वालिकाको उपचारका लागि सहयोग

  • ८ बैशाख २०८०, शुक्रबार
  • 249 पटक पढिएको

बेनी, ८ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ बुलकी मनिता श्रीपालीको उपचारका लागि शुक्रबार आर्थिक सहयोग गरेको छ ।
गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कदम र संगम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजना मार्फत एपेण्डीसाइटिसको उपचारका लागि सहयोग गरिएको हो । 
पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एपेण्डीसाइटिसको शल्यक्रिया गराउनुभएकी श्रीपालीलाई कागजात र बिलको आधारमा जटिल प्रकृतिको उपचार वापत रु. १६ हजार ३०९ उपलब्ध गराइएको कदम म्याग्दीका जनस्वास्थ्य अधिकृत निरमाया मिजारले जानकारी दिनुभयो ।


स्वास्थ्य र सरसफाईको गतिबिधि सञ्चालन गर्ने परियोजनाको साझेदारी संस्था कदम म्याग्दी मार्फत सहयोग हस्तान्तरण गरिएको हो । कदम म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेल र गुड नेवर्स ईन्टरनेशनल नेपाल जिल्ला कार्यालयका बाल संरक्षण अधिकृत सुर्यमान नगरकोटीले सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।
धवलागिरी गाउँपालिका, मालिका गाउँपालिकाको वडा नम्बर २ रुम, ३ डाडागाउँ र ४ ओखरबोटमा सञ्चालन भएको परियोजना मार्फत एक हजार ७५३ जना बालबालिकाहरुलाई स्पोन्सरसीप सेवामा समावेश छन् ।
स्पोन्सरसीप सेवामा समावेश भएका बालबालिकाहरुको वर्षको १ पटक अनिवार्य स्वास्थ्य परिक्षण गर्दै आएको छ । यसैगरी स्पोन्सरसी सेवामा समावेश बालबालिकाहरुको आकष्मिक र जटिल प्रकृतिको उपचार गर्नुपर्ने अवस्था आएमा परियोजनाबाट रु. ५० हजार बराबरको उपचार खर्च सहयोग गर्न सकिने व्यवस्था रहेको छ ।