एमाले म्याग्दीको ‘मिसन ग्रासरुट’ अभियानको समिक्षा पालिकास्तरमा

  • ६ बैशाख २०८०, बुधबार
  • 249 पटक पढिएको

 

म्याग्दी, ६ बैशाख । नेकपा एमाले जिल्ला कमिटी म्याग्दीले संचालन गरेको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत स्थानीय तहको समीक्षा सुरु भएको छ । गत फागुन महिनाको पहिलो सातादेखि म्याग्दीमा सुरु भएको मिसन ग्रासरुट अभियानको बारेमा वडा र टोलस्तरमा भएका गतिविधिबारे नेता र कार्यकता मार्फत पालिकास्तरको समीक्षा संचालन गरेको हो ।

यसैक्रममा सोमबार मंगला गाउँपलिकाको बावियाचौरमा र मंगलबार मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा एमालेको मिसन ग्रासरुटको पालिकास्तरीय गरिएको थियो । मिसन ग्रासरुटको समीक्षा कार्यक्रमलाई एमालेको केन्द्र, प्रदेश, जिल्ला र पालिकास्तरका नेताहरुले सम्बोधन र रिपोर्टिङ गरेका छन् ।

मालिकामा आयोजित मिसन ग्रासरुट अभियानको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रमोहन गौचनले दुर्गमका वडा, टोल र वस्तीस्तरमा पुगेर पार्टीको नीति, सिद्धान्त एवं सरकारमा रहँदा गरेका कामहरुको बारेमा जानकारी गराउँदै जनताको समस्या, अपेक्षा र गुनासाहरु सङ्कलन गरेको बताउनुभयो । मिसन ग्रासरुट कार्यक्रम अन्तरगत म्याग्दीमा प्रतिनिधिका रुपमा खटिएका गौचनले ग्रासरुट अभियानले जनताका वास्तविक मुद्दाको पहिचान गर्न सहयोग पुगेको बताउदै आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउन सहयोग पुग्ने उद्घोष गर्नुभयो ।

समिक्षा कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले जनताको सरोकारका प्रश्नलाई केन्द्रविन्दुमा राखेर पार्टीलाई बलियो बनाउने गरी मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले जनताका समस्याहरु सङ्कलन गरी समाधानतर्फ अगाडि बढ्ने पार्टीको अभियान समेत रहेको बताउनुभयो ।

एमाले गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले निर्वाचनपछि नेताहरु गाउँ फर्कदैनन् भन्ने जनअपेक्षालाई मिसन ग्रासरुटले परिवर्तन गरेको बताउँदै आउँदो निर्वाचनबाट म्याग्दीमा पुन: एमालेको उदय हुने बताउनुभयो । कार्यक्रममा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य देवबहादुर घले, एमाले म्याग्दीका उपसचिव थमसरा पुन, जिल्ला कमिटी सचिवालय सदस्य एवं प्रदेश समन्वय कमिटी क्षेत्र (ख)को संयोजक खरमाया बिटालुलगायत नेताहरुको सहभागिता रहेको थियो । पालिकास्तरको समिक्षामा कार्यक्रममा वडा कमिटीका अध्यक्षहरुले वडा, टोल र वस्तीस्तरमा भएका मिसन ग्रासरुटसम्बन्धी कार्यक्रमबारे रिपोर्टिङ गरेका थिए ।