ऐतिहासिक धार्मिक स्थल गायत्री मन्दिरमा उद्यान निर्माण

  • ३० चैत्र २०७९, बिहीबार
  • 465 पटक पढिएको

म्याग्दी, ३० चैत । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ तिलकिनीमा अवस्थित ऐतिहासिक धार्मिक स्थल गायत्री मन्दिरमा उद्यान निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गतको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पर्यटन तथा उद्योग कार्यालय मार्फत बिनियोजन गरेको रु १० लाख बजेटबाट उक्त उद्यान निर्माण गरिएको हो ।

मन्दिर परिसरमा अप्ठ्यारो जग्गालाई सम्माएर उद्यान बनाईएको उपभोक्ता समितिका अध्यक्ष सुरेश शाहीले जानकारी दिनुभयो । समितिले साढे २ महिनाको अवधिमा मन्दिर परिसरमा गोल घर सहित आराम गर्ने स्थल, हिड्ने पैदलमार्ग लगायतका पूर्वाधार निर्माण संगै पुरानो चौतारीको मर्मत समेत गरिएको अध्यक्ष शाहीले बताउनुभयो ।


उद्यान स्थलमा टायल राखेर चिटिक्क पारिएको छ भने विभिन्न प्रजातिका फुलहरु रोपण गरि पर्यटकहरुको आकर्षणको केन्द्र बनाउने योजना बनाइएको छ । कालिगण्डकी र रघुगंगा नदीको दोभनमा अवस्थित गायत्री मन्दिर धर्मगुरुहरुले ध्यान र तपस्या गरेर ज्ञान आर्जन गरेको पवित्र तिर्थस्थलको रुपमा परिचित छ ।

गायन्त्री मन्दिरको दर्शन गर्नाले मनोकाक्षा पुरा हुने जनविश्वास छ । धार्मीक र ऐतिहासीक महत्वका बारेमा प्रचारप्रसारको कमीले ओझेलमा परेको गायत्री मन्दिरमा उद्यानका पूर्वाधार बनेपछि धार्मिक पर्यटनको आगमन बढ्ने स्थानीयबासीको अपेक्षा रहेको छ ।

मुक्तिनाथ प्रवेशद्धारको रुपमा करिब १५ रोपनी क्षेत्रफलमा फैलीएको गायत्री मन्दिर परिसरमा मुक्तिनाथ जाने आउने तिर्थयात्री र साधु सन्तहरुको सुबिधाका लागि धर्मशाला सञ्चालन छ । रघुगंगा गाउँपालिकाले गायत्री मन्दिर क्षेत्रलाई ध्यानकेन्द्रको रुपमा विकास गर्ने योजना अघि सारेको छ ।

कालीगण्डकी र रघुगंगा नदीको दोभानमा अवस्थित गायत्री मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न उद्यान निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख पोषनाथ शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार, चालू आर्थिक वर्ष २०७९/८० मा म्याग्दीका विभिन्न पर्यटकीय स्थलहरुमा पूर्वाधार निर्माणका लागि रु एक करोड ७६ लाख बजेट विनियोजन भएको थियो । उक्त बजेट कार्यान्वयनका लागि छनौट भएका विभिन्न २० वटा योजनाहरु मध्ये ४ वटा निर्माण सम्पन्न भैसकेका छन् । ४ वटाको निर्माण सम्पन्न भएर भुक्तानीको प्रकृयामा रहेको र अन्य योजनाहरु ५० प्रतिशत भन्दा बढी काम सम्पन्न भएको कार्यालयले जनाएको छ ।