राखुका तीन विद्यालयबाट एसइईमा उत्कृष्ट नतिजा ल्याउनेलाई पुरस्कारको घोषणा

  • २७ चैत्र २०७९, सोमबार
  • 695 पटक पढिएको

म्याग्दी, २७ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ नम्बर वडामा रहेका तीन वटा माध्यमिक विद्यालयबाट एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याएर उर्तिण हुने विद्यार्थीहरुलाई पुरस्कारको घोषणा गरिएको छ । सिंगापुर पुलिसबाट सेवानिवृत रघुगंगा गाउँपालिका–३ पिप्लेको घोटडाँडा घर भई हाल काठमाण्डौ बसोबास गर्दै आउनुभएका कमल शाहीले यस बर्षको एसइईमा ए प्लस र ए ग्रेड ल्याएर उर्तिण हुनेहरुलाई नगद पुरस्कार दिने घोषणा गर्नुभएको हो ।


कक्षाा ८ सामुदायिक विद्यालयबाट उत्तिर्ण गरेर  पिप्लेमा रहेको रघुगंगा मावि, मौवाफाँटमा रहेको ज्ञानोदय मावि र भगवतीमा रहेको मुक्तिधाम माविबाट यस बर्षको एसइईमा सहभागी विद्यार्थीहरुमध्ये ए प्लस ल्याउने विद्यार्थीहरुलाई जनही रु १० हजार र ए ग्रेड ल्याउन सफल हुने विद्यार्थीहरुलाई जनही रु ५ हजार नगद पुरस्कार दिने घोषणा गर्नुभएको छ ।
यस बर्षको एसइई परिक्षामा रघुगंगा माविबाट २५ जना, मुक्तिधाम माविबाट ७१ जना र ज्ञानोदय माविबाट १९ जनाले सहभागी भएका छन् । शाहीले यस अघि रघुगंगा माविमा आफ्नो दिवंगत बुबा देवबहादुर शाहीको स्मृतिमा ५ लाख ५५ हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ भने यस क्षेत्रको सामाजिक कार्यहरुमा समेत सहयोग गर्दै आउनुभएको छ ।