नेपाली नयाँ बर्ष २०८०: म्याग्दीका पर्यटकीय स्थलमा पर्यटकको चहलपहल

  • ३० चैत्र २०७९, बिहीबार
  • 418 पटक पढिएको

बेनी, १ वैशाख : म्याग्दीका पर्यटकीय स्थलहरु नेपाली नयाँ बर्ष वि.स. २०८० मनाउनका लागि आन्तरिक पर्यटकहरुले भरीभराउ बनेका छन् । विद्यालय तहको बार्षिक परिक्षा सकिएर विदा भएको र लगातार दुई दिन सार्वजनिक बिदा भएको कारण जिल्लाका पर्यटकीय स्थलहरुमा नयाँ बर्षलाई उत्सवका रुपमा बनाउन आन्तरिक पर्यटकहरुको चहलपहल बढेको हो ।
नयाँ बर्ष मनाउनका लागि म्याग्दीका चर्चित पर्यटकीय स्थलहरु घोरेपानी, पुनहिल, मोहरेडाँडा, खोपारा, स्वर्गाश्रम, बेलढुंगा, रुइसे, गाजने, टोड्के लगायतका स्थलहरुमा आन्तरिक पर्यटकहरुको आगमन बढेको छ । पर्यटकहरको लागि उपयुक्त मौसम भएकाले अन्नपूर्ण हिमाल र धौलागिरी हिमालमा आरोहणका लागि विदेशी पर्यटकहरुको आवत जावत समेत बढेको छ ।
आधार शिविर क्षेत्रको भ्रमणको लागि आन्तरिक पर्यटकहरु आउन थालेको अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा जाने पर्यटकहरुलाई लक्षित गरि होटल सञ्चालन गर्नुभएका अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका तेज गुरुले बताउनुभयो । सडक सञ्जालले आधार शिविर क्षेत्रमा पुग्ने समय घटाएपछि पदयात्रामा आउने पर्यटकहरु बढेको उहाँले जानकारी दिनुभयो ।
चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानी–पुनहिल क्षेत्रमा यो सिजनमा सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् । पर्यटकहरुका लागि अनुकूल मौसम भएको र जंगलमा ढकमक्क फुलेका लालीगुराँसले नयाँ बर्षको अवसरमा भ्रमणमा आउनेहरुको संख्या ह्वात्तै बढाएको घोरेपानीका होटल व्यवसायि रनबहादुर पुनले जानकारी दिनुभयो ।
समुद्री सतहदेखि ३ हजार २ सय १० मिटर उचाइमा रहेको पुनहिलमा पर्यटकहरुको सुविधाका लागि टि एण्ड कफि सप सञ्चालन गर्नुभएका पुनले दैनिक रुपमा ७०० जना बढी पर्यटकहरु आउने गरेको बताउनुभयो । ‘‘ विदेशी पर्यटकहरु पनि यो सिजनमा बढेका छन्, विदाको समयमा घुम्न आउने विद्यार्थीहरुको संख्या पनि अधिक देखिएको छ’’–पर्यटन व्यवसायि पुनले भन्नुभयो ।
घोरेपानी क्षेत्रमा रहेका ३० वटा र मोहरेडाँडमा रहेको सामुदायिक लज दैनिक जसो भरीभराउ हुन थालेपछि पर्यटन व्यवसायिहरु उत्साहित बनेका छन् । अन्नपूर्ण र धौलागिरि हिमशृङ्खलाका दर्जन बढी हिमालहरुलाई एकैठाउँबाट अवलोकन गर्नुका साथै सूर्योदय, घना गुराँसे जंगल र जैविक विविधतायुक्त क्षेत्रमा रमाउनका लागि यस क्षेत्रमा विदेशी र आन्तरिक पर्यटकहरु भित्रने गरेका छन् ।