ज्ञानोदय माविमा विद्यार्थी भर्ना अभियान सुरु,पुरस्कार वितरण तथा सम्मान

  • ३ बैशाख २०८०, आईतवार
  • 237 पटक पढिएको

म्याग्दी ३ बैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको सुभारम्भ संगै विद्यार्थीहरुलाई पुरस्कार वितरण र विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिएको छ । आईतवार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच नयाँ शैक्षिक सत्रको लागि विद्यार्थी भर्ना अभियान सूरु गरिएको हो । कार्यक्रममा गत शैक्षिक सत्रको बार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ ।


कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी हाल अमेरिकामा रहनुभएका विशाल हमालले स्थापना गर्नुभएका विशाल हमाल छात्रवृत्ति कोषबाट बालकक्षादेखि कक्षा ९ सम्मका उत्कृष्ट विद्यार्थी सबै र तहगत रुपमा उत्कृष्ट शिक्षक र विपन्न परिवारका विद्यार्थीहरुलाई नगद पुरस्कार र प्रोत्साहन प्रदान गरिएको थियो ।
कार्यक्रममा विशाल हमाल छात्रवृत्ति कोषबाट विभिन्न विधामा २५ हजार ५ सय नगद पुरस्कार वितरण गरिएको थियो । उक्त पुरस्कार छात्रवृत्ति कोषका स्थापनाकर्ता हमालकी आमा एवम् विद्यालय व्यवस्थापन समितिका सदस्य कमला केसीले प्रदान गर्नुभएको थियो ।


कार्यक्रममा विद्यालयको तर्फबाट बार्षिक परिक्षामा हरेक कक्षामा प्रथम, द्धितिय र तृतिय हुन सफल विद्यार्थीहरुलाई स्टेशनरी सामाग्रीद्धारा पुरस्कृत गरिएको थियो । विद्यालयले विद्यालयको, आर्थिक, शैक्षिक तथा भौतिक विकासमा सहयोग गर्ने बान्द्रपाखा महिला सामुदायिक वन उपभोक्ता समूह, मौवाफाँटमा रहेका विभिन्न आमा समूहहरु, संघ संस्था, पूर्व विद्यार्थी तथा गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदी लगायतलाई प्रसंसापत्रद्धारा सम्मान गरिएको थियो ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदी, विद्यालयका सल्लाहकार जयराम सुवेदी, प्रअ विजय शर्मा लगायतले पुरस्कार तथा सम्मान गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदीको अध्यक्षता, प्रअ शर्माको स्वागत र शिक्षक दुर्गादक्त रिजालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।