बेनीबजारमा कौसीखेती गर्नेलाई तालिम र प्रविधि सहयोग
- २५ चैत्र २०७९, शनिबार
- 341 पटक पढिएको
बेनी, २५ चैत । बेनी नगरपालिका वडा नं ७ ले कुहिने फोहोरलाई कौसीखेतीमा प्रयोग गर्न वडाबासीलाई तालिम दिएको छ । पछिल्लो समय छतमा फलाउने र भान्सामा पकाउनको लागि कौसी खेतीमा आर्कषित वडाबासीलाई लक्षित गरी दुई दिनसम्म तालिम संचालन गरेको हो ।
तालिमा मेयर सुरत केसीले नगद नभई प्राविधिक र अनुदानमा उपकरण उपलब्ध गराई किसानलाई आत्मनिर्भर बनाउने बताए । उपमेयर ज्योति लामिछानेले कौसीखेतीमा महिलाको सक्रियतालाई प्रोत्साहन गर्न हरेक बर्ष अनु्दान सहितको कार्यक्रम सञ्चालन गरिने बताईन् ।
वडा अध्यक्ष एवम् नगरका प्रबक्ता रमेशकुमार श्रेष्ठले कौसी खेती गर्ने किसानलाई पचास प्रतिशत अनुदानमा कम्पोस्ट विन उपलब्ध गराइएको बताए । वडाभित्र कौसीखेती रहेकाले आवश्यक पर्ने मल प्रविधि, विरुवा, गमला, अर्गानिक विषादी वितरण लगायतका अन्य कार्यक्रमहरु समेत सञ्चालन गर्ने बताउँदै कुहिने फोहोरको घरेलु र वैज्ञानिक व्यवस्थापन गर्न कौसीखेती प्रोत्साहित गर्दै आएको जानकारी दिए ।
बेनीबजारबासीले विगतमा समेत वडाबाट वितरण गरिएको उपकरण सहितको तालिमबाट हरियो तरकारी र फलफूलबाट निस्कने फोहोरलाई जैविक मलका रूपमा पाकेको फोहोरलाई सुकेको माटोमा मिसाएर प्रयोग गर्दै आएका छन् । तालिममा १६५ जनाको सहभागिता रहेको छ ।