुट्नुभएको छ । कार्लोसको धौलागिरि आरोहणको व्यवस्थापन सेभेन समिट ट्रेक्सले गरेको छ । आरोहण व्यवस्थापनको तर्फबाट मिङतेम्बा शेर्पाले कार्लोसको धौलागिरि आरोहण दलको नेतृत्व गर्नुभएको छ ।
तीन स्पेनीस आरोही र सेभेन समिटका आरोहण व्यवस्थापक समेत गरि २५ जनाको टोली अहिले आधार शिविर क्षेत्रमै अनुकुल मौसमको पर्खाइमा रहेको सेभेन समिटका प्रबन्धक थानेश्वर गुरागाईँले जानकारी दिनुभयो । ‘‘ टोली आधार शिविर पुगेको १० दिन भयो, तर अहिलेसम्म आरोहण सुरु गर्ने अनुकुल मौसम नै भएको छैन, धौलागिरि आसपासमा निरन्तर हिमपात भैरहेको छ, मौसममा सुधार हुनेवित्तिकै कार्लोसको कीर्तिमानी आरोहणको यात्रा सुरु हुन्छ’’–उहाँले भन्नुभयो ।
गत बर्ष समेत आरोहणका लागि धौलागिरिको पहिलो क्याम्प सम्म पुगेर प्रतिकुल मौसमका कारण आरोहण स्थगित गरेर फर्कनुभएका कार्लोसले यस पटक आफ्नो कीर्तिमानी आरोहणलाई पुरा गर्ने संकल्प गर्नुभएको छ । ६० बर्ष उमेर पुगेपछि ८ हजार मिटर भन्दा अग्ला १० हिमाल आरोहण गर्ने एक मात्रै आरोही बनिसक्नुभएका कार्लोसले धौलागिरि आरोहण गरेमा सबैभन्दा ज्येष्ठ उमेरमा विश्वका १४ हिमाल आरोहणको कीर्तिमानी बनाउनुहुनेछ ।

एक महिनाअघि स्पेनदेखि नेपाल आउनुभएका कार्लोसले दुई हप्ता बढी समय खुम्बु क्षेत्रमा पूर्व अभ्यास स्वरुप ट्रेकिङ् गर्दै बिताउनुभएको थियो । धौलागिरि आरोहणको पूर्वतयारी स्वरुप सगरमाथा, ल्होत्से र आमा डम्लम लगायतका हिमालको फेद रहेको खुम्बु उपत्यकामा १७ दिन बिताएपछि काठमाण्डौ फर्किएको कोर्लोसको टोली यतिबेला धौलागिरि आधार शिविरमा छन् । धौलागिरि हिमालको आधार शिविरतर्फ प्रस्थान गर्नुअघि सामाजिक सञ्जाल फेसबुकबाट कार्लोसले खुम्बु क्षेत्रको हिमाली चुचुराहरुमा गरेको आरोहण अभ्यासले यस पटक धौलागिरिको आरोहण सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । कार्लोसले सन् १९९८ मा पहिलो प्रयास धौलागिरिको आरोहण गर्ने प्रयास गर्नुभएको थियो । सबैभन्दा बृद्ध उमेरमा १४ वटा हिमाल आरोहणको कीर्तिमान राख्न कार्लोसले धौलागिरि र तिब्बतको सीसापाङ्माको चुचुरो चुम्न मात्र बाँकी छ ।

कार्लोसले ६२ वर्षको उमेरमा सगरमाथा, ७५ वर्षको उमेरमा कंचनजंघा र ७७ वर्षको उमेरमा अन्नपूर्ण हिमालको आरोहण गर्नुभएको थियो । कार्लोसको धौलागिरी हिमाल आरोहणको मोहले धौलागिरि हिमालको महत्वलाई बढाएको बताउँदै उहाँको आरोहण सफल भएमा यसले धौलागिरि हिमाललाई थप प्रचार प्रसार गर्न सघाउने र यस क्षेत्रको पर्यटकीय सम्भावना उजागरमा टेवा पुग्ने धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले बताउनुभयो ।