अपाङ्ग संघ म्याग्दीको अध्यक्षमा गोरी दर्जी

  • २७ चैत्र २०७९, सोमबार
  • धिरन खत्री
  • 343 पटक पढिएको

 

बेनी, २७ चैत । अपाङ्ग संघ म्याग्दीको अध्यक्षमा गोरी दर्जी सम्र्वसम्मत हुनुभएको छ। जिल्ला समन्वय समितिको सभाहलमा सोमबार भएको संघको १८ औँ साधारण सभा एवम् ११ औँ अधिवेशनबाट दर्जीको नेतृत्वमा ११ सदस्यीय समिति सर्वसम्मत गठन गरिएको हो ।संघको बरिष्ठ उपाध्यक्षमा गणेश सुवेदी, उपाध्यक्षमा जमुना पौडेल, सचिवमा सुरेन्द्र खत्री, सह–सचिवमा विशाल विक, कोषाध्यक्षमा सुनिल सिर्पाली विक रहनुभएको छ। त्यस्तै सदस्यहरुमा जयलाल खत्री, भानु विक, राजेश भण्डारी, ज्ञानेन्द्र पुन, विजुला बानियाँ रहनुभएको संघले जानकारी दिएको छ ।

साधारणसभाको अवसरमा संघको विभिन्न गतिविधिमा योगदान पुर्‍याएका संघका निवर्तमान अध्यक्ष गोपाल केसी, पत्रकार हरीकृष्ण गौतमलाई सम्मान पत्रले सम्मान गरिएको थियो भने शिक्षक सेवामा स्थानीय हुन सफल काशाीराम विक, गोपाल खत्री र सुजन बुढाथोकीलाई प्रशंसा पत्रले कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपालिका मेयर सुरत केसीमार्फत सम्मान गरिएको थियो ।

संघको १८ औँ साधारणसभा एवम् ११ औँ जिल्ला अधिवेशनमा बेनी नगरका मेयर सुरत केसीले सबै अपाङ्ग ब्यक्तिहरुलाई संघमा समेट्न नयाँ कार्यसमितिलाई आग्रह गर्नुभएको थियो । उहाँले फरक क्षमता भएका सबैलाइ समेटेर क्षमता विकास, उत्पादन र रोजगारसंग जोड्नका लागि स्थानीय सरकार, प्रदेश र संघीय सरकारलाई नीति निर्माण तथा बजेट विनियोजनमा ध्यानाकर्षण गराउन आग्रह गर्नुभयो । जिल्लाका सबै स्थानीय तहमा संघ गठन गरेर फरक क्षमतालाई सहयोग पुग्ने कार्यक्रम पालिकासंग माग गर्दै योजनाबद्ध रुपमा अघि बढ्न सुझाव दिनुभयो । उहाँले नगरले आगामी आर्थिक बर्षका कार्यक्रममा अपाङ्गगता भएका ब्यक्तिलाई सहयोग पुग्ने उत्पादनशिल क्षेत्रर्का कार्यक्रमहरु समेट्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

त्यस्तै प्रहरी नायव उपरिक्षक मदन कुँवरले जिल्लामा कुल जनसंख्याको ५ प्रतिशत फरक क्षमता भएका ब्यक्तिहरु भएकोले उनीहरुको आधारभूत समस्याहरु प्हिचान गरेर समाधानमा सम्वन्धित निकायलाई सचेत गराउन आग्रह गर्नुभयो । त्यस्तै सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले फरक क्षमता भएको ब्यक्तिहरुलाई समाजमा सम्मानपूर्वक बाच्न पाउने अधिकारलाई सुरक्षित गर्न संघको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । अपाङ्गता भएका ब्यक्तिहरुलाई सरकारी सूचना, सेवासुविधामा प्राथमिकता दिएको छ वा छैन यस विषयमा निगरानी बढाएर सम्वन्धीत निकायलाई सचेत गराउने भूमिमा संघका नवनिर्वाचित समिति अघि बढ्न सुझाव दिनुभयो ।

संघका उपाध्यक्ष गणेश सुवेदीको अध्यक्षता, सचिव सुरेन्द्र केसीको संचालन तथा प्रगति प्रतिवदेन प्रस्तुत र कोषाध्यक्ष गोरी दर्जीको स्वागत मन्तव्य रहेको कार्यक्रममा जिल्ला समन्वय समितिको कार्यालयकी शाखा अधिकृत साधनाकुमारी श्रेष्ठ, पत्रकार हरीकृष्ण गौतम, बौद्धिक अपाङ्ग संघ म्याग्दीका निर्वतमान अध्यक्ष यामबहादुर बानियाँ, अपाङ्ग संघ पर्वतका अध्यक्ष जगन्नाथ शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा फरक क्षमता ब्यक्तित्वहरुको उपस्थितमा साधारणसभा तथा अधिवेशन सम्पन्न गरिएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l