पूर्वाधार विकास कार्यालय म्याग्दीको विकास खर्च १८ प्रतिशत

  • १७ चैत्र २०७९, शुक्रबार
  • धिरन खत्री
  • 633 पटक पढिएको

 

म्याग्दी, १७ चैत । पूर्वाधार विकास कार्यालय म्याग्दीले चालू आर्थिक वर्षको आठ महिनामा १८ प्रतिशत बजेट कार्यान्वयन गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको अन्तिम चार महिनामा ८२ प्रतिशत बजेट खर्च गर्नुपर्ने अवस्था देखिएको छ । संघ, प्रदेशबाट सञ्चालित बहुवर्षीय लगायतका योजनामा जिल्लामा निर्माण व्यवसायीले समयमै काम गर्न नसक्दा बजेट कार्यान्वयनको अवस्था तेस्रो चौमासिकमा बढी हुने देखिएको हो ।


ढिला गरेर निर्माण व्यवसायी काममा फर्कंदा बजेट कार्यान्वयन थोरै भएको कार्यालय प्रमुख गुरुदत्त अधिकारीले बताए । सडक, पुल, झोलुंगे पुल, भवनलगायतको क्षेत्रमा रहेको ४३ करोड ३६ लाख रुपैयाँ बजेटमा आठ करोड २७ हजार ६७४ रुपैयाँ खर्च भएको कार्यालय प्रमुख अधिकारीले प्रगति विवरणमा उल्लेख गरेका छन् । प्रदेशको सडकतर्फ २५ करोड २७ लाख रुपैयाँ बजेटमध्ये दुई करोड ५९ लाख ४२ हजार (१०.२७) खर्च भएको छ ।

त्यस्तै, प्रदेशकै सडक पुल, झोलुंगे पुलमा आठ करोड पाँच लाख रुपैयाँमध्ये दुई करोड ६८ लाख सात हजार रुपैयाँ खर्च भएको छ । संघको सडकतर्फ रहेको सात करोड १० लाख रुपैयाँ बजेटमध्ये एक करोड ८२ लाख ६० हजार रुपैयाँ (२५.७२ प्रतिशत) खर्च गरेको छ । संघको झोलुंगे पुलतर्फ रहेको ७६ लाख रुपैयाँ बजेटमध्ये ६३ दाख ५८ हजार रुपैयाँ बजेट कार्यान्वयन भएको छ ।

त्यस्तै प्रदेश भवनतर्फ रहेको ६८ लाख बजेटमध्ये ३२ लाख ८६ हजार रुपैयाँ खर्च भएको छ । संघतर्फको डेढ करोड बजेट कार्यान्वयन भएको छैन । अधिकांश योजना कार्यान्वयनको चरणमा रहेकाले बजेट प्रगति थोरै देखिएको कार्यालय प्रमुख अधिकारीले बताए । “आर्थिक वर्षको सुरुआतको समयमा निरन्तरको वर्षा, त्यसलगत्तै चाडपर्व, चुनावी गतिविधि र आचारसंहिताका कारण कामलाई गतिदिन समस्या भयो,” उनले भने ।

पूर्वाधार विकास कार्यालयमार्फत् सञ्चालित ठूला विकास योजनाहरू पटकपटक थपिएर समय सकिँदा पनि निर्माण व्यवसायीले योजना सम्पन्न गर्न नसकेको अवस्था छ । समग्रमा कार्यालयको प्रगति १९.४४ प्रतिशत छ । विकास निर्माणका लागि विनियोजन गरिएको रकम खर्च हुन नसकेर सरकारी ढुकुटीमा बस्नु अर्थतन्त्रको लागि राम्रो मानिँदैन ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l